आज: २०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

‘भरोसामय’ टिम लिएर उदाएका गगन र विश्व


  • आक्रमण न्युज
  • २०८२ माघ ३, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • २६७ पाठक संख्या
  • नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनबाट वैधानिक रूपमा गगनकुमार थापाको ‘रूपान्तरणको उद्घोष’ सहित सर्वसम्मतिबाट पार्टी सभापति चयन भएका छन् । मुलुकको राजनीतिमा नवीन चेतना, साहस, विवेक तथा युगान्तकारी परिवर्तनको सन्देश बोकेर नेतृत्वको भूमिकामा उभिएका छन् ।

    उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरु घिमिरे लगायत पदाधिकारी तथा केन्द्रीय सदस्य उनका सहयात्री भएका छन् । लोकतन्त्रको रक्षा, स्थायित्व तथा राजनीतिक असल अभ्यासका लागि आशा एवं भरोसामय ‘टिम’ लिएर गगन उदाएका छन् ।

    विडम्बना, पार्टीको सर्वोच्च निकाय विशेष महाधिवेशनले दिएको आदेशलाई निवर्तमान कार्यसमितिका सभापति शेरबहादुर देउवा समूहले आत्मसात् गरेका छैनन् । वैधानिक ढंगबाट सम्पन्न महाधिवेशनको अस्तित्वलाई स्वीकार्न तयार भएनन् । यस विपरीत तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने भनी जगहँसाउने निर्णय गरे । विधानको पालना गर्नेमाथि कारबाहीको अशोभनीय अस्त्र प्रयोग गरे । विधिको शासनको उपहास गरे । पार्टीभित्र व्यक्तिवादी चरित्र हावी भएको देखाए ।

    लोकतन्त्र भनेको विधि, प्रक्रिया तथा बहुमतद्वारा सञ्चालित शासन प्रणाली हो । विधिको शासन यसको मर्म एवं सर्वमान्य सिद्धान्त हो । मुलुकको शासन प्रणाली संविधान, ऐन तथा कानूनद्वारा निर्देशित हुन्छ । पार्टी, यसको महाधिवेशनबाट पारित विधान अन्तर्गत चल्ने गर्छ । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । यसले दिएका निर्देशन तथा निर्णय पालना गर्नु हरेक सदस्य, सम्पादन समिति, केन्द्रीय समिति र महासमितिको कर्तव्य हो । यो बाध्यकारी हुन्छ ।

    यसमा ‘ईफ्स’ वा ‘बट्स’ अथवा अन्य बहानामा उल्लंघन गर्ने छुट हुँदैन । विधि मान्ने कि नेताका निर्देशन पालना गर्ने ? सच्चिने कि सकिने ? जेनजी आन्दोलनको भावनालाई आत्मसात् गर्ने कि उपहास गर्ने ? २०८२ पुस २७–३० को विशेष महाधिवेशन मार्फत प्रश्न उठाएका छन् ।

    नेपाली कांग्रेसको विधानको धारा १७ (२)को प्रावधानले महाधिवेशन प्रतिनिधिहरूलाई विशेष अधिवेशन बोलाउने अधिकार छ । यस अधिकारलाई निषेध गर्न मिल्दैन । कुनै पनि बहानामा वा केन्द्रीय समितिको अकर्मण्यतामा यस अधिकारको सम्बोधन नगर्ने कुरा हुँदैन । वैधानिक तवरबाट ५४ प्रतिशत भन्दा बढी प्रतिनिधिहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गरेको निवेदनलाई पन्छाउन खोजियो । यस वैधानिक तथा बाध्यकारी व्यवस्थालाई बहुमतका बलमा अस्वीकार गरियो । त्यस निर्णयका विरुद्धमा महामन्त्रीद्वय थापा र शर्मा, फरमुल्लाह मन्सुर, अर्जुननरसिंह केसी र उमा रेग्मीले ‘नोट अफ डिसेन्ट’ लेखेर असहमति दर्ज गरे ।

    तथापि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको लोकतान्त्रिक छविलाई बचाउन सफल भए । विधान बमोजिम समयसीमा भित्र विशेष अधिवेशन बोलाएर कांग्रेसको रूपान्तरण संघर्षलाई अघि बढाए । ‘टसमस’ नहुने पार्टीका यथास्थितिवादी शक्तिलाई हल्लाए । व्यक्तिवादी चरित्र बोकेका ‘ढिट’ नेताहरूलाई बदल्ने प्रयत्न गरे । विधि मान्ने कि नेताका निर्देशन पालना गर्ने ? सच्चिने कि सकिने ? जेनजी आन्दोलनको भावनालाई आत्मसात् गर्ने कि उपहास गर्ने ? २०८२ पुस २७–३० को विशेष महाधिवेशन मार्फत प्रश्न उठाएका छन् ।

    दलीय राजनीति भन्दा माथि उठेर भएको जेनजी आन्दोलनले राष्ट्रलाई परिवर्तन र शुद्धीकरणको गहिरो सन्देश दियो । नातावाद, कृपावाद तथा अवसरवाद विरुद्धको आन्दोलन थियो त्यो । भ्रष्टाचारमुक्त, दण्डहीनता अन्त्य तथा सुशासनको प्रत्याभूति मागेको थियोे । कतिपय पुराना दलका नेताले तिनका पुनित भावनाको अवमूल्यन गरेका छन् । नयाँ भनिएका पार्टी तिनका चाहनाको अन्तर्यमा पुग्ने भन्दा राजनीतिक फाइदा लिएका छन् । केही दलले जेनजी पुस्ताका अनुहार भित्र्याएर असली हकदार आपूmलाई ठानेका छन् ।

    जेनजी आन्दोलनका भावनालाई गगनले आत्मसात् गर्न चुकेनन् । आन्दोलनका पीडित (घर जलाएर ध्वस्त पारिएको) भएर पनि एक परिपक्व र दूरदर्शी नेताका रूपमा देखा परे । प्राय: सबै जिम्मेवार भनी चिनिएका नेताहरूको बोली बन्द भएका बेला उनी सार्वजनिक रूपमा प्रस्तुत भए । नेपाली कांग्रेस सहितका पुराना दलहरूबाट भएका कमी–कमजोरी र गल्तीलाई स्वीकार्न हिचकिचाएनन् । माफी मागे । मुलुकको शासन पुरानो ढर्रा तथा पद्धतिबाट चल्न नसक्ने स्वीकारे । राजनीतिक रूपान्तरणका लागि आफू र आफ्नो पार्टी लागिपर्ने आत्मविश्वास साथ वचन दिए । एक अलग नेतृत्व क्षमता भएका व्यक्तित्वका रूपमा देखिए । मुलुक नै स्तब्ध भएको क्षणमा कुनै आक्रोश र आवेगमा नआई विवेकी नेताको परिचय दिए । शासन शैलीमा गल्ती भएकै हो भनेर वास्तविकता स्वीकारे । त्यसबाट पाठ सिकेर सुध्रेर अघि बढ्ने प्रण गरे ।

    यतिबेला जेनजी आन्दोलनका आह्वानकर्ता मिराज ढुङ्गाना समेत विभिन्न समूह माइतीघरमण्डलामा धर्नामा र सुशीला कार्कीसँगको १० बुँदे सम्झौता विरुद्धमा आन्दोलित छन् । त्यसलाई चुनावपछिको संसद्ले अपनत्व नलिने सम्भावना देखेका छन् । कुनै सरकार ढाल्नु वा चुनावलाई दुई वर्ष अघि सार्नु आन्दोलनको मर्म नरहेको बताएका छन् । डा. निकोलस भुसाल आमरण अनशनमा बसे । सरकारले माग पूरा गर्ने आश्वासनपछि बालुवाटार (अनशन स्थलमा नभई) पुर्याएर प्रधानमन्त्री सुशीलाको हातबाट जुस खुवाई अनशन तोड्ने कार्य भयो । सत्याग्रहीप्रति सरकारले देखाएको सम्मान थिएन त्यो ।
    जेनजीका मुख्य माग संविधान संशोधन र सुशासनको प्रत्याभूति हो । नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन प्रकरण’मा उच्च बहस र संघर्ष चलिरहेका बेला गगनले जेनजी मागको पनि चिन्ता लिएको देखिए । २०६३ सालमा सक्रिय नागरिक समाजलाई सम्झिए ।

    संविधान जारी गर्ने बेलाको सकसमा नागरिक समूहले खेलेको भूमिकाको स्मरण गरे । फागुन २१ को चुनाव अगावै जेनजी लगायतका प्रमुख राजनीतिक दलहरूसँगको समन्वयमा संविधान संशोधनमा साझा धारणा निर्माण गर्न सकारात्मक बहस चलाउने अवधारणा अघि सारे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट