
पौष २०, २०८१
चितवन । भरतपुर–७ स्थित प्रेमबस्ती दुध सहकारी संस्थाको कार्यालय, चिस्यान केन्द्र भौतिक पूर्वाधार तथा नमूना गाई फर्मको हालै नेपाल सरकारका पूर्व संघीय कृषी मन्त्री तथा ने.क.पा. (एकीकृत समाजवादी) का केन्द्रीय सचिव हरिप्रसाद पराजुलीले अवलोकन गर्नुभयो। उहाँले संस्थाले स्थापना गरेको व्यवस्थित दुग्ध व्यवस्थापन प्रणाली र समृद्ध गुरुयोजनाको प्रशंसा गर्दै यस संस्थाले कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो।
नमूना फर्म: नेपालको गर्व
पराजुलीले प्रेमबस्ती दुध सहकारीलाई नेपालको नमूना फार्मका रूपमा घोषणा गर्दै यसले आधुनिक कृषि प्रणालीमा नवप्रवर्तन भित्र्याउन सफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रेमबस्तीको नमूना फर्मले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन ठुलो योगदान पुर्याएको छ। यो फार्म सबै किसानका लागि प्रेरणा हो। देशभरका किसानहरूले यहाँबाट धेरै सिक्न सक्छन्।”
उहाँले किसान र व्यवसायिक कृषकलाई एकपटक यस फार्मको अवलोकन गर्न आग्रह गर्दै, दुग्ध उत्पादन व्यवसायमा प्रगति गर्न यसको अनुभव र ज्ञानको उपयोग गर्न अनुरोध गर्नुभयो।
अन्तर्राष्ट्रिय स्तरको सहकारी बनाउने प्रतिबद्धता
सो अवसरमा पराजुलीले आफू चितवनको निवासी भएको नाताले व्यक्तिगत रूपमा मात्र नभई आफ्नो पार्टीको वडास्तरदेखि केन्द्रीय समितिसम्मबाट सहकारीलाई आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “प्रेमबस्ती दुध सहकारीले चितवनको मात्र नभई, देशकै गौरव बढाएको छ। यसको सुदृढीकरणका लागि म सधैं सहकार्य गर्न तयार छु।”
संस्थाका अध्यक्ष आनन्द न्यूरेले पूर्व मन्त्री पराजुलीलाई धन्यवाद व्यक्त गर्दै सहकारीले दुग्ध उत्पादन क्षेत्रको विकासका लागि तयार गरेको गुरुयोजना सफल उन्मुख रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य केवल व्यवसायिक लाभ होइन, तर किसानहरूको जीवनस्तर सुधार र दुग्ध उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउनु हो। हामी यो अभियानलाई अझ व्यापक बनाउन कटिबद्ध छौं।”
सम्पूर्ण किसानका लागि प्रेरणादायी उदाहरण
प्रेमबस्ती दुध सहकारी संस्थाले सञ्चालन गरेको नमूना गाई फर्म र चिस्यान केन्द्रले दुग्ध उत्पादन, प्रशोधन र वितरणमा आधुनिकता र व्यवस्थित प्रणालीको उदाहरण प्रस्तुत गरेको छ। संस्थाको गुरुयोजनाले चितवन मात्र नभई समग्र देशकै दुग्ध व्यवसायमा नयापन र दिगोपनाको आधार प्रस्तुत गरेको छ।
संस्थाले अवलम्बन गरेको योजनाबद्ध कार्य प्रणाली, गुणस्तरीय सेवा, र किसानलाई प्रदान गरिएको प्राविधिक सहयोगले प्रत्यक्ष रूपमा देशका किसानहरूको आय वृद्धि र जीवनस्तर सुधारमा टेवा पुर्याएको छ।
पूर्व कृषी मन्त्री पराजुलीको अवलोकन र प्रशंसा प्रेमबस्ती दुध सहकारी संस्थाको महत्वलाई थप उजागर गर्न सफल भएको छ। यो सहकारीले दुग्ध उत्पादनमा नयाँ आयाम थप्दै नेपालको कृषि क्षेत्रलाई विश्वव्यापी स्तरमा चिनाउने सम्भावनालाई बलियो बनाएको छ। अध्यक्ष न्यूरेको नेतृत्वमा यो सहकारी देशभरका किसानहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
यसले कृषि क्षेत्रमा आत्मनिर्भरता, नवप्रवर्तन, र आर्थिक प्रगतिका नयाँ अध्याय खोल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस