Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १२, शनिबार | Sat, 28, Nov, 2026

ब्यक्ति र नेता समयको गति सङ्ग परिवर्तन हुने


  • आक्रमण न्युज
  • २०८३ मंसिर १२, शनिबार मा प्रकाशित ४७ मिनेट अघि
  • ४५ पाठक संख्या
  • पछिल्लो समय नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्व विवादको बाछिटा जापानमा रहेका कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमाझ समेत स्पष्ट रूपमा देखिन थालेको छ। सामाजिक सञ्जालका भित्तादेखि व्यक्तिगत संवादहरूसम्म कोही गगन थापाको पक्षमा वकालत गरिरहेका देखिन्छन् भने कोही शेरबहादुर देउवाको समर्थनमा उभिएका छन्।

    आ-आफ्नो राजनीतिक आस्था र दृष्टिकोणअनुसार कुनै नेतालाई समर्थन गर्नु लोकतान्त्रिक अभ्यासमा स्वाभाविक मानिन्छ। तर, यतिबेला गम्भीर प्रश्न उब्जिएको छ- हामी पार्टीको मूल विचार, सिद्धान्त र गौरवपूर्ण इतिहासको पक्षमा उभिएका छौँ कि केवल नेताका नाममा गुटगत राजनीतिलाई प्रवाससम्मै विस्तार गरिरहेका छौं? नेपाली कांग्रेसको इतिहास कुनै एक व्यक्तिको उदय वा अवसानको सामान्य कथा मात्र होइन। यो त मुलुकमा लोकतन्त्र स्थापनाका लागि गरिएको कठोर संघर्ष, असीम त्याग, लामो जेलजीवन र बलिदानको जीवन्त गाथा हो। वि.सं. २००३ सालमा सुरु भएको संगठनात्मक यात्रादेखि २००७ सालको प्रजातन्त्र स्थापना, २०४६ सालको ऐतिहासिक जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कांग्रेसको निर्णायक भूमिका जोडिएको छ।

    जननायक बीपी कोइरालाको कालजयी विचार, सर्वोच्च नेता गणेशमान सिंहको अदम्य संघर्ष, सन्त नेता कृष्णप्रसाद भट्टराईको निष्ठापूर्ण राजनीतिक यात्रा, गिरिजाप्रसाद कोइरालाको क्रान्तिकारी नेतृत्व, सुशील कोइरालाको संविधान निर्माणकालीन सुझबुझपूर्ण भूमिका तथा विभिन्न पुस्ताका अनगिन्ती नेता-कार्यकर्ताहरूको रगत र पसिनाले कांग्रेसको आजको इतिहास निर्माण भएको हो। तसर्थ, यो विरासत कुनै एक व्यक्ति वा सीमित समूहको निजी उपलब्धि कदापि होइन।

    त्यसैले वर्तमानको क्षणिक गुटगत विवादको चस्माबाट मात्र समग्र पार्टीको मूल्यांकन गर्नु कदापि उचित हुँदैन। आज कांग्रेसभित्र चर्किएको नेतृत्व र पुस्तान्तरणको बहसलाई पनि यही बृहत् ऐतिहासिक सन्दर्भमा राखेर बुझ्न आवश्यक छ। पार्टी निर्माणमा पुरानो पुस्ताले सँगालेको अनुभव र पुर्‍याएको योगदानको उच्च सम्मान हुनैपर्छ भने अर्कोतर्फ नयाँ पुस्ताले समयको मागअनुसार उठाएका परिवर्तन, संगठनात्मक सुधार र सहज नेतृत्व हस्तान्तरणका आवाजलाई पनि बेवास्ता गर्न मिल्दैन। अग्रजको अनुभव र युवाको परिवर्तनकारी ऊर्जाबीच सन्तुलन कायम गर्नु नै परिपक्व राजनीतिक संस्कारको पहिचान हो। नेतृत्वसम्बन्धी आन्तरिक विवादको निकास व्यक्तिगत गालीगलौज र आरोप-प्रत्यारोपबाट होइन, बरु पार्टीको विधान, विधिसम्मत लोकतान्त्रिक प्रक्रिया र प्रचलित कानुनी व्यवस्थाबाट खोजिनुपर्छ।

    विचारमा असहमति रहनु लोकतन्त्रको स्वाभाविक र सुन्दर पक्ष हो। तर, उत्पन्न असहमतिलाई विधि र पद्धतिसम्मत ढंगले व्यवस्थापन तथा समाधान गर्न नसक्नु स्वयम् संगठनकै कमजोरी हो। पछिल्ला वर्षहरूमा जापानमा नेपाली समुदायको उपस्थिति र सामाजिक गतिविधि तीव्र रूपमा बढ्दै गएको छ। यहाँ विभिन्न राजनीतिक दल र विचारधाराप्रति आस्था राख्ने नेपालीहरूको बसोबास छ। राजनीतिक आस्था फरक हुनु स्वाभाविक हो। तर, राजनीतिक मतभेदकै कारण आपसी व्यक्तिगत सम्बन्ध, सामाजिक सद्भाव र प्रवासको सामुदायिक एकता कमजोर बन्दै जानु अत्यन्त चिन्ताको विषय हो।

    प्रवासमा क्रियाशील राजनीतिक संगठनहरूको भूमिका नेपालका नेताहरूको अन्धसमर्थन वा विरोधमा मात्र सीमित हुनु हुँदैन। प्रवासमा रहेका नेपालीका हकहित र नेपालको समृद्धिका पक्षमा बुलन्द आवाज उठाउनु, नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्यमान्यता र उच्च राजनीतिक संस्कारबारे दीक्षित गर्नु, समुदायमा आपसी सद्भाव कायम राख्नु तथा आफ्नै पार्टी नेतृत्वका कमजोरीमाथि रचनात्मक प्रश्न उठाउनु पनि प्रवासी संगठनहरूको मुख्य जिम्मेवारी हो। जापानमा रहेका कांग्रेसजनले यतिबेला छातीमा हात राखेर आफैँलाई प्रश्न गर्नुपर्छ- के हामी पार्टीको विचार र इतिहास नयाँ पुस्तासम्म हस्तान्तरण गरिरहेका छौँ कि नेताको नाममा सामाजिक सञ्जालमा विभाजित भएर आफ्नो ऊर्जा खर्चिरहेका छौं? प्रवासमा संगठन बलियो हुनुको अर्थ कुनै एक गुट वा पक्षको भीड जम्मा हुनु होइन; बरु वैचारिक स्पष्टता, अनुशासन, स्वस्थ संवाद र साझा उद्देश्यमा एकताबद्ध हुनु हो। यसै सन्दर्भमा, प्रवासमा रहेर नेपाली पत्रकारिता गर्नु आफैंमा सहज कार्य होइन। सीमित स्रोतसाधन, सानो समुदाय, आपसी व्यक्तिगत सम्बन्ध र राजनीतिक निकटताका बीच रहेर तथ्यमा आधारित निष्पक्ष समाचार पस्कनु निकै चुनौतीपूर्ण काम हो। पत्रकार पनि यही समाजको एक अभिन्न सदस्य भएकाले उसका आफ्नै राजनीतिक विचार, आस्था र सामाजिक सम्बन्धहरू हुन सक्छन्। तर, समाचार लेख्ने र सम्प्रेषण गर्ने क्रममा व्यक्तिगत आस्थाभन्दा माथि उठेर सत्यतथ्य, ठोस प्रमाण र सार्वजनिक हितलाई सर्वोपरि प्राथमिकता दिनुपर्छ। पत्रकारको धर्म कुनै खास नेता वा समूहको पक्षमा जनमत निर्माण गर्नु होइन।

    एक पक्षको भनाइलाई मात्र आधार मानेर समाचार बनाउनु, अर्को पक्षको प्रतिक्रिया नसमेट्नु वा व्यक्तिगत सम्बन्धका कारण समाचारको भाषा र मर्मलाई तोडमोड गर्नु पत्रकारिताको विश्वसनीयताका लागि आत्मघाती कदम हो। व्यक्तिगत रूपमा राजनीतिक आस्था राख्नु र व्यावसायिक पत्रकारिता गर्नु आफैँमा विरोधाभासपूर्ण विषय होइन। तर, व्यक्तिगत विचार र समाचारको तथ्यबीच स्पष्ट लक्ष्मणरेखा कोरिनुपर्छ। विचारप्रधान लेख वा टिप्पणीमा लेखकले आफ्नो दृष्टिकोण प्रस्तुत गर्न सक्छ, तर समाचारमा भने प्रमाणित तथ्य, सरोकारवाला पक्षको सन्तुलित प्रतिक्रिया र पाठकले स्वयम् सत्य के हो भनी निष्कर्ष निकाल्न सक्ने वस्तुगत आधार प्रस्तुत गरिनुपर्छ। जापानबाट नेपाली पत्रकारिता गरिरहेका हामी सञ्चारकर्मीहरूले अझ बढी गम्भीरता र जिम्मेवारीबोध गर्नु आवश्यक छ।

    यहाँबाट प्रकाशित हुने एउटा समाचारले जापानमा रहेका नेपाली समुदायलाई मात्र होइन, स्वदेशमा रहेका तिनका परिवार, राजनीतिक नेतृत्व र सम्बन्धित संघसंस्थालाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यसैले अरूभन्दा छिटो समाचार दिने अस्वस्थ प्रतिस्पर्धाभन्दा सही, सन्तुलित र विश्वसनीय समाचार पस्किने प्रतिबद्धता नै पत्रकारिताको वास्तविक धर्म हो। नेपाली कांग्रेसको वर्तमान आन्तरिक विवाद प्रवासमा रहेका कांग्रेसजनका लागि पनि गहिरो आत्मसमीक्षा गर्ने उपयुक्त अवसर हो। आन्तरिक लोकतन्त्रको सुदृढीकरण, विधानको अक्षरशः पालना, सहज नेतृत्व हस्तान्तरण र संगठनात्मक एकताका विषयमा प्रवासका संगठनहरूले पनि आफ्नो स्पष्ट भूमिका पहिचान गर्न जरुरी छ। विचारमा असहमति राख्नेहरूलाई शत्रुको व्यवहार गर्ने होइन, बरु फरक विचारलाई सम्मान गर्ने उच्च संस्कारको विकास गर्नुपर्छ। नेतृत्वले आलोचना सुन्ने धैर्यता राख्नुपर्छ भने कार्यकर्ताले पनि निर्भय भएर आफ्नो स्पष्ट विचार राख्न पाउने वातावरण बन्नुपर्छ।

    अन्ततः, कांग्रेसभित्रको आजको बहस कुनै एक नेताको पक्ष वा अर्को नेताको विपक्षमा उभिने साँघुरो घेरामा मात्र सीमित हुनु हुँदैन। पार्टीले आफ्नो गौरवशाली इतिहासबाट के पाठ सिक्छ, लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवहारमा कसरी उतार्छ र आम जनताको गुमेको विश्वास कसरी पुनः आर्जन गर्छ भन्ने प्रश्नहरू नै आजका मुख्य विषय हुन्। प्रवासको भूमिमा बसेर नेताको नाममा विभाजित हुनुभन्दा पार्टीको विचार, इतिहास र लोकतान्त्रिक संस्कारमाथि सार्थक बहस गरौँ। राजनीतिक आस्था राख्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो, तर पत्रकारिताको गरिमा र विश्वसनीयता भने सधैँ तथ्य र निष्पक्षतामा नै निर्भर रहन्छ। व्यक्ति र नेता समयको गतिसँगै परिवर्तन हुन्छन्, नेतृत्व पनि फेरिँदै जान्छ; तर पार्टीको मूल विचार, इतिहास र लोकतान्त्रिक मूल्यमान्यता नै यसको वास्तविक र स्थायी पहिचान हुन !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑