
कांग्रेसलाई अब कुन पुस्ताले नेतृत्व गर्ने? पुरानो विरासतको भार बोकेर बस्ने पुस्ताले कि नयाँ समयको चुनौती बुझ्ने पुस्ताले? यस प्रश्नको उत्तरका रूपमा गगन थापाको नाम अगाडि आउँछ । गगन थापाको राजनीति सधैं सहज बाटोको राजनीति रहेन । पदमा हुँदामात्र जनताको कुरा उठाउने होइन, पदबाहिर रहँदा पनि प्रश्न उठाउने, असहमत हुनुपर्ने ठाउँमा असहमति जनाउने र जोखिम मोल्नुपर्ने ठाउँमा जोखिम मोल्ने उनको राजनीतिक शैलीले कांग्रेसभित्र नयाँ पुस्ताको आकांक्षा अभिव्यक्त गरेको छ ।
विशेष महाधिवेशनको प्रसंगलाई पद र शक्ति परिवर्तनको घटनाका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यसको गहिराइमा पुस्तान्तरणको चाहना, नेतृत्वप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक संस्कारको खोजी जोडिएको छ । यहीँबाट शेरबहादुर देउवा र गगन थापाको राजनीतिक यात्राबीचको पुस्तागत अन्तर स्पष्ट देखिन्छ । शेरबहादुर एक समय कांग्रेसका महत्वपूर्ण नेता हुन् । उनले लामो राजनीतिक यात्रा तय गरे, अनेक उतारचढाव पार गरे र पाँच पटक देशको प्रधानमन्त्री बने । नेपाली राजनीतिक इतिहासमा उनको योगदानलाई अस्वीकार गर्न सकिँदैन । तर इतिहासमा योगदान हुनु र वर्तमान पुस्ताको आकांक्षालाई संबोधन गर्न सक्नु एउटै कुरा होइन ।
समय बदलिएको छ । मतदाता फेरिएका छन् । प्रश्न गर्ने शैली बदलिएको छ । सूचना र प्रविधिले राजनीतिलाई परिवर्तन गरेको छ । त्यसैले अब देउवा युगको अन्त्य भएको छ । नेतृत्वको शैली पुरानै रह्यो भने पुस्ताबीचको दूरी झन् फराकिलो हुन्छ । यही दूरीले देउवा युगको सीमालाई उजागर गरेको हुनुपर्छ । कांग्रेसको समस्या एउटा व्यक्तिको समस्या होइन । यो लामो समयदेखि जम्दै आएको राजनीतिक संस्कार, गुटगत संरचना, निर्णय प्रक्रियाको सुस्तता र नयाँ पुस्तालाई पर्याप्त ठाउँ नदिने प्रवृत्तिको समस्या हो ।
त्यसैले कांग्रेसको पुनर्जागरण केवल नेतृत्व परिवर्तनबाट सम्भव हुँदैन, नेतृत्वको सोच, संगठनको चरित्र र राजनीतिक संस्कारसमेत बदलिनुपर्छ । गगन थापाको पक्षमा देखिएको आकर्षणको एउटा कारण यही हो । पदले होइन, व्यक्तिले पदको उचाइ निर्धारण गर्छ । राजनीतिमा एउटा पुरानो भनाइ छ—पदले मान्छेलाई ठूलो बनाउँदैन, मान्छेले पदलाई ठूलो बनाउँछ । कुनै पनि पदमा बसेर इतिहास बनाउने होइन, इतिहास बनाउने व्यक्तिले पदको अर्थ बदल्छ । गगन थापामाथि भरोशा गर्नेहरूको तर्क पनि यही हो । उनीहरू कांग्रेसलाई केवल सरकार बनाउने पार्टी होइन, आधुनिक नेपालको राजनीतिक नेतृत्व गर्ने संस्था बनाउन चाहन्छन् । आजको कांग्रेसलाई चाहिएको नेतृत्व भनेको केवल चुनाव जित्ने गणित बुझ्ने नेतृत्व होइन । युवा मनोविज्ञान बुझ्ने, डिजिटल पुस्तासँग संवाद गर्न सक्ने, आर्थिक–सामाजिक परिवर्तनका नयाँ एजेण्डा उठाउन सक्ने र पुरानो संरचनाभित्रै नयाँ राजनीतिक संस्कृति निर्माण गर्न सक्ने नेतृत्व हो ।
यो अर्थमा गगन थापा कांग्रेसका लागि एउटा पुस्तान्तरणको प्रतीक बनेका छन् । देउवाको स्वदेश फिर्तीले कांग्रेसभित्र र बाहिर स्वाभाविक रूपमा चासो बढ्यो । तर कुनै नेताको भौतिक उपस्थितिले मात्र राजनीतिक उत्साह पैदा गर्दैन । प्रश्न हुन्छ—त्यो उपस्थितिले नयाँ आशा बोकेको छ कि पुरानो शक्ति–समीकरणलाई मात्र पुनर्जीवित गर्दैछ ? यही प्रश्न देउवाको पछिल्लो राजनीतिक भूमिकामाथि पनि उठेको छ । यदि नेतृत्वले समग्र कांग्रेसको आवाज बोल्नुभन्दा आफ्नै गुटको चिन्ता बढी व्यक्त गर्छ भने त्यसले पार्टीभित्रको विभाजनलाई थप गहिरो बनाउँछ । कांग्रेस कुनै एउटा समूह, परिवार वा गुटको सम्पत्ति होइन । यो नेपालको लोकतान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको संस्था हो । त्यसैले देउवाको सबैभन्दा ठूलो चुनौती यही हो—उनले आफ्नो राजनीतिक विरासतलाई कसरी सम्झिने ?
व्यक्तिगत गुटको विरासतका रूपमा कि नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासको एउटा अध्यायका रूपमा ? समयले यसको उत्तर आफैं दिनेछ । कांग्रेसको पुरानो ‘पिलो’ अब फुट्दैछ । वर्षौंदेखि समस्या थियो—नेतृत्व परिवर्तनको चर्चा हुन्थ्यो, तर परिवर्तनको निर्णायक क्षण आउँदा पुरानै शक्ति–समीकरण बलियो भएर उभिन्थ्यो । अब त्यो संरचना कमजोर हुँदै गएको संकेत देखिन्छ । पूर्वउपसभापति पूर्णबहादुर खड्कादेखि शेखर कोइरालासम्मका नेताहरूबीचको राजनीतिक दूरीले कांग्रेसभित्र नयाँ समीकरण निर्माणको सम्भावना देखाएको छ । तर यसको अर्थ उनीहरू कांग्रेसबाट बाहिरिन्छन् भन्ने होइन । बरु सम्भावना के हो भने उनीहरू कांग्रेसभित्रै रहेर नयाँ नेतृत्व र नयाँ राजनीतिक दिशाको खोजीमा सहभागी हुनेछन् ! नेपालको सामाजिक संरचना बहुलवादी छ ।
धर्म जनताको आस्थाको विषय हो, त्यसलाई सत्ता प्राप्तिको राजनीतिक औजार बनाउने प्रयासले उल्टै राजनीतिक ध्रुवीकरण बढाउन सक्छ । सचेत युवा पुस्ताले आफ्नो भविष्य रोजगारी, शिक्षा, प्रविधि, सुशासन, सामाजिक न्याय र आधुनिक राज्य निर्माणसँग जोडेर हेर्छ । उनीहरूलाई भावनात्मक नाराभन्दा भविष्यको ठोस कार्यक्रम चाहिएको छ । नेपालको राजनीतिक इतिहासले देखाएको एउटा तथ्य के हो भने भावनात्मक मुद्दामा बनेका राजनीतिक समीकरण दीर्घकालीन संगठनात्मक एकतामा बदलिन कठिन हुन्छन् । विचार, कार्यक्रम र संस्थागत अनुशासनबिना बनेको गठबन्धनमा व्यक्तिगत महत्वाकांक्षा हावी भएपछि विभाजनको सम्भावना बढ्छ !
आजको युवा पुस्ता पुरानो शैलीको राजनीतिक भाषण सुनेर मात्र प्रभावित हुँदैन । उसले प्रश्न गर्छ, प्रमाण खोज्छ र नेतृत्वलाई सामाजिक सञ्जालदेखि सडकसम्म निरन्तर परीक्षण गर्छ । यही पुस्ताले कांग्रेसमा आफ्नो भविष्य देख्न थाल्यो भने कांग्रेसको नेतृत्व स्वाभाविक रूपमा नयाँ पुस्तातर्फ जानेछ ।कुनै पनि पार्टी अनन्तकालसम्म एउटै पुस्ताको नियन्त्रणमा रहन सक्दैन । नेतृत्व हस्तान्तरण लोकतान्त्रिक संस्थाको स्वाभाविक प्रक्रिया हो । कांग्रेसमा पनि अब पुस्तान्तरण बहसको विषय मात्र होइन, राजनीतिक आवश्यकताको विषय बनेको छ । गगन थापाका चुनौतीहरु पनि कम छैनन् । उनलाई समर्थन गर्नु र सफल नेता मान्नुबीच ठूलो अन्तर छ ।
गगनले अब भाषणले मात्र होइन, परिणामले आफूलाई प्रमाणित गर्नुपर्नेछ । कांग्रेसको सभापति हुनु एउटा उपलब्धि हो, कांग्रेसलाई पुनर्जीवित गर्नु अर्को ठूलो चुनौती । गगनले गुटभन्दा माथि उठ्नुपर्नेछ । आफूलाई समर्थन गर्नेहरू मात्र होइन, आलोचना गर्नेहरूलाई पनि साथमा लैजानुपर्नेछ । पुराना नेताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई निर्णायक भूमिका दिनुपर्नेछ । कांग्रेसलाई चुनाव जित्ने मेसिनभन्दा लोकतान्त्रिक परिवर्तनको संस्थाका रूपमा पुनःस्थापित गर्नुपर्नेछ । गगनले देउवाको विकल्प मात्र होइन, शैलीको विकल्प बन्नुपर्नेछ । यदि पुरानो नेतृत्वमा गुटवाद थियो भने नयाँ नेतृत्वमा संस्थागत लोकतन्त्र हुनुपर्छ । पुरानो राजनीतिमा ढिलाइ थियो भने नयाँ राजनीतिमा निर्णय क्षमता हुनुपर्छ । यदि पुरानो नेतृत्वमा पुस्ताबीच दूरी थियो भने नयाँ नेतृत्वमा पुस्ताबीच संवाद हुनुपर्छ ।
यदि गगन थापाको नेतृत्वमा कांग्रेसले लोकतन्त्र, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय, आधुनिकता र अवसरको नयाँ राजनीतिक अर्थ निर्माण गर्न सक्यो भने ‘जय नेपाल’ केवल पार्टीको नारा रहने छैन, नयाँ पुस्ताको राजनीतिक आकांक्षासँग जोडिनेछ तर यसको जिम्मेवारी पनि कांग्रेसकै हो । जय नेपाल नारा मात्र होइन, त्यसअनुसारको व्यवहार चाहिन्छ । शेरबहादुर देउवाको राजनीतिक युग अन्त्यतिर पुगेको दावी गर्न सकिन्छ, तर उनको योगदानलाई गाली गरेर मात्र नयाँ कांग्रेस बन्न सक्दैन । पुरानो नेतृत्वको कमजोरीबाट पाठ सिकेर, उसको सकारात्मक योगदानलाई सम्मान गरेर र नयाँ पुस्ताको ऊर्जा संस्थागत गरेर मात्र कांग्रेसले आफूलाई पुनर्निर्माण गर्न सक्छ ।
गगन थापाका अगाडि महान अवसर छ, गम्भीर चुनौती पनि छन् । उनीसँग कांग्रेस कार्यकर्ताको भरोशा छ भने त्यसलाई संगठनात्मक शक्तिमा बदल्नुपर्नेछ । युवाको आकर्षण छ भने त्यसलाई नीति र कार्यक्रममार्फत परिणाममा बदल्नुपर्नेछ । जनताको अपेक्षा छ भने त्यसलाई शासन र सुशासनको अनुभवमा बदल्नुपर्नेछ । किनभने नेता त्यो होइन, जसको पछाडि भीड हुन्छ । नेता त्यो हो, जसले भीडलाई सही दिशातर्फ हिँडाउन सक्छ । नेता त्यो होइन, जसले समयलाई आफूअनुकूल बनाउने प्रयास गर्छ । नेता त्यो हो, जसले समयको आवश्यकता बुझेर आफूलाई परिवर्तन गर्छ र परिवर्तनको बाटो अरूलाई पनि देखाउँछ ।

प्रतिक्रिया दिनुहोस