आज: २०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

अपुरो संविधान


  • आक्रमण न्युज
  • २०८३ आश्विन १०, शनिबार मा प्रकाशित ४ हफ्ता अघि
  • २२२ पाठक संख्या
  • राज्यले औपचारिक रूपमा सार्वजनिक बिदा दिएर तामझामका साथ संविधान दिवस मनाउने गर्छ । तर यो दिन पूर्ण उत्सव र दीपावलीको दिन होइन, बरु एउटा अपूर्ण र अधुरो दस्ताबेजले देशलाई कसरी गिजोलिरहेको छ भनेर आत्ममूल्याङ्कन गर्ने दिन हो ।

    संविधान भनेको देशको मूल कानुन मात्र होइन, यो सम्पूर्ण नागरिकलाई एउटै सूत्रमा बाँध्ने साझा धागो पनि हो । तर, के वर्तमान संविधानले सम्पूर्ण नेपालीको भावनालाई समेट्न सकेको छ ? के यो संविधानभित्र सबै नेपालीले आफ्नो अनुहार र आफ्नोपन देख्न पाएका छन् ।
    संविधान कस्तो हुनुपर्छ ? संविधान सबैको लागि हुनुपर्छ । संविधानको कुरा आउँदा प्रत्येक नागरिकले ‘यो मेरो हो, यसले मेरो कुरा बोल्छ र यसमा मेरो अधिकार सुरक्षित छ’ भन्ने अपनत्व महसुस गर्न सक्नुपर्छ ।संविधान कुनै एउटा कागजको निर्जीव दस्ताबेज मात्र होइन र हुनु हुँदैन पनि । यो त सम्पूर्ण नेपालीहरूको साझा सम्पत्तिका रूपमा निर्माण हुनुपर्ने विषय हो ।

    संविधान कसैको विजय पत्र होइन र कसैको पराजय पत्र पनि होइन । यो त सम्पूर्ण नेपालीहरूको साझा घरको मूलढोका जस्तो हुनुपर्छ, जहाँबाट सबैले सुरक्षित र निर्बाध रूपमा प्रवेश गर्न सकुन् । त्यस्तो संविधान, जसले हाम्रा पुर्खाको त्यागलाई देखोस्, जसले यो माटोको सुगन्धलाई बुझोस् । जसले देश र जनताको अपेक्षा तथा आकाङ्क्षालाई मुखरित गरोस् ।

    प्रत्येक नागरिकको पौरखलाई सम्मान गर्ने, हाम्रा ऐतिहासिक गौरव, हामीले मानेका परम्परा, संस्कार र संस्कृति संविधानमा झल्कियोस, यसले सबै नेपालीहरूको आस्थाको सम्मानलाई सुरक्षित गर्नुपर्छ । तर, वर्तमान संविधानले यो सर्वमान्य सिद्धान्त र भावनालाई आत्मसात् गर्न सकेन ।

    वि.सं. २०६३/०६४ सालको राजनीतिक परिवर्तन पछाडि मुलुकले सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रलाई आफ्नो मार्गचित्र बनाएर अगाडि बढ्ने जुन बाटो तय गर्‍यो, त्यही बिन्दुबाट नै असहमति सुरु भएको हो । सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रले नेपाललाई जोड्दैन । यसले नेपालीको भावना र आकाङ्क्षालाई सम्बोधन गर्दैन । प्रत्येक नेपालीले संविधानभित्र आफूलाई भेट्नुपर्छ, तर यो मार्गचित्रले संविधान त बनाउँछ, तर संविधानभित्र नेपालीले आफूलाई भेट्दैन !

    नेपाल र नेपालीलाई जोड्ने धागो भनेको त हाम्रा परम्परादेखि चल्दै आएका मूल्यमान्यता हुन् । त्यसकारण सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रको साटो संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्थाको वकालत गर्दै आउनु पर्नेमा दुर्भाग्य र विडम्बन यो संविधानले ती दूरगामी महत्त्वका विचार र विषयहरूलाई समेट्ने काम गरेन ।

    फलस्वरुप, आज मुलुक जुन परिवेश र अवस्थाबाट गुज्रिरहेको छ, नेपाल र नेपाली जसरी गिजोलिनु परेको छ, त्यसले वर्तमान संविधानको औचित्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

    कुनै पनि देशको संविधानको असली परीक्षण सामान्य अवस्थामा होइन, सङ्कटको बेलामा हुन्छ । संविधान यस्तो हुनुपर्छ, जसले सङ्कटको बेलामा देशलाई जोगाओस्, मुलुकलाई सुरक्षाको प्रत्याभूति गराओस् र अराजकताको समयमा पनि अनुशासनको एउटा आधार देखाओस् ।

    असहमतिहरूका बिचमा पनि संवादको बाटो खुला राख्ने क्षमता संविधानमा हुनुपर्छ । लोकतन्त्रमा असहमति हुन सक्छ, तर त्यो असहमतिको बिचमा पनि संवादको बाटो खोल्दिने दस्ताबेज नै संविधान हो ।

    तर, गत वर्षको भाद्र २३ र २४ का घटनाक्रम तथा राजनीतिक उतारचढावका क्रममा हामीले जे–जस्ता उच्छृङ्खलता र अराजकता देख्यौँ, त्यसले नेपालीको मनमा डर, त्रास र आशङ्का पैदा गर्‍यो । देशमा कतै भयावह परिस्थिति पो सिर्जना हुने हो कि भन्ने त्रास फैलियो । सङ्कट त मुलुकले बेहोर्दो रहेछ र त्यसको सामना गर्नुपर्दो रहेछ भन्ने कुरा ती घटनाक्रमले प्रमाणित गरिदिए ।

    तर त्यो चुनौतीपूर्ण घडीमा, त्यो सङ्कट र अराजकताको अवस्थामा यो संविधानले दिशा दिन सकेन । यसले हामीलाई अनुशासनमा बाँध्ने आधार प्रस्तुत गर्न सकेन । जुन संविधानले देश र जनतालाई केन्द्रमा राख्न सक्दैन, जुन संविधानले सङ्कटमा बाटो देखाउन सक्दैन, त्यो संविधान करिब–करिब मृततुल्य भइसकेको छ । वर्तमान संविधानका धाराहरूलाई यो संविधान निर्माण गर्नेहरू आफैँले जोगाउन र सम्मान गर्न सकेका छैनन् ।

    साझा मिलनबिन्दु र एकताको धागोको खोजी

    अहिले राजनीतिक वृत्तमा संविधान संशोधनको चर्चा परिचर्चा सुरु भएको छ । सरकारले कार्यदल नै बनाएर काम अघि बढाएको अवस्था छ । तर, संशोधन केका लागि र कसरी गर्ने ? मानिस स्वभावैले परिवर्तन रुचाउँछ, परिवर्तनको पक्षमा हुन्छ । तर परिवर्तनको नाममा हामीलाई जोड्ने हाम्रा मौलिकता, हाम्रा पुर्खाले छोडेर गएका इतिहास र धागोहरूलाई चटक्कै बिर्सेर अगाडि बढ्न सकिँदैन ।संशोधन यस्तो हुनुपर्छ जसमा सबैले आफूलाई भेट्न सकुन् ।

    सम्विधानको निष्कर्ष, मान्यता र दृष्टिकोण राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र हो । त्यसैले अब एउटा साझा मिलनबिन्दु खोज्न ढिला भइसकेको छ । त्यो साझा धागो वा आधार भनेको के हो त ? त्यो साझा धागो भनेको त्यो संविधानमा मैले मेरो पुर्खालाई भेट्नुपर्छ, मेरो पौरखलाई भेट्नुपर्छ । मैले मेरो मूल्य मान्यता, परम्परा, संस्कृति र संस्कारलाई भेट्नुपर्छ । संविधानमा खोज्दा मैले अरूलाई पनि भेट्नुपर्छ र अरूले मलाई भेट्नुपर्छ ।

    कम्तीमा ‘यति हुँदाहुँदै पनि मेरा कुराहरू यो ढङ्गले सम्बोधन भएको छ है’ भन्ने विश्वास नेपाली जनतालाई दिलाउन सक्नुपर्छ । यो विश्वास दिलाउने एकमात्र कडि २०४७ सालको सम्विधान मात्र हो भन्ने कुरा बुझेर लागु गर्नु पर्ने बेला आइ सकेको छ, सबैमा चेतना होस !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑