काठमाडौँ। संस्कृतिविद् प्रा डा सोमप्रसाद खतिवडाले नेपाली समाजमा प्रचलित चाडपर्व, जात्रा र सांस्कृतिक परम्पराको संरक्षणसँगै समयानुकूल रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ । साहित्य सन्ध्याको ४८९औँ नियमित मासिक शृङ्खलाअन्तर्गत आयोजित ‘नेपाली समाजमा प्रचलित चाडबाड र रूपान्तरण’ विषयक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभागका पूर्वप्रमुख डा खतिवडाले चाडपर्व नेपाली समाजका परम्परा, सम्पदा र पहिचान भएको बताउनुभयो ।
उहाँले नेपालमा विभिन्न समुदाय र स्थानअनुसार फरकफरक शैलीमा चाडपर्व मनाउने परम्परा रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार नेपालमा एक हजारभन्दा बढी चाडपर्व, जात्रा तथा पर्व मनाइन्छन् । कतिपय चाडपर्व र परम्परा समय क्रममा हराउँदै गएको उल्लेख गर्दै उहाँले सांस्कृतिक पहिचान जोगाउन पुस्तान्तरण र आवश्यक रूपान्तरणमा ध्यान दिनुपर्ने बताउनुभयो । काठमाडौँ उपत्यकाका धेरै पर्व तथा जात्रामा नेवारी संस्कृतिको प्रभाव रहेको उहाँले उल्लेख गर्नुभयो ।
थपलियाको कविताकृतिबारे परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासङ्ग्रह ‘सत्ताको मान्छे’को परिचर्चा गरिएको थियो । समालोचक प्रा डा हेमनाथ पौडेलले कृतिमाथि टिप्पणी गर्दै सङ्ग्रहमा १६४ कविता समेटिएको जानकारी दिनुभयो । उहाँले कवितामा राष्ट्रियता, मानवीयता, प्रकृति, सामाजिक विकृति, सत्ताको अहङ्कार, जनउत्तरदायित्वको कमी, सामाजिक न्याय तथा राष्ट्रिय स्वाधीनताजस्ता विषय अभिव्यक्त भएका बताउनुभयो । समालोचक उपप्राध्यापक रूपक अलङ्कारले समारोहमा वाचन गरिएका सिर्जनामा समसामयिक राजनीतिक, सामाजिक तथा प्राकृतिक विपत्तिका विषय समेटिएको बताउनुभयो ।
उहाँले हालैको भोटेकोशी बाढीबाट उत्पन्न मानवीय पीडा र त्यसले साहित्यमा पारेको प्रभाव कवितामा अभिव्यक्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा ओमप्रसाद कोइराला, राम विनय, शिवप्रसाद आचार्य, कुमार नेपाल, आभा सेतु सिंह, डा मनोज जोशीलगायतले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस