
कतिपयलाई लाग्नसक्छ, बालबालिकाको पढाइ र व्यवहार सुधार्ने जिम्मेवारी विद्यालयको हो । तर एउटा प्रश्न विचारणीय छ-बालबालिकालाई पढाउने जिम्मेवारी विद्यालयको भए पनि उनीहरूको भावना, व्यवहार, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण निर्माणमा परिवारको भूमिका कति महत्वपूर्ण छ ? अभिभावक र शिक्षकबीच एकअर्कालाई दोष दिने प्रवृत्तिले बालबालिकाका समस्या समाधान गर्दैन । विद्यालय र परिवार दुवैको भूमिका आवश्यक हुन्छ । बालबालिकाले विद्यालयमा सिक्ने ज्ञानलाई घरको वातावरण, पारिवारिक सम्बन्ध र दैनिक व्यवहारले पनि प्रभाव पार्छ । त्यसैले सन्तानको भविष्य निर्माणलाई विद्यालयको जिम्मेवारीमा मात्र सीमित गर्न मिल्दैन ।



हरेक अभिभावक आफ्ना सन्तान स्वस्थ, शिक्षित, जिम्मेवार र सफल बनून् भन्ने चाहन्छन् । उनीहरूले राम्रो जीवन बिताऊन्, समाजमा सम्मानपूर्वक बाँचून् र परिवारप्रति जिम्मेवार बनून् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो तर सन्तानको भविष्यबारे सोच्दा एउटा प्रश्न सोध्न आवश्यक छ, हामीले उनीहरूको रुचि बुझिरहेका छौं कि आफ्ना अपेक्षा पूरा गराउन खोजिरहेका छौं ? समय छ तर सँगै बस्ने समय छैन आज धेरै परिवारमा भौतिक सुविधा बढेका छन् । बालबालिकाले राम्रो विद्यालयमा पढ्ने, आवश्यक शैक्षिक सामग्री पाउने र डिजिटल प्रविधिको प्रयोग गर्ने अवसर पाएका छन् तर सुविधा बढ्दैमा परिवारबीचको संवाद पनि बढेको छ भन्ने छैन । एउटै घरमा बसेका सदस्यहरू आफ्नै मोबाइल र काममा व्यस्त हुँदा आपसी कुराकानीका अवसर घट्न सक्छन् ।
बालबालिकालाई महँगा उपहार र सुविधाको आवश्यकता हुनसक्छ । तर उनीहरूलाई आफ्ना कुरा सुनिदिने, समस्या बुझिदिने र कठिन समयमा साथ दिने अभिभावक चाहिन्छन् । परिवारसँग बसेर खाना खानु, दिनभरिका अनुभव सुनाउनु, घटनाबारे कुरा गर्नु र जिज्ञासाको उत्तर पाउनु बालबालिकाका लागि महŒवपूर्ण अनुभव हुन् । बालबालिकाले उपदेशबाट मात्र सिक्दैनन् । उनीहरूले अभिभावकको व्यवहार पनि हेर्छन् । घरमा एकअर्काप्रति सम्मान छ कि छैन, विवाद हुँदा कस्तो व्यवहार गरिन्छ ? गल्ती गर्ने व्यक्तिसँग कसरी बोलिन्छ र अरूको दुःखप्रति कस्तो संवेदना देखाइन्छ ? भन्ने जस्ता कुराले उनीहरूको सिकाइमा प्रभाव पार्छ । हार्वर्ड विश्वविद्यालयको सेन्टर अन द डेभलपिङ चाइल्डले बालबालिका र उनीहरूको हेरचाह गर्ने व्यक्तिबीच हुने संवेदनशील तथा दोहोरो संवादलाई बालविकासको महŒवपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ । बालबालिकाले कुनै कुरा देखाउँदा वा प्रश्न गर्दा वयस्कले ध्यान दिएर प्रतिक्रिया दिनु यस्तो संवादको उदाहरण हो । यसले भाषा, सामाजिक सीप र भावनात्मक विकासका आधार तयार गर्न सहयोग गर्छ ।
अभिभावकले दिनभरि सन्तानसँगै बस्नैपर्छ भन्ने होइन । व्यस्तताबीच केही समय छुट्याएर उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु, अनुभवलाई महŒव दिनु र आवश्यक पर्दा सहयोग गर्नु प्रभावकारी अभिभावकत्वको हिस्सा हो । माया, अनुशासन र सन्तानको आफ्नै सपना हरेक अभिभावक आफ्ना सन्तान स्वस्थ, शिक्षित, जिम्मेवार र सफल बनून् भन्ने चाहन्छन् । उनीहरूले राम्रो जीवन बिताऊन्, समाजमा सम्मानपूर्वक बाँचून् र परिवारप्रति जिम्मेवार बनून् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो तर सन्तानको भविष्यबारे सोच्दा एउटा प्रश्न सोध्न आवश्यक छ, हामीले उनीहरूको रुचि बुझिरहेका छौं कि आफ्ना अपेक्षा पूरा गराउन खोजिरहेका छौं ? कुनै बच्चा डाक्टर बन्न चाहन्छ, अर्को इन्जिनियर बन्न चाहन्छ वा कसैको रुचि कला, खेलकुद, कृषि, प्रविधि अथवा उद्यममा हुनसक्छ । अभिभावकको अनुभव र सुझाव उपयोगी हुन्छन् तर सन्तानको क्षमता, रुचि र चाहनालाई नबुझी आफ्नो अधुरो सपना उनीहरूमाथि थोपर्नु उचित हुँदैन ।
सन्तानले अभिभावकको सपना पूरा गर्नैपर्छ भन्ने छैन । उनीहरूलाई आफ्नो बाटो पहिचान गर्न र त्यसमा अघि बढ्न सहयोग गर्नु अभिभावकको महŒवपूर्ण जिम्मेवारी हो । यस क्रममा माया र अनुशासनबीच सन्तुलन आवश्यक हुन्छ । कठोरताले बालबालिकामा डर र दूरी पैदा गर्नसक्छ भने कुनै सीमा नै नराख्दा जिम्मेवारीबोध विकास गर्न कठिन हुनसक्छ । अनुशासन भनेको गाली गर्नु वा डर देखाउनुमात्र होइन । कुनै काम किन उचित छैन भन्ने बुझाउनु, गल्तीबाट सिक्ने अवसर दिनु र व्यवहार सुधार्न सहयोग गर्नु अनुशासन हो । बच्चाले असहमति जनाउँदा उसको कुरा सुन्नु कमजोरी होइन ।
उसलाई आफ्नो विचार व्यक्त गर्ने अवसर दिनु र आवश्यक सीमाबारे स्पष्ट पार्नु स्वस्थ सम्बन्धको आधार हो । अभिभावकले निर्णय गर्नुपर्ने अवस्था आउनसक्छ, तर निर्णयको कारण बुझाउने र बालबालिकाको विचारलाई सम्मान गर्ने अभ्यासले विश्वास बढाउनसक्छ । सामाजिक सञ्जाल, मोबाइल र बालमस्तिष्क आजका बालबालिकाको संसार घर र विद्यालयमा मात्र सीमित छैन । मोबाइल, इन्टरनेट, डिजिटल खेल र सामाजिक सञ्जाल उनीहरूको दैनिक जीवनका हिस्सा बनेका छन् । यी माध्यमबाट उनीहरूले नयाँ जानकारी प्राप्त गर्न, सिक्न, सिर्जना गर्न र साथीहरूसँग सम्पर्कमा रहनसक्छन् । तर प्रयोगको तरिका, सामग्री र समयले उनीहरूको दैनिक जीवनमा कस्तो प्रभाव पारिरहेको छ ? अभिभावक सचेत हुनुपर्छ । विश्व स्वास्थ्य संगठनले बालबालिका र किशोरकिशोरीमा लामो समय निष्क्रिय भएर बिताउने व्यवहारलाई सीमित गर्नुपर्ने विषय उठाएको छ । विशेषगरी मनोरञ्जनका लागि अत्यधिक स्क्रिन प्रयोग गर्दा निद्रा, शारीरिक गतिविधि र अन्य दैनिक अभ्यासमा असर पर्न सक्छ । यद्यपि स्क्रिन प्रयोगका सबै प्रभाव समान हुँदैनन् र हरेक समस्याको कारण मोबाइललाई मात्र मान्न मिल्दैन ।
युनिसेफ इन्नोसेन्टीको सन् २०२५ को ‘चाइल्डहुड इन अ डिजिटल वल्र्ड’ प्रतिवेदनले बालबालिकाको डिजिटल जीवनमा अवसरसँगै सुरक्षा र मानसिक स्वास्थ्यका चुनौतीलाई ध्यान दिनुपर्ने विषय उठाएको छ । त्यसैले डिजिटल माध्यमलाई पूर्णरूपमा खराब ठान्नु वा कुनै निगरानीबिना प्रयोग गर्न दिनु दुवै उचित दृष्टिकोण होइनन् । अभिभावकले बच्चाले के हेरिरहेको छ ? कति समय स्क्रिनमा बिताइरहेको छ र त्यसले पढाइ, निद्रा, खेलकुद तथा पारिवारिक सम्बन्धमा कस्तो प्रभाव पारेको छ ? भन्ने बुझ्नुपर्छ । अनलाइनमा अपरिचित व्यक्तिसँगको सम्पर्क, अनुपयुक्त सामग्री र व्यक्तिगत जानकारीको सुरक्षाबारे उमेरअनुसार बुझाउन आवश्यक छ ।
मोबाइल नचलाउन आदेश दिनुभन्दा उचित प्रयोगबारे संवाद गर्नु बढी उपयोगी हुन्छ । पुस्तक पढ्ने, खेलकुदमा सहभागी हुने, घरायसी काम सिक्ने, बगैँचामा समय बिताउने र परिवारसँग कुराकानी गर्ने अवसर पनि दिनुपर्छ । लामो बिदा वा विद्यालय बन्द भएका बेला घरलाई समेत सिकाइको ठाउँ बनाउन सकिन्छ । सिकाइ विद्यालयको चार भित्ताभित्र मात्र सीमित हुँदैन । बदलिँदो समयसँगै बदलिनुपर्ने अभिभावकत्व आजका बालबालिकाले सूचना र प्रविधिमार्फत् धेरै कुरा जान्ने अवसर पाएका छन् । उनीहरूले विभिन्न विषयमा प्रश्न गर्छन्, आफ्ना धारणा राख्छन् र कतिपय अवस्थामा अभिभावकसँग असहमति पनि जनाउँछन् । यसलाई अभिभावकको अधिकार घटेको रूपमा मात्र बुझ्नु हुँदैन । शिक्षा कति महँगो छ वा विद्यालय कति प्रतिष्ठित छ ? प्रश्नसँगै बच्चाले सिकेको कुरा जीवनमा कसरी प्रयोग गरिरहेको छ ? भन्ने प्रश्न महŒवपूर्ण छ । हामीले सन्तानलाई माछा खानमात्र सिकाइरहेका छौं कि माछा मार्ने सीप पनि सिकाइरहेका छौँ ? उसलाई तयार उत्तर दिइरहेका छौं कि आफैं सोच्न, प्रश्न गर्न र समस्या समाधान गर्न सिकाइरहेका छौं ? बालबालिकाको विकास एउटै कारणले निर्धारण हुँदैन । परिवार, विद्यालय, साथीभाइ, सामाजिक वातावरण र व्यक्तिगत अनुभवले त्यसमा भूमिका खेल्छन् । त्यसैले अभिभावकले सन्तानलाई राम्रो व्यवहार गर्न सिकाउँदा आफ्नै व्यवहारमा ध्यान दिनुपर्छ । अभिभावक बच्चाका पहिलो आदर्श हुन् ।
उनीहरूले घरबाटै भाषा, सम्बन्ध, सम्मान, अनुशासन र जिम्मेवारीबारे सिक्न थाल्छन् । बच्चाले राम्रो काम गर्दा प्रशंसा गर्नु र गल्ती गर्दा व्यक्तिलाई अपमान नगरी व्यवहार सुधार्न सहयोग गर्नु आवश्यक छ । ‘तिमी खराब छौ’ भन्नुभन्दा ‘तिमीले गरेको यो काम ठीक भएन’ भन्नु बढी उपयोगी हुन्छ । घर बच्चाले आफ्ना समस्या निर्धक्क सुनाउनसक्ने सुरक्षित ठाउँ बन्नुपर्छ । समस्या सुनाउँदा गाली हुन्छ वा अपमान सहनुपर्छ भन्ने डर भयो भने उसले आफ्ना कुरा लुकाउनसक्छ । त्यसैले अभिभावकले सन्तानको कुरा सुन्ने, उसको भावनालाई बुझ्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने वातावरण बनाउनुपर्छ । हरेक अभिभावक आफ्नो बच्चा खुशी, स्वस्थ र आत्मविश्वासी भएको हेर्न चाहन्छन् तर बच्चा सानो कुरामा रिसाउने, पढ्न मन नगर्ने, साथीहरूसँग घुलमिल हुन नचाहने वा एक्लै बस्ने गर्न थाल्यो भने अभिभावक चिन्तित हुन्छन् । यस्तो बेला बच्चालाई गाली गर्ने वा उसको व्यवहारलाई जिद्दी भनेर पन्छाउनेभन्दा उसको मनमा के चलिरहेको छ भनेर बुझ्ने प्रयास गर्नु आवश्यक हुन्छ । बच्चाले आफ्नो कुरा स्पष्टसँग भन्न नसक्दा रिस, रोदन वा मौनतामार्फत भावना देखाउन सक्छ ।
हरेक अभिभावक आफ्नो बच्चा खुशी, स्वस्थ र आत्मविश्वासी भएको हेर्न चाहन्छन् तर बच्चा सानो कुरामा रिसाउने, पढ्न मन नगर्ने, साथीहरूसँग घुलमिल हुन नचाहने वा एक्लै बस्ने गर्न थाल्यो भने अभिभावक चिन्तित हुन्छन् । यस्तो बेला बच्चालाई गाली गर्ने वा उसको व्यवहारलाई जिद्दी भनेर पन्छाउनेभन्दा उसको मनमा के चलिरहेको छ भनेर बुझ्ने प्रयास गर्नु आवश्यक हुन्छ । बच्चाको मन बुझ्न ठूला कुरा गर्नुपर्दैन । दैनिक व्यवहारमा केही परिवर्तन गरे पनि धेरै सहयोग पुग्न सक्छ । बच्चाको कुरा सुनौं । उसले केही भन्न खोज्दा बीचमा नरोकौं । तुरुन्तै सल्लाह दिनुभन्दा पहिले उसको कुरा बुझौं । भावनालाई स्वीकार गरौं । बच्चा दुःखी वा रिसाएको छ ‘यति सानो कुरामा किन रोएको ?’ नभनी ‘तिमीलाई दुःख लागेको रहेछ, मलाई भन’ भनेर कुरा सुरु गरौं । गाली र तुलना नगरौं । अरू बच्चासँग तुलना गर्दा उसको आत्मविश्वास घट्नसक्छ । उसको प्रयास र प्रगतिलाई महŒव दिऔं । पढाइमा सहयोग गरौं ।
बच्चाले गृहकार्य गर्न नमान्दा अल्छी ठानिहाल्नु हुँदैन । पाठ बुझ्न कठिनाइ भएको छ कि, शिक्षकसँग डराएको छ कि वा थाकेको छ कि भनेर बुझौं । सँगै समय बिताऔं । हरेक दिन केही समय मोबाइल र अन्य कामबाट टाढा रहेर बच्चासँग कुरा गरौं, खेलौं वा उसको रुचिको काम गरौं । नियम र माया दुवै दिऔं । घरमा स्पष्ट र उचित नियम बनाऔं । गल्ती गर्दा अपमान वा कडा सजाय दिनुभन्दा गल्ती सुधार्ने तरिका सिकाऔं । भावना व्यक्त गर्न सिकाऔँ । रिस उठ्दा केही समय शान्त बस्ने, गहिरो सास लिने वा आफूलाई के कुराले दुःखी बनायो भनेर बताउने अभ्यास गराऔं । बच्चालाई सधैं उपदेश होइन, कहिलेकाहिँ सुन्ने कान र बुझ्ने मन चाहिन्छ । सन्तानको भविष्यका लागि सम्पत्ति, शिक्षा र आर्थिक सुरक्षा आवश्यक छन् तर यी कुराले मात्र जिम्मेवार, संवेदनशील र आत्मविश्वासी मानिस निर्माण हुन्छ भन्ने छैन ।
बालबालिकाले परिवारबाट माया, विश्वास, सम्मान र व्यावहारिक जीवनका सीप सिक्नुपर्छ । व्यस्त जीवनमा प्रत्येक अभिभावकले सन्तानलाई समान समय दिन सक्दैनन् । कामको प्रकृति, आर्थिक अवस्था र पारिवारिक जिम्मेवारी फरक हुन्छन् । सन्तानलाई माया गरेबापत उसले भविष्यमा पैसा, सेवा वा आफूले चाहेको जीवनशैली दिनैपर्छ भन्ने अपेक्षा राख्नु उचित हुँदैन । उनीहरूलाई आफ्नो जीवन निर्माण गर्न सक्षम बनाउनु र जिम्मेवार निर्णय लिन सहयोग गर्नु अभिभावकत्वको सार हो ।
त्यसैले अभिभावकले सन्तानलाई समय दिनुपर्छ, उसको कुरा सुन्नुपर्छ, रुचि बुझ्नुपर्छ । सम्पत्ति कमाउन जीवनभर मिहिनेत गर्न सकिन्छ, तर बाल्यकालको समय फर्काउन सकिँदैन । असल सन्तान निर्माणको आधार सम्पत्ति मात्र होइन, समय, विश्वास, संस्कार र आत्मीय सम्बन्ध हुन, तेसैले आफ्ना सन्तानलाई केही समय दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस