
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुप्रतीक्षित प्रथम महाधिवेशन आज भरतपुरस्थित गेष्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ। विशेष रूपमा निर्माण गरिएको सभाहलमा आयोजित उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता तथा बालेन्द्र शाह ले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा उपस्थित विशिष्ट अतिथिहरूले पनि एकसाथ घण्टी बजाउँदै महाधिवेशनको शुभारम्भ गरेका थिए। रास्वपाको स्थापना पश्चात् पहिलो पटक आयोजना गरिएको महाधिवेशनलाई पार्टीको भावी दिशा, नेतृत्व चयन तथा संगठन सुदृढीकरणका दृष्टिले ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
महाधिवेशन उद्घाटन कार्यक्रममा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन कुमार थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुभएको थियो।
त्यसैगरी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत को समेत कार्यक्रममा सहभागिता रहेको थियो।
उद्घाटन सत्र सुरु हुने क्रममा वर्षा भए पनि महाधिवेशनस्थलमा प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। प्रतिकूल मौसमका बाबजुद हजारौं सहभागीको उपस्थितिले रास्वपाप्रति जनचासो र अपेक्षा उच्च रहेको संकेत गरेको छ।
रास्वपाको प्रथम महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन, संगठनात्मक संरचनाको पुनर्संरचना, आगामी राजनीतिक रणनीति तथा नीति–दिशा तय गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनबाट पारित हुने निर्णयहरूले पार्टीको आगामी राजनीतिक यात्रालाई थप स्पष्ट र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस