काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका २०८२ मस्यौदामाथि छलफल भएको छ । मन्त्रालयमा आज नेपाल सरकारका निकाय र राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता तथा सूचना अधिकारीको सुझाव सङ्कलन गरिएको थियो । निर्देशिकामा प्रवक्ताहरूले सूचना प्रदान गर्न निर्वाह गर्नुपर्ने दायित्व, कर्तव्य र क्षेत्राधिकारको उल्लेख गरिएको थियो । उक्त छलफलमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नागरिकलाई सूचनाको हक प्रदान गर्ने दायित्वलाई सवल र प्रवल बनाउन प्रवक्ताको भूमिका अहम हुने बताउनुभयो । उक्त मस्यौदामा प्राप्त सबैको व्यावहारिक तथा सैद्धान्तिक सुझाव लिएर पूर्ण ड्राफ्ट तयार पार्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त गगन विष्टले सूचनाको हकबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार प्रवक्ता र सूचना अधिकारी उस्तै सुनिए पनि कार्यसम्पादनको हकमा केही आंशिक भिन्नता रहेको बताउनुभयो । प्रवक्ताले सम्बन्धित निकायको अवस्था, पूर्वसूचना र विषयवस्तुमा आफ्नो धारणा मौखिक वा लिखित रूपले दिनसक्ने बुझिन्छ भने सूचना अधिकारीले कार्यालयमा निर्णय भएका कुराहरूको लिखित दस्तावेजको दिनुपर्ने दायित्व बुझिने आयुक्त विष्टले बताउनुभयो । आयुक्त विष्टले नेपालमा सूचनाको दस्तावेज व्यवस्थित हुन नसक्दा सूचना प्रवाहमा प्रवक्तालाई चुनौती सामना गर्नुपरेको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका २०८२ पेस गर्नुभएको थियो । छलफलमा सहभागी संवैधानिक आयोगका प्रवक्ताहरूले भने आयोगका प्रवक्ताहरूको हकमा बेग्लै स्पष्ट धारणा आवश्यक रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस