आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

अब हामीसँग आफ्नो घर पनि छैन


  • आक्रमण न्युज
  • २०८१ पौष २८, आईतबार मा प्रकाशित १ साल अघि
  • ३९४ पाठक संख्या
  • पौष २८, २०८१ / प्रभातराज पाण्डे

    आज पनि, सखारै, उस्तै गरी
    मानिसहरू सल्बलाए
    निद्रामै अनुभूत एउटा कोलाहलले ।
    आँखा टकटक्याए
    परेला तन्काए
    आँखा चिम्म गरे
    फेरि आँखा खोले
    केही फरक परेन
    उस्तै चकमन्न अन्धकार थियो ।
    मानिसहरू अत्तालिए
    भित्ता छामे
    ढोका खोले
    बाहिर पनि निस्पट्ट अन्धकार थियो
    आकाशमा न ताराहरू थिए न जुन थियो
    उस्तै चकमन्न अन्धकार थियो ।
    सपना हो कि ?
    मानिसहरूलाई लाग्यो
    अथवा ऐठन परेको हो ?
    आफैलाई चिमोटे र
    आँखा तरे
    आकाशमा न कुनै नक्षत्र थियो न त सूर्य नै
    थियो त उही चकमन्न अन्धकार मात्र ।
    मानिसहरू भयभित बने
    बाटो बिराएका, भयानक जंगलमा ।
    छिमेकमा
    सिंहको शिकारमा हिंडेका शिकारीहरु
    चोक्टा लुछ्दै थिए
    उत्सवमा
    सुनका बन्दुक बोकेर ‘क्याम्प फायर’ गर्दै थिए
    स्यालहरु जयघोष गाउँदै
    रयाल काढ्दै बसेका ।
    आकाशवाणी भइछाड्यो
    ” मानिसहरू हो, आउ
    लैजाउ मसँग एउटा ‘ दिया सलाई ‘ छ
    मसँग अलिकति पेट्रोल पनि छ
    आफ्नो घरमा आगो लगाउ र
    बस्तिलाई उज्यालो पार
    तिमीले अध्यारोबाट मुक्ति पाउने छौ
    संसारको रित यस्तै छ । ”
    मानिसहरू उज्यालोको खोजीमा
    शिकारीहरु भएतिर लागे
    ‘ दिया सलाई ‘ र पेट्रोल ल्याए
    एक मुठी च्युरा र एक मुठी भटमास पनि
    र झोसे बस्तिमा आगो
    देखे जताततै चकाचौंध उज्यालो
    मानिसहरू कुत्किए, उफ्रिए र रमाए ।
    बुकु लागेको एउटा बालकले
    भटमास च्युरा चपाउँदै
    आगोको उज्यालोमा रमाइरहेकी
    आफ्नी आमालाई कानमा सोध्यो
    ” आमा अब हामी कहाँ बस्ने ? ”
    आमा झस्किइन र खसमसँग साउती गरिन
    खसमले साथीसँग र साथीले भाइसँग ।
    बिस्तारै बस्ति खरानीको थुप्रो बन्यो
    मानिसहरू अझै डरलाग्दो अध्यारोमा भासिए
    भिडबाट एउटा आवाज आयो
    समवेत श्वरमा
    ” ओतलाग्न अब हामीसँग आफ्नो घर पनि छैन ।”

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑