
समय सधैं एकनास रहँदैन। पछिल्ला केही साहसिक कदमहरूले प्रमाणित गरेका छन् कि यदि नेतृत्वमा नियत सफा र हिम्मत उच्च छ भने दशकौंदेखि जकडिएको लुटतन्त्रको जालो एकै झट्कामा उखेल्न सकिँदो रहेछ। अब यो बेइमानीको मुहान थुनिएको छ, जसले जनतामा नयाँ आशा जगाएको छ। प्रधानमन्त्री बालेन साह सरकारको कार्यशैलीले केवल आन्तरिक सुशासनमा मात्र होइन, वैदेशिक सम्बन्धमा पनि नयाँ मानक तय गर्दैछ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर जुन प्रकारको कूटनीतिक दौडधुप काठमाडौँमा देखिएको छ, त्यसले नेपालको बदलिँदो कदलाई संकेत गर्छ। ४० भन्दा बढी निष्क्रिय द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर मात्र विदेश भ्रमणमा निस्कने तयारीले के बुझाउँछ भने अबको नेतृत्व ‘तस्बिर खिचाउन’ वा ‘आशिर्वाद लिन’ दिल्ली जाँदैन।
अबको वार्ता स्वाभिमान, राष्ट्रिय हित र आफ्नै सर्तहरूमा हुनेछ। शक्तिको सन्तुलन अब बाह्य दबाबमा होइन, आन्तरिक शक्ति र योजनामा निर्भर हुन थालेको छ। विज्ञहरूले संकेत गरेझैं, बालेनले समातेको बाटो धेरै हदसम्म ली क्वान युको ‘सिंगापुर मोडल’ सँग मेल खान्छ। ली क्वान युले जस्तै भ्रष्टाचारमा शून्य सहनशीलता र कर्मचारीतन्त्रमा कठोर सुधारको नीति अहिलेको आवश्यकता हो। भुटानले जस्तै प्रविधिको प्रयोग (बिटक्वाइन माइनिङ) बाट राजस्व वृद्धि गर्ने र कर्मचारीको जीवनस्तर सुधारेर घुसखोरीको बाटो बन्द गर्ने अवधारणाले नेपालको कायाकल्प गर्न सक्छ। जब कानुनले ठूला व्यापारिक घराना र राजनीतिक संरक्षण पाएका बिचौलियालाई चिन्न छाड्छ, तब मात्र वास्तविक लोकतन्त्रको अनुभूति हुन्छ। बालेन सरकारले चलाएको यो डन्डाले स्पष्ट पारेको छ, कानुनभन्दा माथि अब कोही छैन र हुन पाउँदैन।
यही लहरको प्रभाव हुनुपर्छ आज अन्य दलहरूभित्र पनि आत्मसमीक्षा र शुद्धीकरणको दबाब बढेको छ। रवि लामिछानेले आफ्नै पार्टीभित्र ‘मालिक’ बन्न खोज्नेलाई दिएको चेतावनीले के देखाउँछ भने, अबको राजनीतिमा ‘विरासत’ को होइन, ‘विधिको’ शासन चल्नेछ। हामीले सधैं सुन्दै आएका थियौँ, “यो देश बन्दैन।”
तर अहिले आफ्नै आँखाले देख्दैछौँ देश त बन्दो रहेछ। मात्र चलाउने हातहरू सफा र हिम्मतवाला हुनुपर्ने रहेछ। नेताहरूको विलासी जीवनको बोझ बोक्न अभिशप्त नेपाली जनताले अब विकास र समृद्धिको श्वास फेर्न पाउनुपर्छ। बालेनको यो निर्मम तर आवश्यक कदमले नेपाललाई साँच्चिकै एउटा नयाँ युगमा प्रवेश गराएको छ। अबको यात्रा सुशासनको हो, अबको गन्तव्य समृद्धिको हो।

प्रतिक्रिया दिनुहोस