आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

बालेन्द्र शाह र नेपालको राजनिति


  • आक्रमण न्युज
  • २०८२ फागुन ११, सोमबार मा प्रकाशित १ महिना अघि
  • २९६ पाठक संख्या
  • नेपालको राजनीति विगत केही दशकदेखि परम्परागत दल र संरचनाबाट परे नयाँ तरंग खोजिरहेको छ । बालेन शाहको उदय अत्यन्तै उल्लेखनीय छ । उनी केवल एक पूर्वमेयर वा राजनीतिक पदका लागि दौडिएका नेता होइनन्, उनी युवा शक्ति, प्रशासनिक दक्षता र एजेन्डा केन्द्रित नेतृत्वको प्रतीक बनेका छन् । बालेन शाहको नेतृत्व शैली प्रारम्भिक चरणमा जनताको बिचमा पुग्ने, समस्या बुझ्ने र समाधान गर्ने दृष्टिकोणमा आधारित थियो । उनको चुनावी रणनीति पारम्परागत राजनीतिक शैलीभन्दा भिन्न थियो । उनले आफ्नो अभियानमा एजेन्डा केन्द्रित शैली अपनाए ।

    सडक, ढल निकास, स्मार्ट सहर, सार्वजनिक यातायात सुधार र अन्य विकास कार्यक्रम जनतासामु प्रस्तुत गर्दै संवादमा जुटेका थिए । डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रयोगले उनलाई युवा वर्गसँग मात्र होइन, पाका नागरिकसँग पनि प्रत्यक्ष सम्पर्क कायम गर्न सहयोग गर्‍यो । यस शैलीले उनलाई केवल लोकप्रियता दिलाएको होइन, काठमाडौंका नागरिकहरूको विश्वास जित्न पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    बालेनको प्रारम्भिक शैलीका मुख्य विशेषताहरू पारदर्शिता, नवप्रवर्तन र प्रत्यक्ष जनसहभागिता थिए । उनी जनतासँग प्रत्यक्ष संवाद गर्न र उनीहरूको समस्या बुझेर समाधान निकाल्न सधैं तत्पर देखिन्थे । यसले पारम्परिक नेपाली राजनीतिक नेतृत्वको शैलीभन्दा पूर्ण भिन्नता प्रस्तुत गर्‍यो । बालेन शाहले देखाएको यस जनता केन्द्रित शैलीले उनलाई मेयर पदमा जिताएको मात्र होइन, युवामाझ राजनीतिक आकांक्षाको प्रतीक पनि बनाएको छ ।

    तर मेयर बनेपछि बालेनको शैलीमा स्पष्ट परिवर्तन देखियो । उनी अब केवल एजेन्डाकेन्द्रित नेता नभएर राजनीतिक व्यक्तित्वका रूपमा देखा परे । सार्वजनिक कार्यक्रम, निर्णय प्रक्रिया र राजनीतिक गतिविधिहरूमा उनले अब अधिक व्यापक रणनीति अपनाउन थालेका छन् । प्रारम्भिक चरणमा देखिएको नजिकको सम्बन्ध र प्रत्यक्ष संवाद केही कम भएको महसुस गर्न सकिन्छ । यस परिवर्तनले उनका प्रारम्भिक आदर्श र जनता केन्द्रित शैलीमाथि प्रश्न उठाउन थालेको छ ।

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बन्दै भावी प्रधानमन्त्रीको एजेन्डा लिएर देश दौडाह गरे । प्रधानमन्त्री पदको आकांक्षासहित अघि बढिरहेका बालेनले जहाँ–जहाँ देश दौडाह गरे, उनलाई हेर्नकै लागि भए पनि मानिसहरूको भिड देखियो । तर त्यस अवधिमा उनको शैली प्रारम्भिक एजेन्डा केन्द्रित अभियानभन्दा फरक देखिन पुग्यो । जहाँ उनले पार्टीका उम्मेदवारहरूलाई भेटघाट गरे, तर जनतासँगको प्रत्यक्ष संवाद गर्ने आँट गर्न सकेनन् । केवल जनतासँग प्रत्यक्ष संवादमा नभएर व्यापक प्रचार, रणनीति र राजनीतिक समीकरणमा ध्यान दिए । यसले देखाउँछ कि बालेनको राजनीतिक आकांक्षा र व्यक्तिगत महत्त्वाकांक्षा बाधक बनिरहेका छन् ।

    समलोचनात्मक दृष्टिले हेर्दा पछिल्लो समय उनी एउटा प्रवृत्तिको प्रतिनिधि पात्र बन्न पुगेका छन् । परम्परागत राजनीतिक संस्कार, भाषाशैली र शक्ति प्रयोगको ढाँचालाई अस्वीकार गर्दै उदाएका बालेनले ‘नेतृत्व’ को अर्थलाई पुनर्परिभाषित गरेका छन् । उनीसँग जोडिएको शैली आक्रामक, प्रत्यक्ष, भावनात्मक, कहिलेकाहीँ असहज तर प्रभावकारी शैली आज ‘बालेन शैली’ का रूपमा चिनिन थालेको छ । तर प्रश्न उठेको छ, यो शैली व्यक्तिगत स्वभावको उपज हो कि सामाजिक राजनीतिक प्रवृत्तिको ? यो प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन रूपमा उपयोगी छ कि जोखिमपूर्ण भन्ने महत्त्वपूर्ण प्रश्न उठेको छ ।

    बालेन शाहको उदय कुनै आकस्मिक घटना होइन । यो नेपालको सहरी मध्यवर्गीय निराशा, दलगत राजनीतिप्रतिको वितृष्णा र काम गरेर देखाउने नेतृत्वप्रतिको चाहनाको परिणामको उपज होभन्दा फरक नपर्ला । वर्षौंदेखि राजनीतिक दलहरूले दोहोर्‍याउँदै आएको भाषण, प्रतिबद्धता र असफल कार्यान्वयनले जनतामा गहिरो अविश्वास जन्माएको थियो । यही शून्यतामा बालेन शाहजस्ता पात्र प्रवेश गरे, जो न दलको झण्डा बोकेर आए, न परम्परागत राजनीतिक संस्कारको भार बोकेर ।

    उनको शैलीको पहिलो र सबैभन्दा स्पष्ट विशेषता प्रत्यक्षता हो । बालेन शाह घुमाउरो भाषा प्रयोग गर्दैनन् । सामाजिक सञ्जालमा लेखिएका उनका स्टाटसहरू छोटा, तीखा र आदेशात्मक हुन्छन् । ‘भत्काइन्छ’, ‘कारबाही हुन्छ’, ‘अब सह्य छैन’जस्ता शब्दहरूले उनको भाषालाई परिभाषित गर्छ । यो शैली समर्थकका लागि साहसिक र इमानदार लाग्छ भने आलोचकका लागि भने अधिनायकवादी र असंवेदनशील लाग्छ । तर यथार्थ के हो भने यही प्रत्यक्षताले उनलाई जनतासँग तत्काल जोड्न सफल बनाएको छ ।

    बालेन शाह शैलीको दोस्रो महत्त्वपूर्ण प्रवृत्ति हो, संस्थाभन्दा व्यक्तिकेन्द्रित नेतृत्व । परम्परागत रूपमा स्थानीय सरकारहरू संस्थागत प्रक्रिया, समिति र निर्णय प्रणालीमा आधारित हुन्छन् । तर बालेनको कार्यशैलीमा ‘मेयर स्वयं’ केन्द्रमा देखिन्छन् । निर्णयहरू छिटो हुन्छन्, निर्देशनहरू सीधै आउँछन् र कार्यान्वयन पनि तुरुन्त सुरु हुन्छ । सडक अतिक्रमण हटाउनेदेखि नक्सा पाससम्मका विषयमा उनको व्यक्तिगत हस्तक्षेप स्पष्ट देखिन्छ । यसले कार्यक्षमता बढाएजस्तो देखिए पनि संस्थागत सन्तुलन र दीर्घकालीन प्रणाली निर्माणको दृष्टिले प्रश्न उठाउँछ ।

    तर यही विद्रोही शैली कहिलेकाहीँ समस्याग्रस्त पनि बन्छ । आलोचनालाई सहजै अस्वीकार गर्ने, असहमतिलाई ’विकास विरोधी’ को संज्ञा दिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि चुनौतीपूर्ण हुन्छ । उदाहरणका लागि, सडक व्यापारी, सुकुम्बासी वा सांस्कृतिक सम्पदासँग जोडिएका मुद्दामा संवादभन्दा आदेश बढी देखिएको आरोप लाग्दै आएको छ । बालेन शाह शैलीमा संवादको स्थान सीमित देखिन्छ, जुन दीर्घकालीन सामाजिक सहमतिका लागि कमजोर पक्ष हो ।

    बालेन शाहको नेतृत्वलाई बुझ्न सामाजिक सञ्जालको भूमिकालाई बेवास्ता गर्न सकिँदैन । उनी सामाजिक सञ्जाललाई केवल सूचना प्रवाहको माध्यम होइन, राजनीतिक हतियारका रूपमा प्रयोग गर्छन्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट