Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १३, आईतबार | Sun, 29, Nov, 2026

नेपाल भारत सम्बन्धमा महत्वपुर्ण उपलब्धि


  • आक्रमण न्युज
  • २०८३ मंसिर १३, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ६ पाठक संख्या
  • नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नोभेम्बर २२–२३ मा सम्पन्न भारतको दुई दिने राजकीय भ्रमणलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ सम्भावना देखाएको छ । केही महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् भने नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका केही महत्त्वपूर्ण विषयमा अपेक्षाकृत कमजोर प्रस्तुति देखिएको छ ।

    भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री बालेनका स्वर्गीय पीता डा. रामनारायण शाहको तस्बिर तथा उहाँका सहपाठीहरूसँग सम्बन्धित पुरानो तस्बिर उपहार स्वरूप प्रदान गर्नु विशेष चर्चाको विषय बन्यो । यो केवल औपचारिक उपहार थिएन, बरु व्यक्तिगत सम्बन्ध, पारिवारिक स्मृति र कूटनीतिक आत्मीयताको सुन्दर उदाहरण थियो । कुनै देशको प्रधानमन्त्रीले अर्को देशका प्रधानमन्त्रीको पारिवारिक इतिहास र भावनालाई सम्मान गर्नु सकारात्मक कूटनीतिक व्यवहार हो । यसका लागि भारतीय प्रधानमन्त्री मोदी प्रशंसाका पात्र छन् । तर प्रधानमन्त्रीको विदेश भ्रमणको मूल्याङ्कन व्यक्तिगत सम्मान र आत्मीयताबाट मात्र गर्न मिल्दैन ।

    उनले आफ्नो देशका लागि के उपलब्धि हासिल गरे र राष्ट्रिय हितका कस्ता विषयमा स्पष्ट अडान राखे भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ । बालेनको भारत भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष दुई देशबिचको उच्चस्तरीय सम्बन्धलाई थप सक्रिय बनाउनु हो । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटघाट, महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता र उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको छलफल भ्रमणका महत्त्वपूर्ण कार्यक्रम थिए । यस भ्रमणका क्रममा आठवटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ती समझदारी आयुर्वेद, स्वास्थ्य, औषधि, पशुपालन, मत्स्य विकास, फोरेन्सिक विज्ञान, प्रहरी तालिम, स्याटेलाइट सञ्चार र दिगो सहरी विकासलगायत क्षेत्रमा केन्द्रित छन् ।

    यी सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नेपालले प्रविधि, स्वास्थ्य, प्रशासन र अनुसन्धानका क्षेत्रमा लाभ लिन सक्छ ।त्यसैगरी, दार्चुला–धार्चुला मोटरेबल पुल, जनकपुर–अयोध्या रेल सेवा र मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन हुनु महत्त्वपूर्ण उपलब्धि हो । तल्लो अरुण जलविद्युत् आयोजना, बनबासा–चाँदनी–दोधारा एकीकृत जाँच चौकी र झापास्थित पेट्रोलियम टर्मिनलको शिलान्यासले पूर्वाधार विकास र आर्थिक सहकार्यमा थप सम्भावना देखाएको छ । अर्को महत्त्वपूर्ण उपलब्धि भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति हो । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्न सक्छ । यद्यपि यसको वास्तविक लाभ कार्यान्वयनपछि मात्र मापन गर्न सकिन्छ । भारतले नेपाललाई २४ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

    यसमध्ये ५६ अर्ब नेपाली रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका लागि सहुलियतपूर्ण ऋण रहनेछ । यो ठुलो प्रतिबद्धता हो । तर ऋण र अनुदानका परियोजना, सर्त तथा कार्यान्वयन प्रक्रिया स्पष्ट हुन आवश्यक छ । घोषणालाई प्राप्त भइसकेको रकमका रूपमा बुझ्नु हुँदैन । बालेनले संयुक्त पत्रकार सम्मेलनमा नेपाली भाषामा आफ्नो धारणा राख्नु पनि प्रशंसनीय पक्ष हो । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नै भाषामा राष्ट्रको प्रतिनिधित्व गर्नु राष्ट्रिय पहिचान र आत्मविश्वासको विषय हो ! भ्रमणका उपलब्धिहरू सकारात्मक हुँदाहुँदै पनि केही महत्त्वपूर्ण विषयमा प्रधानमन्त्री बालेनले अपेक्षित राजनीतिक परिपक्वता र कूटनीतिक दृढता देखाउन नसकेको टिप्पणी गर्न सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण विषय नेपालको सीमा विवाद हो । कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताजस्ता भूभाग नेपालको सार्वभौमिकतासँग जोडिएका छन् । बालेनले विगतमा लिपुलेक नेपालको भूमि भएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

    तर भारत भ्रमणका क्रममा यस विषयमा नयाँ राजनीतिक सहमति वा समाधानको ठोस पहल हुन सकेन । संयुक्त वक्तव्यमा परराष्ट्र सचिवहरूलाई सीमा विवादमा काम गर्न निर्देशन दिने पुरानै प्रतिबद्धता दोहोरिएको छ । प्रधानमन्त्री तहबाट राजनीतिक पहल हुन नसक्नु भ्रमणको कमजोर पक्ष हो । संयुक्त दृष्टिपत्रमा पुराना सन्धि तथा सम्झौता आपसी सहमतिमा पुनरावलोकन गर्न सकिने उल्लेख भए पनि भएन प्रतिवेदनलाई स्वीकार गर्ने र कार्यान्वयनमा लैजाने विषयमा ठोस प्रगति देखिएन । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना हो । महाकाली सन्धिपछि तीन दशक बितिसक्दा पनि यो परियोजना कार्यान्वयनमा जान सकेको छैन ।

    यस भ्रमणमा विस्तृत परियोजना प्रतिवेदन छिटो टुङ्ग्याउन निर्देशन दिइनु सकारात्मक हो । तर पानीको बाँडफाँट, लगानी, विद्युत् उत्पादन र लाभको न्यायोचित वितरणमा ठोस सहमति हुन सकेको छैन । यसलाई अझ उच्च राजनीतिक प्राथमिकता दिन आवश्यक थियो । व्यापार र पारवहन हो । नेपालले धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोगको प्रस्ताव गरेकोमा भारतले काण्डला र पारादीप बन्दरगाहको पहुँच दिने प्रस्ताव गरेको छ । यो पनि उपलब्धि हो, तर नेपाली व्यापारीले सस्तो ढुवानी, नियमित रेल सेवा र सरल भन्सार प्रक्रिया पाउने सुनिश्चितता आवश्यक छ । त्यस्तै, नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने र व्यापार घाटा घटाउने विषयमा थप ठोस प्रतिबद्धता आवश्यक थियो । भारतको अग्निपथ योजनापछि नेपाली युवाको भारतीय सेनामा भर्तीको विषय अन्योलमा छ ।

    यसले हजारौँ नेपाली युवाको भविष्य र दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई असर गरेको छ । यस विषयमा पनि स्पष्ट समाधान खोज्ने प्रयास सार्वजनिक रूपमा देखिएन । नेपालले भारतसँग थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गको माग गर्दै आएको छ । भैरहवा–लखनउ मार्ग दुईतर्फी बनाउने सहमति स्वागतयोग्य भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायतका लागि थप हवाई मार्गको विषयमा अपेक्षित प्रगति देखिएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑