आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

चितवनमा तीन प्रदर्शनी एकसाथ: उद्योग, कला र स्वदेशी उत्पादनको उत्सव


  • आक्रमण न्युज
  • २०८१ चैत्र ७, बिहिबार मा प्रकाशित १ साल अघि
  • २०९ पाठक संख्या
  • चितवन । चितवन उद्योग संघले एकै पटक तीनवटा प्रदर्शनी आयोजना गर्ने भएको छ। नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को अवसरमा संघले औद्योगिक प्रदर्शनीसँगै प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी र स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला गर्न लागेको हो।

    चितवन उद्योग संघले यही चैत्र १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने जनाएको छ। सो प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया), निर्माण उद्योगका मेशिनरी तथा प्रविधि तथा निर्माण सामग्रीहरू समावेश गरिने छन्।

    संघको प्रदर्शनी तथा व्यापार प्रवर्द्धन समितिका संयोजक दिनुप कुमार बरालका अनुसार प्रदर्शनीले लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधिको जानकारी दिई औद्योगिक उत्पादकत्व वृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहने र ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ।

    प्रदर्शनीकै क्रममा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको प्रवर्द्धन सहयोगमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०८१ आयोजना गरिनेछ। सो प्रतियोगितामा बागमती प्रदेशका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरूको प्रत्यक्ष चित्रण गरिनेछ।

    त्यसैगरी चैत्र १४ गतेदेखि वैशाख ९ गतेसम्म नयाँ वर्षको अवसर पारेर स्वदेशी जुत्ता चप्पल प्रवर्द्धन तथा व्यापार मेला सञ्चालन गरिनेछ। मेलामा १५ भन्दा बढी ब्रान्डका १,५०० मोडलका स्वदेशी जुत्ता चप्पल राखिने र १५ हजार जोरभन्दा बढी बिक्री हुने अनुमान गरिएको छ। रु १ करोड ५० लाख बराबरको कारोबार हुने र १ लाखभन्दा बढी दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ।

    संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले निर्यातमुखी उद्योगलाई प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गरिन लागेको बताउँदै, यसले औद्योगिक क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट