
सूचना प्रविधिको यसरी विकास नहुँदो हो त प्राचिन कालमा झैं अन्धकारमै रुमल्लिनु बाहेक मान्छेमा अर्को कुनै विकल्पै थिएन । सूचना प्रविधिको अलावा अन्य विज्ञान-प्रविधिको विकास सँगसँगै प्राप्त सुविधाले प्रकाशमय अथाह संसारमा कावा खाँदै रमाउँदै जीवनको दिव्य अनुभूति गर्ने केवल मानव जातिले मात्रै हो । अनि यही विज्ञान-प्रविधिको माध्यमबाट पृथ्वीको त कुरा छोडौँ अनन्त ब्रह्माण्डको अनुमानसमेत लगाउन थालेका छन् मान्छेहरूले ! हो न हो, भोलिका दिनमा पत्ता लाग्ने अकल्पनीय तथ्य हामीले पत्याउन बाध्य भयौँ भने त्यो पनि कुनै अनौठो हुने छैन ! अर्थात् अहिलेको विज्ञान-प्रविधिको विकासले लिएको गतिलाई प्रकृतिले रोकेन भने सुदूर भविष्यका सन्ततिहरूले आजको हाम्रो जीवनकाललाई पनि जंगलीहरूको जीवन कथा मानेर अभिरूचिपूर्वक अध्ययन गर्नेछन् ।
हाम्रा सनातनी धर्मग्रन्थ र धर्मशास्त्रमा वर्णित कथाहरूले हामीलाई पृथ्वी, अन्तरिक्ष र ब्रह्माण्डसम्म सजिलै काल्पनिक शयर गराउँछन् । यदि विज्ञानलाई छाडेर शास्त्रीय र आध्यात्मिक बन्ने हो भने ईहलोक, परलोक, पाताललोक र भएभरका सबै लोकतिर हामी घुम्न सक्छौँ अनि चित्तानन्दको अनुभूति गर्न सक्छौँ । त्यस्तै, जन्म-जन्मान्तरसम्म निरन्तर जन्मिइरहन सक्छौँ । त्यसो त, देवी-देवताहरूले स्वर्गलोकदेखि पृथ्वीलोकसम्म यात्रा गर्दा पनि मनचाहे बाहनमा यात्रा गर्दै आफ्नो लक्ष्यमा पुग्थे । शास्त्रीय मान्यतालाई आधार लिँदा द्रुतगतिका वायुयान र वायुपंखी घोडामा देवता र दानवहरू सवार भएका कथा सुने/पढेकै हौँ । अझ भनौँ, देवदेवीहरू मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । तर यी साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो होला ! दैवीय शक्तिको क्षमता नहुनेहरूमा उड्न र गुड्न असम्भव थियो । अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । यी र यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ ।
यहाँ भौतिक विज्ञान र आध्यात्मिकतालाई जोड्नुमा खास अर्थ छ र केही भन्नु पनि छ । त्यो के भने – विज्ञान-प्रविधिले भौतिकरूपमा आफ्नो लक्ष्यलाई स्पर्श गराउँछ भने आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ । हरेक लक्ष्यलाई सरलतापूर्वक काल्पनिक भेदन गर्दछ । यसर्थमा हवाईजहाजको यात्रा अंकको दूरीमा पुग्न सकिन्छ भने अन्तरमनको यात्रा अनादी र अनन्त शून्यमा हुन्छ, यसको दूरी नै भेटिँदैन । बाहिरी चक्षुको दृश्यशक्ति र मनचक्षुको दृश्यशक्तिमा पनि उस्तै अन्तर हुन्छ । जुन अंक र शून्य जस्तै नै हो । अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । अब यहाँ भन्दा भित्र र गहिराइमा नजाऔँ किनकि हामीलाई बाहिर निस्कन बाधा हुन्छ ।
धरा अथवा धर्ती पृथ्वी जे भने पनि हामी यहीँका उपज हौँ । पृथ्वीको एक हिस्सा हाम्रो देश पनि हो । हाम्रो देशको अवस्थितिलाई भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको छ । हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ । जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ । समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए ।
०४६ सालको परिवर्तनको संघारमा नेपालमा अनेकखाले भ्रमहरू प्रचारमा आए । मुलतः राजारानीका बारेमा थरिथरिका अनर्गल प्रचार र प्रलापहरू बजारमा आउन थाले । राजा वीरेन्द्र भन्दा पनि रानी ऐश्वर्यका बारेमा ज्यादा उछाल ल्याए । रानीले पम्फादेवी ठकुरानीको नाममा अर्बौं रुपैयाँ विदेशी बैंकमा जम्मा गरेको, राजाले समुन्द्रमा छुट्टै टापु किनेको लगायत अनेक भ्रमहरू बजारमा प्रचार गरियो । यस्ता सबै भ्रमहरूका पछि मान्छेहरू दौडे । तत्कालिन समयमा नेपालका क्याम्पसमा सीमित उग्र वामविचारका राजनीति यिनै भ्रमहरूका वरिपरि घुम्थे । त्यस प्रकारका सबै भ्रमहरू यसकारण भ्रम थिए कि अहिले लगभग चार दशक समय ब्यतीत हुँदा पनि उपरोक्त आरोपहरूको कतै कुनै पुष्टि हुँदै भएन । यी सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होलान् !
विद्यार्थीकालमा विद्यार्थी नेताहरूले ‘पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् । हुनपनि परम्परागत मौसमी उत्पादनमा निर्भर नेपालीहरूले छरिएको भ्रमलाई कतिपयलाई ‘हो’ लाग्यो । अहिले त सबै देखियो नि के रहेछ सत्य र के रहेछ भ्रम भन्ने सबै बुझियो ! अष्ट्रेलियामा मनसुन लाग्दा नेपालमा हिउँद लाग्छ । नेपालमा गूराँस फूल्दा अष्ट्रेलियामा हिऊँ फुल्छ ।
विद्यार्थीकालमा विद्यार्थी नेताहरूले ‘पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् । राजाहरूको त हैसियत थियो खर्च गरे तर अचेल जनताका सर्वहारा गरीब नेताहरूले लगभग करोडका घडी, लाखौंका ह्याण्डब्याग, रिसोर्टमा बाहेक होटलमा निन्द्रै नलाग्ने ऐयाशी जीवन कुन हैसियतले मिल्यो ?

प्रतिक्रिया दिनुहोस