जनकपुरधाम। साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
डा विमको पार्थिव शरीरमा उहाँका जेठा सुपुत्र डा आभाषलाभ कर्णले दागवती दिनुभयो । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गएराति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो । डा विमलको पार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश), मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले श्रद्धाञ्जली दिनुभयो ।
अन्त्येष्टिको क्रममा नेपाल प्रहरीको टोलीले स्व डा विमललाई सलामी अर्पण गरेको थियो । उहाँको निधनसँगै नेपाली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस