झापा। साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भुटानबाट आएका श्रद्धालुले भगवान शिवको पूजा आराधना तथा जलार्पण गरेका छन् ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार सोमबार बेलुकीसम्म झण्डै ४० हजार भक्तजनले जलार्पण, पूजा तथा दर्शन गरेका छन् । बिहानैदेखि भक्तजनको लाम लागेकाले दिनभरि धाम परिसर भक्तिमय बनेको थियो । जोशीका अनुसार यस वर्ष साउनको तेस्रो सोमबार भक्तजनको उपस्थिति अघिल्लो दुई सोमबारको तुलनामा उल्लेख्य रूपमा बढेको छ ।
धाममा आउने श्रद्धालुको सुविधाका लागि स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था, खानेपानी, सरसफाइ तथा स्वास्थ्य सहायता व्यवस्थासमेत गरिएको थियो । पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाममा साउन महिनाभर विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन् । धामका मूल गुरु अग्निप्रसाद सिग्देलका अनुसार साउनबाहेकका सामान्य दिनमा पनि दैनिक करिब पाँच हजार श्रद्धालु दर्शनका लागि आउने गरेका छन् ।
साउने सोमबार, महाशिवरात्रि र तीजजस्ता पर्वमा भने भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको स्थानीयले जानकारी दिएका छन् । यस क्षेत्रभित्र १०८ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिवलिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्ञ्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, शन्तनिवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशाला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस