आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

एमालेमा कोत पर्व


  • आक्रमण न्युज
  • २०८२ श्रावण १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • २५८ पाठक संख्या
  • एमाले (एकीकृत माक्र्सवादी लेलिनवादी) रूपमा जस्तो देखिए पनि सारमा ओमाले अर्थात् ओली माले भैसकेको हो । केही समययता एमालेका नाममा जे जस्ता दृश्यहरू मञ्चन भएका छन्, ती त केही बिचरा साक्षी मात्र हुन् । समयक्रममा अरू पनि थुप्रै कुरा उजागर हुँदैजाँदा भ्रममा बाँचेका बाँकीहरू पनि छ्याङ्ग हुनेछन् । समान्यतः कम्युनिष्ट पार्टीहरूको चरित्र नै यस्तै हो । जतिसुकै नीतिप्रधान भनिए पनि व्यवहारतः नेताप्रधान नै हुन्छन् । कुनै अमुक नेताले उसको नेतृत्व स्थापित गर्न नै नीति बनाएको हुन्छ । जे जस्तो भाष्य दिइए पनि चुरो कुरो व्यक्तिलाई नेता बनाउने कुरामै गएर जोडिन्छ ।
    एमालेको कुरा गर्दा पनि त्यही हो । ओलीले पनि एमाले ओमाले नबनुन्जेल विधानको कुरा गरेकै हुन्, जनवादी केन्द्रीयताको कुरा उचालेकै हुन्, आन्तरिक लोकतन्त्रको दुहाई दिएकै हुन्, दुई कार्यकालको कुरा गरेर नेतृत्व हस्तान्तरणको रट लगाएकै हुन्, ७० वर्षे उमेर सीमा लगाएर युवा नेतृत्वको चकलेट पनि देखाएकै हुन् । तर, ती सबै ओलीले आफ्नो नेतृत्व स्थापित गर्न मात्र गरेका थिए । समयक्रममा ती सबै मामाको घोडाका लागि कोटेसन पार्न बनाइएका योग्यता जस्तै देखिए ।
    अब त एमाले नै ओमाले बनिसक्यो । ओलीले आफूलाई नेता बनाइराख्न पनि ती सबै जोगाएर हुँदैन, भत्काउनु पर्छ । अहिले उनी विशिष्ट परिस्थिति भनेर आफ्नो नेतृत्व कायम राख्न ती सबै भत्काइरहेका छन् । यस क्रममा उनले भनी नै सके, ‘अबको २५ वर्ष एमाले अध्यक्ष मैं हुँ । अर्को नेतृत्व आवश्यक छैन ।‘ यसको अर्थ सिधा छ, ओली बाँचुञ्जेल एमालेमा नेतृत्व हस्तान्तरण सम्भव छैन । एमाले शीर्ष नेतृत्वको पछिल्लो चयन प्रकिया हेर्यो भने उनले भनेको बढी पनि हैन । अहिलेको केन्द्रीय नेतृत्वमा जो जो जे जे पदमा छन्, ती सबै ओलीले चितवनमा टीका लगाइदिएर ‘तँ यो होस्’ भनेर स्थापना गरेका थपना मात्रै हुन् ।
    यो सत्यको अतिरिक्त पनि ओमालेभित्र ओलीपछिको लिगिलगे प्रतिस्पर्धा त कायमै छ । विभिन्न गुट–उपगुट छन् । तिनीहरूबीच तल्लो निकायसम्मै हानथाप र प्रतिस्पर्धा छ । यो हानथापको शीर्षमा छ, एमालेमा ‘ओलीपछि को ?’ भन्ने प्रश्न । त्यही क्रममा उभ्याइएकी वा उभिएकी पात्र हुन्, विद्यादेवी भण्डारी । यथार्थमा विद्या ओलीकै सारथि हुन् । आज ओली जहाँ छन्, उनलाई त्यहाँ उकाल्न विद्याको अहम् योगदान छ । विद्या मदन भण्डारीकी विधवा हुन्न थिइन् र जबजसहित ओलीको सारथि बन्न तयार हुन्थिनन् भने ओलीको खुइते राजनीति उहिलै सकिएको हुन्थ्यो । सम्भवतः एमालेबाटै निकालिएर असान्दर्भिक भैसकेका हुन्थे ।
    तर, अहिले परिस्थिति ठीक उल्टो छ । पार्टीबाट निकालिने अवस्थाका ओलीले उल्टै अग्रज नेतृत्व निकालेर ढलिमली गरिरहेका छन् । अब त निस्कासनको भन्दा पनि एमाले पार्टी नै ओमाले अर्थात् ओली माले पार्टी भैसक्यो । यतिबेला यो पार्टीमा मात्र ओलीको डंका बजेको छ, बाँकी कसैको दैया चल्ने अवस्था छैन । त्यसैको पछिल्लो सजीव दृश्य हो, विद्या भण्डारीले नवीकरण गरेको सदस्यता नम्बर ६४१ खारेज । ओमाले केन्द्रीय कमिटीको निर्णय हेर्ने हो भने त सदस्यता खारेज मात्र हैन, अब विद्याका लागि एमाले पस्ने बाटो नै बन्द छ । ओमालेको भाषामा, राष्ट्रपति भैसकेको मान्छे पार्टी राजनीतिमा फर्कनु हुन्न । यसो भनेर उसले विद्याका लागि एमालेसहित सबै पार्टीको पनि ढोकै बन्द गर्न चाहेको देखिन्छ ।
    ओमालेले यो सबै गणतन्त्र रक्षाको लागि वा राष्ट्रपतिको सम्मान र गरिमाको लागि भनेर भाष्य बनाउन खोजेको छ । ओमालेलाई राष्ट्रपतिको गरिमाको चिन्ता– सुन्दा मात्र पनि अनौठो लाग्छ । यही ओमाले र ओली हैनन्, विद्या राष्ट्रपति हुँदा शीतल निबासलाई ओली कार्यालय बनाउने? यी तिनै राष्ट्रपति विद्या भण्डारी हैनन्, रातको १२ बजेपछि पनि कार्यालय खोलेर ओलीको संसद विघटनको आदेश जारी गर्ने ? त्यो पनि एकपटक हैन, दुई–दुईपटक ।
    राष्ट्रपतिको पदमा हुँदा एमालेको पक्षमा असंवैधानिक आदेश गर्न लगाएर मानमर्दन गर्ने, अनि अहिले आएर राष्ट्रपतिको गरिमा मण्डन गर्ने ? यो जति द्वैधचरित्र र पाखण्डपन के हुन सक्छ र ?
    हुन पनि हो, गणतन्त्र नेपालमा राष्ट्रपतिको जुन गरिमामय स्थान र भूमिकाको परिकल्पना गरिएको छ, सुरूदेखि नै त्यस्तो हुन सकेको छैन । पहिलोपटक नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामवरण यादव राष्ट्रपति चुनिए । उनी नेपालका सुपरिचित गणतन्त्रवादी नेता राजारामप्रसाद सिंहलाई पराजित गरेर राष्ट्रपति भएका थिए । पार्टी बाहिरका शीर्ष गणतन्त्रवादी नेता हारेर कांग्रेस पार्टीका केन्द्रीय सदस्यले राष्ट्रपति जितेकै दिन नै नेपालमा गणतन्त्र हारेको थियो ।
    रामवरण एक हुल कांग्रेसी कार्यकर्ता लिएर शीतल निवास छिरे । उनी आफ्नो कार्यकालभरि कम राष्ट्रपति र बढी कांग्रेस केन्द्रीय सदस्य रहे । उनका हरेक निर्णय कांग्रेसका पक्षमा थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डविरूद्ध कटुवालकाण्ड घटाउने यिनै रामवरण थिए । उनका अरू निर्णय पनि त्यस्तै थिए । त्यसपछि राष्ट्रपति भइन्, तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी । एक हुल एमाले कार्यकर्ता लिएर शीतल निवास छिरेकी उनी कम राष्ट्रपति र बढी ओली गुटकै एमाले उपाध्यक्षको भूमिका थिइन् । एमाले अध्यक्ष ओलीको आदेशमा दुई दुईपटक असंवैधानिक किसिमले संससद विघटन गरिदिइन् । तत्कालीन नेकपा मिलाउने र एमाले जोगाउने नाममा राष्ट्रपति कार्यालय ओली गुटको देउसी भैलो खेल्ने आँगन नै बन्यो ।
    शायद विद्याले यो सबै एमालेको सक्रिय राजनीतिमा फर्कने पृष्ठभूमी बनाउनकै लागि गरेकी थिइन् । र, यसमा ओलीले पनि नेतृत्व आश्वासनको मिठो चकलेट देखाएकै थिए । एक राष्ट्रपतिको रूपमा विद्याको कार्यकाल न उल्लेखयोग्य रह्यो, न विवादरहित । उनी जनताकी छोरी गणतन्त्र नेपालको राष्ट्राध्यक्ष भएको भन्दा पनि एक सुविधाभोगी ‘महारानी’का रूपमा बदनाम भइन् । अहिले ओलीको गतिविधि देख्दा यो सबै विद्यालाई बदनाम बनाउन उनकै सुनियोजित चालको हिस्सा हुन सक्छ ।
    प्रश्न विद्याको मात्र हैन, अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल पनि उही ड्याङ्कै मुला हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट