आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

दुर्गा प्रसाइले उठाएका मुद्दाहरु आम नेपाली जनताको


  • आक्रमण न्युज
  • २०८१ फागुन २१, बुधबार मा प्रकाशित १ साल अघि
  • ५६६ पाठक संख्या
  •  

    करिव एक दशकजस्तो मुलुकलाई अशान्तिको भुमरीमा हालियो । त्यसको झण्डै एक दशक मुलुकको गति नै रोकेर आमुल परिवर्तनसहितको संविधान बनाइयो । यो संविधानको निमित्त नेपालीको समय र त्यो समयमा हुनसक्ने विकास÷प्रगति मात्र खर्च भएन, यसमा प्रसस्त धनजन समेत लाग्यो, मुलुकको माटो रगतले सिञ्चित भयो । एकीकरणमा बगेको रगत, अनि कोतपर्व, भण्डारखाल पर्व जस्ता रक्तरञ्जित पर्वहरूमा भन्दा ज्यादा रगत नेपालको भूमिमा पोखियो । राष्ट्रले यत्रो मुल्य चुकाएर ल्याएको व्यवस्था र त्यसलाई संस्थागत गर्न बनाइएको संविधानको शुरुमै उल्लेख छ– ‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता’ ! अर्थात्, यो संविधानले नेपाली जनतालाई सर्वोच्च मानेको छ । तर संविधान जारी भएका वर्षहरूको सङ्ख्या दशको हाराहरी पुग्दा जनता एक पटक फेरि प्रश्न गर्न बाध्य हुँदैछन् । त्यो प्रश्न हो– के यो संविधानले संस्थागत गरेको भनिएको व्यवस्थाले नेपाली जनतालाई साँच्चै सार्वभौमसत्तासम्पन्न मानेको छ ?
    दुर्गा प्रसाईले आरम्भ गरेको आन्दोलनले एक कुरा भने स्पष्ट गरेको छ । त्यो हो चाहे लोकतान्त्रिक शासन होस् वा तानाशाही‘, दुवैले आफ्ना विरोधका स्वरहरू दमन गर्दोरहेछ । कुनैले संविधानमा नै विरोध गर्न पाइन्न भन्ने उल्लेख गरेर भने कुनैले उल्लेख नगरी नै आफ्नो विरोधको दमन गर्ने रहेछन् । अनि अधिकारकर्मीहरूका जमात, सञ्चारजगत् लगायत नागरिक अधिकारका बारेमा आवाज उठाउने जिम्मा स्वेच्छाले लिएकाहरूको आवाज पनि पात्रअनुसार चर्को या मलिन हुँदोरहेछ । सरकारको, नागरिक समाज भनिनेहरूको, देश गाउँ ब्युँझाउने भनेर दाबी गर्नेजस्ता सबैले विगतलाई लगाउने गरेको आरोप खोक्रो रहेछ भन्ने पनि दुर्गा प्रसाईंले सावित गरिदिए । अनुदार भनिएको व्यवस्था र जनता सार्वभौमसत्तासम्पन्न भएको व्यवस्था दुवैमा आफ्नो विरोधमा आएजस्तो लागेको प्रयत्नहरू दमन गर्नुपर्ने नै रहेछ । एकले उसको विरोध गरेजस्तो लागेमा गरेको दमन जायज मान्दा अर्कोले त्यसै गर्दा अत्याचार गरिएको हो भन्ने दाबी खोक्रो नै हुन्छ । दुर्गा प्रसाईंको विगत, उनी आन्दोलित हुनुपर्ने स्वार्थ आदि कुराको आलोचना होला, हुन सक्ला अनि हुनु पनि पर्दछ ।
    तर त्यसले प्रसाईंको आन्दोलनमा उठाइएका आर्थिक-समाजिक मुद्धाहरूको तौल कम हुँदैन । उनले उठाएको भनिएको राजसंस्था पुनर्स्थापनाको मुद्धामा भने उनी नै कति अडिग छन् भन्ने प्रश्न मननयोग्य छ । त्यसैले ७ गतेको आन्दोलनपछि राजसंस्था फर्काउने आफ्नो माग नभएको भन्न पुगे । त्यसको सम्भवत केही प्रतिकुल प्रभाव परेको अनुभुति भयो होला । किनभने त्यसको लगत्तै पछि आफूलाई राजा स्वयंले फोन गरेको र अब राजा फर्काउने कुरा नछोड्ने भन्न पुगे ।
    राजा र प्रसाईबीच त्यस्तो कुराकानी भयो वा भएन होला– त्यो खोज्ने वा त्यसमा चर्चा गर्ने यो आलेखको प्रयोजन हैन । तर केचाहिँ स्विकार गर्नुपर्ने हुन्छ कि प्रसाईंको आन्दोलनको यो राजनैतिक छोप र त्यसले ल्याएको तरङ्गले सङ्केत गरेको कुरा चानचुने भने होइन । अन्तरिम संविधानअन्तर्गतको व्यवस्थापिका संसद्ले संविधानसभाको पहिलो बैठकले अनुमोदन गर्नैपर्ने गरेर पारित गणतन्त्रले डेढ दशक पार गरिसकेको छ । यत्रो अवधिपछि पनि गणतन्त्रका सम्वाहकहरू कसैले राजाको कुरा गर्नेवित्तिकै त्रसित हुनुपर्ने अवस्था विद्यमान रहेछ । यो कुरा पनि प्रसाईंको आन्दोलनले स्पष्ट पारेको छ ।
    त्यो आन्दोलन गणतन्त्रको विरोधमा हो भन्ने भाष्यमा कत्तिको सत्यता छ खोज्नु आवश्यक छैन । तर त्यो आन्दोलन दबाउन जुन स्तरको सरकारी दमनचक्र चल्यो, प्रमुख प्रतिपक्षीले जुन भूमिका खेल्यो त्यसले गणतन्त्र कत्तिको संस्थागत भएछ भन्ने पोल पक्कै खोल्छ । भुषण दहाल काण्ड, ठूला भनिएका सञ्चारगृह, नागरिक समाजका अगुवा भनिनेहरूको मौनतापछिको झिनो स्वर सबैले केही सङ्केत गर्दछन् । त्यस्तै सङ्केत प्रमुख भनिएका दलका जाज्वल्यमान ठानिएका युवा नेताहरूले डेढ दशकदेखि शान्त बसेका पूर्व पारिएका राजालाई दिएको चुनौतीले पनि गरेको छ । भन्नैपर्ने हुन्छ– यी सब कुराले गणतन्त्रका हर्ताकर्ताहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । ‘यो व्यवस्था हामीले थोपरिदियौँ.. जनताले मौका पाउनेवित्तिकै बदल्ने पो हो कि’ भन्ने डर पो उनिहरूको मनमा छ कि ? तर यसले प्रसाईंले उठाएका आर्थिकसमाजिक मुद्धा ओझेलमा पर्न हुँदैन र पर्दैन पनि । किनभने यी मुद्धाहरू प्रसाईंको भन्दा आम नेपाली जनताको ज्यादा हो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट