बाँके। बाँकेमा थप दुई वटा चक्ला वन निर्माण गरिएको छ । दिगो वन व्यवस्थापनको लागि सामुदायिक वन सम्वद्र्धन प्रणालीअन्तर्गत चालु आर्थिक वर्षमा दुईवटा चक्ला वन निर्माण गरिएको हो ।
राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगञ्ज क्षेत्रमा एकमात्र चक्ला वन रहेकोेमा चालु आर्थिक वर्ष ०८२÷०८३ मा थप दुई चक्ला वन निर्माण गरिएको डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जानकारी दिनुभयो । यस वर्ष राप्तीसोनारी वडा नंं ३ र ४ मा भुवर भवानी र वडा नं १ मा खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा अव चक्ला वनको सङ्ख्या तीन पुगेको छ ।
माथेवास–शमशेरगञ्ज चक्ला वन सबैभन्दा ठूलो वन हो । एकतीस सामुदायिक वनलाई समेटेर दुई हजार ५७८ हेक्टरमा फैलिएको यस वनले वैज्ञानिक र व्यावसायिक विधिको अभ्यास गर्दै आएको छ । दुई चक्ला वन भएसँगै अब ५८ सामुदायिक वनको करिब सात हजार ५०० हेक्टर क्षेत्रफलमा सामुदायिक वन सम्वद्र्धन प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन लागु गरिएको छ । यसअघि सालका पुराना रूख कुकाठमा परिणत भएका थिए । चक्ला वन व्यवस्थापनमा नयाँ रूखलाई हुर्किन उपयुक्त वातावरण तयार गरिएको छ । वनमा उमेर पुगेका रुखलाई निश्चित मापदण्डमा रही कटान गर्ने र नयाँ रुख हुर्कनका लागि वैज्ञानिक विधिमा उपयुक्त वातावरण सिर्जना गरिएको हुन्छ । आर्थिक वर्ष २०७३÷०७४ देखि सुरु भएको सम्शेरगन्ज–माथेबास चक्ला वन व्यवस्थापन कार्यक्रमबाट वार्षिक रु १० करोड ७४ लाख राजस्व सङ्कलन भइरहेको छ ।
कार्यालयले चालु आव २०८२÷०८३ बाट कार्यान्वयनमा ल्याएको ‘भूवर भवानी र खर्चेताल चक्ला वन’ बाट वार्षिक सोही हराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । वन व्यवस्थापनबाट झन्डै ३० देखि ३५ जना कर्मचारीले वर्षभरि रोजगारी पाएको र ४०० स्थानीयले प्रत्यक्ष लाभ लिन पाएका छन् । उनीहरू रुख कटान मुछान, घाटगद्धी, वनपथ निर्माण, मर्मतलगायत सम्बन्धी काममा जोडिएका छन् । बाँकेमा सरकारी संरक्षित क्षेत्रबाहेक दुई सय ४७ वन क्षेत्र छन् । तीमध्ये एक सय १९ सामुदायिक, चार धार्मिक र एक सय २४ निजी वन रहेका छन् । कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्छ ।
प्रतिक्रिया दिनुहोस