आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

जेन जि आन्दोलनले समाजसेविको मुखमा दागबत्ती


  • आक्रमण न्युज
  • २०८२ आश्विन १२, आईतबार मा प्रकाशित १0 महिना अघि
  • ३६७ पाठक संख्या
  • सिंहदरवारमा २०१४ साल भदौ महिनामा भैरहेको मन्त्रिपरिषदको बैठकमा दौरा सुरुवाल र कोट लगाएर सहभागी तत्कालिन शिक्षा तथा स्वायत्त मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटालाई निकै नै गर्मी भएछ । उनले कोट खोलेर मेचमा झुण्ड्याए । बैठक सकियो । अरु मन्त्रीहरुसंगै उनी पनि आफ्नो मन्त्रालयको कार्यकक्षमा गए । काम सकेर बेलुका घर फर्कने बेला भएपछि सदाझैं कोट लगाउन खोजे त कोट तर गायब । यताउती हेरे, कतै छैन । सहयोगीलाई सोधे– ए भाइ, खोइ मेरो कोट ? उसले जवाफ दियो, क्याबिनेटमा जाँदा तपाइँ कोट लगाएर जानु भएको थियो । फर्कंदा नलगाई आउनुभयो । सहयोगीको कुरा सुनेपछि उनले सम्झिहाले र भने, ओहो धेरै गर्मी भएकाले कोट खोलें र मेचमा झुण्ड्याएर बसेको थिएँ । त्यहीं बिर्सिएछु । जाऊ जाऊ त्यति ल्याइदेऊ ।
    निकै समय लगाएर शिक्षामन्त्रीको कार्यकक्षमा फर्किएको सहायकको हात रित्तै थियो । देवकोटाले सोधे– खोइ त मेरो कोट ? सहायकले जवाफ दियो– सबैतिर खोजी गरें, कहींकतै भेटिएन । त्यहाँको हाकिमले पनि कोटको खोजतलास गर्नुभयो तर पाइएन । देवकोटा त्यहीं धुरुधुरु रुन थाले । वरिपरि भएका कर्मचारी अक्क न बक्क बने । मन्त्री घुँक्कघुँक्क गरिरहेछन् । निकै समयपछि एउटा कर्मचारीले मुख फोर्यो– मन्त्रीज्यू, एउटा कोट हरायो त हरायो, के रुनु भएको ? नयाँ कोट किन्न तपाइँलाई गाह्रो छ र सक्नुहुन्न भने बरु हामी कर्मचारी मिलेर कोट किनी ल्याइदिन्छौं ! उसका कुरा सुनेपछि आफ्ना ठूलाठूला आँखा पल्टाउँदै देवकोटाले दिक्क भावमा भने, ‘तिमीले ठान्यौ म लोभले रोएको हुँ तर मूर्ख निजामती हो, कुरो त्यसो होइन । मेरो भक्कानो फुटेको कारण यो देशमा क्याबिनेटबाट मन्त्रीको कोट त चोरी हुन्छ भने यो देशका कर्मचारीहरुले जनताका के कुरा बाँकी राख्लान् ? म रुनुको कारण यो हो !
    गएको शुक्रवार युट्युबमा कसैले पोष्ट गरेको क्लिपमा एउटा परिपक्व उमेरको ब्यक्ति पुर्पुरोमा हात राखेर रोइरहेको थियो । क्याप्सनमा लेखिएको थियो, भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुंग ! निकैबेर त्यो तस्वीर र व्याकग्राउण्डमा ह्वारह्वार जलिरहेको भाटभटेनी स्टोर हेरिरहें । सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतलनिवास, संघीय संसद भवन नयाँ बानेश्वर र देशभर लगाइएको आगजनी हेरिरहें । मनमा अनेक कुरा आउने–जाने गरिरहे । ओहो, भाटभटेनीजस्ता उद्यमीहरुले स्थापना गरेका संरचनाहरुलाई जलाइयो । विश्वस्तरका डिपार्टमेन्टल स्टोरहरुको स्थापना गरेर भाटभटेनीले नेपालका धनी, गरीव र श्रमिकहरु सबैका निम्ति एउटा उन्नत प्रणाली र बजारको अवधारणामा क्रान्ति ल्याउने काम गरेको थियो, त्यसैमाथि भ्रष्टाचारमुक्त विकसित समाज स्थापना गरेर सुशासन, समृद्धि र सामाजिक, आर्थिक, न्यायिक समाज सिर्जना गर्ने भनेर लागेका जेन्जीहरुको आन्दोलनले स्वाहा पारिदियो । यसलाई कसरी हेर्ने ? कसरी विश्लेषण गर्ने ? दोषीलाई कसरी कानुनको दायरामा ल्याएर दण्डित गर्ने र देशमा कानुनीराज कायम गर्ने ?
    मीनबहादुर गुरुंगबारे कहींकतै पढेको थिएँ, उच्च शिक्षाको लागि खोटांग जिल्लाको सुदूर गाउँबाट राजधानी प्रवेश गर्दा बाबुआमाले दिएको चार सय रुपैयाँ बोकेर ऊ काठमाडौं आएको थियो । यो केटोले साँझ बिहान पढेर, दिउँसो यताउति काम गरेर अन्तमा नेपाल बैंकमा सामान्य जागिर पाएको थियो । त्यहाँ अधिकृतसम्म बनेपछि श्रीमतीले खोलेको सानो खुद्रा पसलमा बैंकको जागिर छाडेर सघाउन थाल्यो । उसले त्यसै पसललाई छेउमा रहेको भाटभटेनी मन्दिरको पवित्र नाउँ दिएर डिपार्टमेन्टल स्टोरको नाउँमा व्यापार विस्तार गर्न लाग्यो । भनिन्छ, देशभर खुलिसकेका ३२ भाटभटेनी डिपार्टमेन्टल स्टोर थिए र तीमध्येकै एक, बहुचर्चित भाटभटेनी डिपार्टमेन्टल स्टोरको माउ स्टोर नक्साल भाटभटेनी स्टोर हो । जसलाई जेन्जी आन्दोलनकारीले लुटपाट गरेपछि आगो लगाएर खरानीमा परिणत गरिदिएका छन् । नक्सालबाहेक अन्य एक्काइस स्टोरहरुमा पनि फिरंगीहरुले झैं लुटपाट गरेर आगो लगाएर जलाइयो । मीनबहादुर रोइरहेको तस्वीर आगो दन्दनाइरहेका अनेक स्टोरहरुमध्येको एउटा स्टोरको ब्याकग्राउण्डमा पारेर राखिएको हुनुपर्छ । मीनबहादुरले खसालेको बलिन्द्रधारा आँशुको मूल्य कति ? देवकोटाले घुँक्कघुँक्क गर्दै बगाएको
    खबरदार ! मास्न र नास्न हुँदैन, मीनबहादुरहरुलाई । उद्यम, व्यवसाय र ब्यापारको दुनियाँमा देशभर थुप्रै मीनबहादुरहरुलाई जन्माउनु पर्छ । चम्काउनु पर्छ । भ्रष्टाचारविरोधी क्रान्ति सुशासनका लागि हुनुपर्छ । देशमा उपभोक्ताहरुले उपभोग गर्ने सामाग्रीहरुको प्रवन्ध गरिदिने व्यवसायीको सख्त आवश्यकता छ । हामी जे किन्छौं, भाटभटेनी, बिगमार्टहरुलाई तत्काल जति पैसा तिर्छौं त्यसवापत राज्यलाई कर तिर्छौं र त्यो तिरेको बिल पनि तत्कालै पाउँछौं । धनी, गरीव र श्रमिक सबैले करमार्फत देश विकासमा सहभागिता जनाइरहेका हुन्छौं । जसरी जेन्जी भ्रष्टाचारमुक्त समाज, सभ्य समाज, विकसित समाज, सामाजिक र आर्थिक न्यायको कुरा उठाइरहेको छ त्यस्तैगरी उन्नत वितरण प्रणाली र बजार अवधारणामा क्रान्ति ल्याउने कामको सहयोगी हो मीनबहादुर, बाधक होइन ! नेपाल बैंकको जागीर छाडे । उपभोक्तालाई उपभोग्य सामाग्रीहरु त्यसमा पनि घरायसी प्रयोजनका अत्यावश्यक सामाग्रीहरुको उपलब्धता एउटै बजार, घर, केन्द्रबाट उपलब्ध गराउने अभियानमा जुटे । उनी यही काम राजधानी र देशका प्रमुख शहरहरुमा आफ्नै जमीन र भवन बनाएर सेवा प्रदान गरिरहेका छन् । जहाँ भाटभटेनी छ, त्यहाँ शहर छ अथवा जहाँ भाटभटेनी खुल्छ त्यहाँ शहरको विस्तार हुन्छ । यो कुरा जेन्जीहरुलाई बताइराख्न पनि पर्दैन । उनीहरु नै भाटभटेनी विस्तारको साक्षी हुन् । उनीहरुले यो अभियान आफैंले नदेखेका र नबुझेका होइनन् !जेन्जीहरुले बुझ्नै पर्ने सत्य के हो भने उनीहरुलाई इन्टरनेट, सामाजिक सञ्जाल चाहिन्छ । टेलिफोन, बिजुली पनि चाहिन्छ । विहान उठेदेखि नसुतेसम्म चाहिने अत्यावश्यक खाना, नाना र इलेक्ट्रोनिक सरसामाग्री भाटभटेनीले एकै ठाउँबाट उपलब्ध गराउँछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट