
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार यतिबेला चुनाव प्रचारप्रसारमा व्यस्त छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिएका छन् । परम्परागत दल र नयाँ वैकल्पिक राजनीतिक शक्तिबिच ‘जनमत सङ्ग्रह’को रूपमा व्याख्या गरिएको यस निर्वाचनलाई दुवै पक्षले प्रतिष्ठाको विषय बनाएका छन् ।
खासगरी जेनजी विद्रोहको क्रममा सबैभन्दा बढी निसानामा कांग्रेस–एमाले परेको छ । विघटित संसदका दुई ठुला दल कांग्रेस र एमाले नेतृत्वको सरकारले जेनजी विद्रोहका सामु २८ घण्टामै घुँडा टेकेको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन गठबन्धन सरकारले राष्ट्रका ऐतिहासिक धरोहर, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय, नेताहरूको निजी सम्पत्ति समेत जोगाउन सकेन । आफैँले समर्थन गरेको बलियो सरकार हुँदाहुँदै पनि पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु राणा आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिएका थिए ।
विषम परिस्थितिमा निर्वाचनमा जान आनाकानी गरिरहेका कांग्रेस र एमाले अन्ततः चुनावी मैदानमा उत्रिएका छन् । जेनजी विद्रोहले राज्य सत्तामात्र नभइ वर्षौंदेखि मजबुत रहेको पुराना पार्टीको संरचना नै उथलपुथल बनाएको छ । नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई पुसको आन्तिम हप्ता सम्पन्न विशेष महाधिवेशनले सक्रिय राजनीतिबाट विस्थापितमात्र गरेन, आसन्न निर्वाचनमा उम्मेदवारसमेत नबन्ने गरी थन्क्याइदिएको छ । सुदूरपश्चिम प्रदेशको डडेलधुराबाट निरन्तर ६५ वर्षसम्म राजनीतिमा सक्रिय रहेका देउवा ५ पटकसम्म प्रधानमन्त्री भइसकेका छन् ।
देउवा २०४८ सालदेखि २०७९ सालसम्म भएको सात वटै संसदीय निर्वाचन जित्ने एकमात्र राजनीतिज्ञ थिए । २०४८ र २०५६ को निर्वाचनमा सुदूरपश्चिममा देउवाको एकछत्र पकड थियो । २०८३ वैशाखमा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेका उनी अपमानजनक तरिकाले राज्यसत्ता र पार्टीसत्ताबाट बाहिरिएका छन् । अन्तिम पटक प्रधानमन्त्री बन्ने र डडेलधुराबाट उम्मेदवारी दिने उनको चाहनालाई कांग्रेस सभापति गगन थापाले ‘ब्रेक’ लगाइदिएका छन् ।
देउवामात्र होइन, उनी निकटस्थ धेरैलाई यो पटक सभापति थापाले टिकट दिएका छैनन् । २०४८ सालदेखि लगातार निर्वाचनमा होमिएका विजय गच्छदार भने टिकट पाउन सफल सीमित भाग्यमानी भएका छन् । ३४ वर्षमा पटक पटक उपप्रधानमन्त्री तथा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका गच्छदार २०७९ को निर्वाचन बाहेक सबै निर्वाचन जित्ने सदाबाहार उम्मेदवार हुन् । देउवा निकट रहेका उनी आसन्न निर्वाचनमा सुनसरी–३ बाट उम्मेदवार बनेका छन् । सत्ता राजनीतिका चतुर खेलाडी रहेका गच्छदारले २०६४ सालमा कांग्रेस परित्याग गरी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) दल गठन गरेका थिए ।
२०७४ सालको निर्वाचनमा फेरि कांग्रेसमा प्रवेश गरेका उनी बालुवाटारको ललिता निवास जग्गा घोटाला प्रकरणमा तानिएका थिए । देउवा निकट पूर्वउपसभापति पूर्णबहादुर खड्काले पनि टिकट पाएनन् । पटक–पटक पार्टी र राजकीय पदमा अवसर पाएका खड्कालाई जेनजी विद्रोहपछि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । खड्काकै कारण तेस्रो पुस्ताले पार्टी कब्जा गरेको आरोप लागेको छ । खड्का २०५१ सालदेखि सुर्खेत–१ बाट निर्वाचित सांसद हुन् । उनी २०६३ सालको अन्तरिम संसदमा पनि विधायकको हैसियतमा थिए । देउवा निकट अर्का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि यो पटक उम्मेदवार हुनबाट वञ्चित भएका छन् । प्रचण्ड नेतृत्वका सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई पक्राउ गरी जेल हालेपछि उनको राजनीतिमा धक्का लागेको छ ।
रुपन्देही–३ बाट २०४८ सालमै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका खाण कांग्रेसमा पटक–पटक अवसर पाउने नेतामध्येमा पर्छन् । २०७९ सालको निर्वाचनमा उनी पराजित भएका थिए । कांग्रेसमा धेरै अवसर पाउने अर्का नेता अर्जुननरसिंह केसी हुन् । २०३८ सालमै नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्य जितेका केसी २०४८ देखि सबै निर्वाचनमा भाग लिएका छन् । उनी २०५६ र २०६४ सालमा नुवाकोट–३ बाट पराजित भएका थिए । उनी अहिले समानुपातिकतर्फ उम्मेदवार छन् ।
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर पनि सदाबहार उम्मेदवार हुन् । लामो समय कांग्रेसको सक्रिय राजनीतिमा रहेका ठाकुर २०४८ सालको निर्वाचनमा सर्लाही–५ बाट विजयी भएका थिए । २०५१, २०५६ मा सम्पन्न निर्वाचनमा कांग्रेसबाटै विजयी भएका उनले अन्तरिम संविधानमा मधेसका मुद्दा सम्बोधन नभएको भन्दै पार्टी परित्याग गरे । पहिलो संविधान सभा निर्वाचन अघि उनले आफ्नै नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरे । २०६३, २०६४ मा सम्पन्न निर्वाचनमा विजयी भएका उनी २०७० मा पराजित भए । २०७९ को निर्वाचनमा महोत्तरी–३ बाट उनी निर्वाचित भए ।
हालै कांग्रेस–एमाले गठबन्धनबाट उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का नेता शरदसिंह भण्डारी लगातार संसदीय राजनीतिमा सक्रिय छन् । २०५१ सालमा महोत्तरी–४ बाट स्वतन्त्र रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी २०५६, २०६४ को निर्वाचनमा पनि निर्वाचित भए । त्यसपछि विभिन्न पार्टीबाट उम्मेदवारी दिएका भण्डारी २०७० मा महोत्तरी–१ बाट पराजित भए । २०७४ मा राष्ट्रिय जनता पार्टी, २०७९ मा लोकतान्त्रिक समाजवादीबाट निर्वाचित भएका भण्डारी अहिले जसपा नेपालबाट महोत्तरी–२ मा उम्मेदवार बनेका छन् । विजय गच्छदारपछि सबैभन्दा बढी मन्त्री हुनेमा उनी पनि पर्छन् । कांग्रेसमा मात्र होइन, ३४ वर्षमा ८ वटा संसदमा भाग लिने नेता एमालेका पनि धेरै छन् । तीमध्ये अध्यक्ष केपी शर्मा ओली सदाबहार उम्मेदवार हुन् । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री भएका ओली २०६३ सालको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए । २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा झापा–७ बाट उनी पराजित भए ।
२०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनी दशौँ महाधिवेशनबाट दोहोरिए भने गत मंसिरमा सम्पन्न ११औँ महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए । उनी जेनजी विद्रोह हुँदा प्रधानमन्त्री थिए । भदौ २४ गते देशभरि विध्वंश मच्चिएपछि नेपाली सेनाको हेलिकोप्टर चढेर उनी सुरक्षित स्थानमा गएका थिए । चार पटक प्रधानमन्त्री भएका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ । एमालेमा सदाबहार उम्मेदवार बन्नेमा महासचिव शंकर पोखरेल पनि छन् । २०५१ सालको मध्यावधि निर्वाचनमा दाङ–३ बाट निर्वाचित भएका उनको जित–हारको शृङ्खला जारी नै रह्यो । पोखरेल एमालेको १०औँ र ११औँ महाधिवेशनमा महासचिव निर्वाचित भएका थिए ।
संसदीय राजनीति अन्तर्गत उनी २०५६ को निर्वाचनमा असफल भए । उनी २०६४ मा समानुपातिक सांसद बने । २०६६ सालमा सञ्चारमन्त्री बन्न सफल भएका पोखरेल २०७० मा साविक निर्वाचन क्षेत्रबाट पराजित भए । २०७४ सालमा प्रदेश सभा सदस्यमा विजयी भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेल दाङ–२ बाट माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग पराजित भए । योपटक सोही निर्वाचन क्षेत्रबाट उनले उम्मेदवारी दिएका छन् । पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल पनि सदाबहार उम्मेदवार हुन् । २०५६ सालमा पाल्पा–३ बाट संसदीय यात्रा प्रारम्भ गरेका उनी हरेक निर्वाचनमा सफल हुँदै आएका छन् । पार्टीको १०औँ र ११औँ महाधिवशेनमा उपाध्यक्षमा निर्वाचित भएका पौडेल २०७४ सालमा एमाले र माओवादी मिलेर बनेको नेकपाका महासचिव बन्न सफल भए । योपटक उनले रुपन्देही–२ बाट उम्मेदवारी दिएका छन् ।
एमालेका पूर्वमहासचिव तथा हाल नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बनेका छन् । २०५० सालमा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधन भएपछि महासचिव बनेका नेपाल झन्डै १४ वर्ष नेतृत्वमा रहे । २०४८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका उनी २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री थिए । २०५६ को निर्वाचनमा रौतहट–१ बाट निर्वाचित भएका नेपाल २०६४ सालको संविधान सभा निर्वाचनमा काठमाडौँ–२ र रौतहट–१ बाट पराजित भए । मूल नेतृत्वसहित पार्टीले हार व्यहोरेपछि महासचिव पदबाट राजीनामा दिएका उनी दुई–दुई ठाउँबाट पराजित भएर पनि २०६६ सालमा प्रधानमन्त्री बन्न सफल भए ।
२०७०, २०७४, २०७९ को निर्वाचन जितेका उनको एमाले अध्यक्ष बन्ने चाहना पूरा हुन सकेन । २०७८ सालमा ओलीसँग टकराबका कारण नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी गठन गरे । यही कात्तिक १९ गते माओवादी केन्द्रसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टीबाट उनी चुनावी मैदानमा उत्रिएका छन् । प्रधानमन्त्री हुँदा पतञ्जली योग पीठको जग्गामा नीतिगत हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग आयोगले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा हालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सदाबाहर उम्मेदवार एमालेका पूर्वनेता राजेन्द्र प्रसाद पाण्डे पनि हुन् ।
लामो समय एमालेमा सक्रिय राजनीति गरेका पाण्डे २०४८ सालदेखि धादिङ–३ मा लगातार उम्मेदवार बने । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री रहेको पाण्डेले २०६४ को बाहेक सबै निर्वाचन जितेका छन् । एमालेबाट उनले पटक–पटक मन्त्री बन्ने अवसर पाए । २०७८ सालमा एमाले छोडेर एकीकृत समाजवादीमा लागेका पाण्डेले आसन्न निर्वाचनमा नेकपाबाट धादिङ–१ मा उम्मेदवारी दिएका छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले यो पटक टिकट पाएनन् । २०७८ सालमा पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका खनालले योपटक काठमाडौँबाट चुनाव लड्न चाहेका थिए । खनाल २०४८ सालको निर्वाचनमा इलाम–१ बाट निर्वाचित भएका थिए । २०५१ को निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए । २०५६ सालमा उनी पराजित भए । सबै निर्वाचनमा भाग लिएका उनी २०७९ को निर्वाचनमा पराजित भए ।
२०६५ सालमा एमालेको आठौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका खनाल २०६८ सालमा प्रधानमन्त्री भएका थिए । उनी अहिले नेकपाका वरिष्ठ नेता छन् । एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम पनि सदाबहार उम्मेदवार हुन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका गौतम अहिले नेकपाका वरिष्ठ नेता छन् । बर्दिया–१ बाट उम्मेदवार बन्न चाहेका उनले यो पटक टिकट पाएनन् । गौतम २०४८ मा संसदीय राजनीतिमा प्रवेश गरेका थिए । २०५६ र २०६४ सालमा पराजित भए । २०७० मा निर्वाचित भएका उनी वाममन्थी गठबन्धन बनाएर चुनावमा लड्दा पनि २०७४ पराजित भए ।
२०७६ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भए । २०७९ निर्वाचनमा नलड्ने घोषणा गरे । एमालेबाट लगातार निर्वाचन जित्ने विरोध खतिवडाले योपटक उम्मेदवार नबन्ने घोषणा गरे । उनी २०४८, २०५१, २०५६, २०६३ सालमा निर्वाचित भएका थिए । २०६४ र २०७० पराजित भएका उनी २०७४ मा विजयी भए । २०७९ सालमा साविक निर्वाचन क्षेत्र मकवानपुर–२ बाट उनी पराजित भए । नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेका हृदयेश त्रिपाठी पनि सदाबहार उम्मेदवार हुन् ।
नवलपरासी–३ बाट २०४८ मा चुनाव लडेका उनी ०५१, २०५६, २०६४, २०७०, २०७४ मा पनि उम्मेदवार थिए । २०७९ को निर्वाचनमा उनी पराजित भएका थिए । ०७४ मा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका उनी यो पटक जसपा नेपालबाट उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस