काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार इप्पानसम्बद्ध जलविद्युत् कम्पनीका तर्फबाट प्रदान गरिने सहयोगको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस