
कोहलपुर । शिवशक्ती आधारभूत विद्यालयले सोमवार आयोजना गरेको निःशुल्क ENT (कान, नाक, घाँटी) स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेजको चिकित्सक टोली, विद्यालय परिवार, अभिभावक तथा लायन्स क्लब अफ कोहलपुर सयपत्रीको सहकार्यमा सम्पन्न शिविरमा कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा ६ विद्यार्थीमा गम्भीर प्रकृतिको कान संक्रमण भेटिएको चिकित्सकहरूले बताएका छन् । तत्काल उपचार आवश्यक पर्ने ती विद्यार्थीबारे अभिभावकलाई औपचारिक रूपमा जानकारी गराइएको छ । चिकित्सक टोलीका अनुसार यी बच्चाहरूका लागि सम्भावित शल्यक्रिया समेत आवश्यक पर्न सक्ने भएकाले निरन्तर निगरानी तथा उपचार अनिवार्य छ ।

विद्यालयले यस्तो संवेदनशील विषयमा अभिभावकहरूले सहयोग र सतर्कता अपनाउन आग्रह गरेको छ । आवश्यक स्वास्थ्य सेवा तथा परामर्शका लागि विद्यालय र लायन्स क्लब निरन्तर समन्वयमा रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
शिविर सफलतापूर्वक सम्पन्न भएपछि विद्यालय प्रशासनले सहयोग पुर्याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा केन्द्रित प्रभावकारी कार्यक्रम निरन्तरता दिने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस