आज: २०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

आफ्नो ठाउबाट सक्दो सहयोग गरौ


  • आक्रमण न्युज
  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • ५८ पाठक संख्या
  • मुलुक अहिले शोकमा छ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार (१० भदौ) आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुऱ्याएको छ । मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति ब्यहोर्नुपरेको छ । बाढीका कारण लाखौं सर्वसाधारण पीडित भएका छन् । उनीहरुको जिउमा लुगा छैन, बस्न बास छैन, खान पैसा छैन ।क्षणभरमै उनीहरुले आफ्ना परिवार, आफन्त, सम्पत्ति सबै गुमाएका छन् ।

    कसैको त वंश नै नाश भएको छ भने बाढीमा फसेका हजारौं मानिसहरु अझैपनि उद्धारको पखाईमा छन्, तर पर्याप्त स्रोतसाधन नहुँदा उनीहरुको उद्धारसमेत हुन सकेको छैन । सबैभन्दा दुर्भाग्यपूर्ण कुराचाहिँ के छ भने एउटै देशमा पनि कोही नागरिकको रुवाबासी चलिरहँदा कोहीचाहिँ चाडपर्व मनाइरहेका छन् । मानिसहरुले भव्य रुपमा जनै पूर्णिमा मनाए । मिठाईदेखि मासु पसलसम्म निकै भीडभाड थियो । त्यसैगरी, तीज पनि नजिकिएको छ । भदौ २९ गते परेको तीजका लागि एक महिनाअघिदेखि दर खाएर महिलाहरुलाई भ्याइनभ्याइ छ । घरदेखि होटल, रेस्टुरेन्ट, पार्टी प्यालेन्ससम्ममा दर कार्यक्रम राखिएको पाइन्छन् । देश शोकमा भएपनि उनीहरुलाई केही मतलब छैन ।

    इतिहासकै कठिन अवस्थामा मुलुक पुगेको छ । गत वर्षमात्र जेनजी आन्दोलनका कारण ठूलो क्षति ब्यहोरेको हाम्रो देश र नेपाली जनताले फेरि पनि भयावह अवस्थाको सामना गर्नुपरेको छ । क्षणिकमै हामीले हाम्रा दाजुभाई, दिदीबहिनी, आमाबुवा गुमायौँ । मुलुकले पनि उत्तिकै क्षति भोग्नुपरेको छ । प्रकृतिले चाहेमा मानवको अंहकार र अस्तित्वलाई क्षणभरमै सखाप पार्नसक्छ भन्ने यो ठूलो उदाहरण हो । अब यसबाट सिक्दै अघि बढ्न त जरुरी छ नै सँगै बाढी पीडितको उद्धार, खोज, पुनःस्थापनाका निम्ति ठूलो रकम राज्यलाई आवश्यक छ । तर, हाम्रो सरकारसँग त्यत्रो पैसा छैन । सरकार उल्टै ऋणको दलदलमा फसेको छ ।

    बाढीपीडितका लागि सहयोग गर्न सरकारले आह्वान गरिसकेको छ । सहयोग जुट्दै पनि छ । विपद्को यस कठिन घडीमा मुलुकलाई सक्दो सहयोग गर्न हामी सबै नेपालीको कर्तव्य र दायित्व हो । किनकि, नेपाल हामी सबै नेपालीको मातृभूमि हो भने नेपाली जनता परिवार । नेपालभित्रका सबै जिल्ला हाम्रो हो र सबै नेपाली हाम्रा परिवार हुन् भन्ने भावना अहिले चाहिएको छ । त्यसैले, देश शोकमा रहेको बेला र नेपालीले नेपाली गुमाएको बेला राज्यलाई सहयोग गरौं । विपद्को बेला चाडपर्व नमनाउनु भनेको होइन । तर, चाडपर्व खर्च केही घटाएर वा बाढी पीडितलाई सहयोग गरेर पनि त मनाउन सकिन्छ नि ! हामीले सहयोग नगरेर अरु कसले गर्छ ।

    आफ्नो देश र परिवारलाई बचाउनु छ भने नेपाली जनता नै एकजुट हुनुपर्छ । भनिन्छ- राजनीति सेवा हो । पहिला-पहिला राजनीति गर्नेले राज्यको कुनै सेवासुविधा वा तलब लिँदैन्थे । अहिले त मुलुक कठिन अवस्थामा रहँदासमेत जनप्रतिनिधिहरु तलब त्याग्न तयार छैनन् । बाढीपीडितहरुको अवस्था एकदमै नाजुक छ । स-साना बालबच्चाले आफ्ना आमाबुबा गुमाएका छन् त अभिभावकले आफ्ना बालबच्चा । परिवार त गुमाए नै उनीहरुको जीवनभरको कमाई पनि बगरमा परिणत भएको छ । त्यसकारण, यस कठिन अवस्थामा ती नेपालीको साहारा बनौं । आफ्नो गाँस कटाएर उनीहरुको पनि पेट भर्न सहयोग गरौं । सँगै विपद्को लाभ उठाउने काम नगरियोस् । बाढीमा फसेकाको उद्धार गर्न सहयोग गर्नुको साटो उल्टै शवबाट सुन निकाल्ने, पैसा चोर्नेजस्ता गतिविधि देखियो । यसले नेपालीमा मानवीयता हराउँदै गएको छर्लङ्ग छ । थोरै सुन र पैसाको लोभमा मानवता नमारौं । भनिन्छ- राजनीति सेवा हो । पहिला-पहिला राजनीति गर्नेले राज्यको कुनै सेवासुविधा वा तलब लिँदैन्थे । अहिले त मुलुक कठिन अवस्थामा रहँदासमेत जनप्रतिनिधिहरु तलब त्याग्न तयार छैनन् ।

    वर्तमान सरकारका प्रधानमन्त्री/मन्त्रीहरु हुनेखाने वर्गका हुन् । उनीहरुसँग अर्बौंको सम्पत्ति छ । सयौं तोला सुन छ । तैपनि मुलुक र जनता संकटको अवस्थामा रहेका बेला उनीहरु तलब, सेवासुविधा छोड्न तयार छैनन् । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले एक महिनाको मात्र तलब त्याग्दैछन् । विडम्बना ! उनीहरुमा सेवाभाव देखिएन । यस्तै, संघीय सांसद, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु पनि तलब, सेवासुविधा त्याग्न तयार छैनन् । प्रदेश र स्थानीय सरकारले त जनताकै कर बाढीपीडितलाई दिएर सहयोगको नौंटकी गरिरहेका छन् । आफ्नो एकसुको नछोड्ने अनि जनताकै कर जनतालाई दिएर वाहावाही बटुल्ने ! सरकारी कर्मचारी राष्ट्रसेवक हुन् ।

    उनीहरुले जनताले तिरेको करबाट तलबभत्ता, सेवासुविधा बुझ्छन् । पोशाक लगाउँछन् । गाडी चढ्छन् । तर, जनतालाई चाहिएको बेला उनीहरु एकसुको सहयोग गर्न तयार छैनन् । विपद्को घडीमा त आफैंले बुझेर कर्मचारीहरुले देश र जनतालाई सहयोग गर्नुपर्ने हो । तलब, सेवासुविधा नलिई काम गर्छु भन्नुपर्ने हो । किनकि देश र जनता रहे त कर्मचारीहरु पनि रहन्छन्, उनीहरुले तलबभत्ता पाउँछन् । जनता नै नरहे कर्मचारी किन चाहियो र ! विडम्बना, यति कुरा पनि उनीहरुले बुझ्न सकेनन् । अनि देश र जनतालाई चाहिएको बेला साथ, सहयोग गर्न नसक्ने कर्मचारीहरु किन चाहियो ? हाम्रो देशमा थुप्रै उद्योगी, व्यवसायी, व्यापारी छन् । उनीहरुले मासिक अर्बौ कमाउँछन् ।

    जसमध्ये कतिपय राज्यलाई राजस्व छलेर र जनता लुटेर मालामाल बनेका छन् । उनीहरुले पनि राज्यलाई सहयोग गर्ने बेला आएको छ । सबै व्यापारी, उद्योगी व्यापारी, व्यवसायीले आफ्नो तर्फबाट सकेको सहयोग सरकारलाई गरौँ । सँगै टिकटकर, युट्युट्बरहरुले पनि राज्यलाई सहयोग गर्नुपर्ने समय हो यो । यदि यो बेला हामी सबैले सहयोगको भाव नदेखाउने हो भने मुलुक माथि उठ्न सक्दैन । बाढीपीडितको उद्धार, खोज र पुनःस्थापना हुन सक्दैन । त्यसैले, हामी सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं । यो सहयोग सरकारलाई होइन, आफ्नो मातृभूमि र आफ्ना दाजुभाइ, दिदीबहिनी, आमाबुवाका लागि गरेको हो भन्ने सोचौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट