नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै चेतेका छैनन् उनले जेनजी आन्दोलनलाई एमालेविरुद्ध पश्चिमा शक्तिको षड्यन्त्र हो भनेर मात्र बुझिरहेका छन् । त्यसैले उनि जेनजी आन्दोलनविरुद्ध पश्चिमा शक्तिलाई चेतावनि दिन पछि परेका छैनन । जेनजी आन्दोलनबाट लखेटिएका ओलीमा जनता सित सामना गर्न सक्ने मनोविज्ञान अझै विकास हुन सकेको देखिदैन ! जेनजी आन्दोलन ओलीका लागि सोम शर्माको कथाजस्तै बन्यो ।
त्यसैले एमालेले जेन जि विद्रोहलाई आकस्मिक, अस्वाभाविक र विनाशकारी भुइँचालोजस्तो भएको निष्कर्ष निकालेको छ । त्यो भुईँचालो आफ्नो कारणले गयो कि अरूको कारणले भन्नेतर्फ एमालेले विश्लेषण गर्न आवश्यक ठानेको छैन । भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमाथि गोली बर्साएर विद्यार्थीहरूको हत्या नगरेको भए, भदौ २४ गतेको अवस्था आउने थिएन । तर, तानासाही सोचबाट अगाडि बढेको तत्कालीन ओली सरकारले भदौ २३ को आन्दोलन दबाउन गत चैत १५ गतेको सुरक्षा रणनीति अवलम्बन गर्दा यो परिस्थिति उत्पन्न भएको हो भन्ने ओलि र एमाले ले अझ सम्म बुझ्न नसक्नु दुखद पाटो नै हो ! सुरक्षा निकायका प्रमुखहरूले भदौ २३ गते नै ओलीलाई राजीनामा दिन आग्रह गरेका थिए । तर, ओली राजीनामा दिन तयार भएनन्, उल्टै सुरक्षा निकायका प्रमुखहरूलाई झपार्न पुगे । जसका कारण भदौ २४ गतेको अवस्था आयो ।
त्यो अवस्थालाई सम्हाल्न सुरक्षा निकायले सकेनन् । यसैलाई एमालेले सुरक्षा निकायका कारण सरकार ढलेको निष्कर्ष निकालेको देखिन्छ । यदि, भदौ २३ र २४ गते पनि सुरक्षा निकाय आन्दोलन दमन गर्न सडकमा आएको भए बंगलादेशमा जस्तै हजारौं नागरिकले ज्यान गुमाउने थिए । नेताहरूमाथि ठाउँका ठाउँ आक्रमण हुने थियो । धन्य त्यो अवस्थाबाट सुरक्षा निकायले नेताहरूलाई जोगाए र तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन सफल भए ।
यसमा सुरक्षा निकायका नेतृत्वप्रति ओली कृतज्ञ हुनुपर्नेमा उल्टै सुरक्षा निकायमाथि दोष थोपर्नुले उनको आपराधिक मानसिकता उजागर भएको प्रष्ट छ । जेनजी आन्दोलन एकैदिन एकैरातमा उठेको थिएन । आम नेपाली जनता वर्षौँदेखि भ्रष्टाचार, कुशासन, बेरोजगारी, बेथितिका कारण पिल्सिरहेका थिए । खासगरी तीसौं वर्षदेखि आलोपालो सत्तामा बसेका कांग्रेस, एमाले र माओवादीका कारण जनता आजित थिए । अझ, ओलीका कारण जताततै विग्रहको अवस्था थियो । खासगरी २०७७ साल पुस ५ गतेको संसद् विघटनपछि कम्युनिष्ट आन्दोलनले बाटो बिराएको थियो ।
त्यही दिनदेखि बग्दै आएको विद्रोहले ओलीको पतन निम्त्याएको हो । यसबाट ओलीले शिक्षा लिएर राजनीतिबाट अलग भए त्यो कम्युनिष्ट आन्दोलनका लागि सुखद क्षण हुने छ । अन्यथा, एमालेकै कारण देशमा अर्को दुर्घटना निम्तिने कुराप्रति समयमै सबै सचेत हुनुपर्छ !
प्रतिक्रिया दिनुहोस