
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको पहाडगञ्जस्थित युग डिलक्स होटलमा “भारतमा रहेका नेपालीलाई कसरी सामाजिक संघ–संस्थाले सहयोग गर्न सक्छन्” भन्ने विषयमा एक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम भारतीय जनता, स्थानीय नेपाली, विद्यार्थी र विभिन्न संघ–संस्थामा आबद्ध पदाधिकारीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।

गोष्ठीको विशेष अवसरमा भारतमा लामो समयदेखि सामाजिक सेवा र परोपकारी कार्यमा सक्रिय समाजसेवी वीर बहादुर बोहरालाई सम्मान गरिएको थियो। प्रवासी नेपाली संघ भारतका केन्द्रीय परिषद सदस्यसमेत रहेका बोहरा सुदूर पश्चिमेली समाज, दर्शन नमस्ते संस्था, लोक कल्याणकारी ट्रस्ट, मेची–महाकाली एशोसिएसन भारत, हिन्दू युवा संघ नेपाल जस्ता थुप्रै संघ–संस्थामा सल्लाहकार तथा सदस्यका रूपमा आवद्ध रहँदै आएका छन्।
कार्यक्रममा मन्तव्य दिँदै समाजसेवी बोहराले भारतमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीको सेवा, सहयोग र साथका लागि जुनसुकै बेला आफूलाई सम्पर्क गर्न सकिने भन्दै मोबाइल नम्बर ९९९९५०५७४२ सार्वजनिक गरेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा समाजसेवी प्रवेश केसीले बोहराले गरेको योगदानको प्रशंसा गर्दै दोसल्ला ओढाई सम्मान प्रदान गरे। साथै, राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता तथा धर्म विभाग सदस्य झलकराज पौडेलले भारत–नेपाल सम्बन्धबारे धारणा राख्दै नेपाल र नेपालीको गरिमा कायम राख्न प्रवासी नेपालीले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले पनि बोहरालाई खादा ओढाएर सम्मान गरेका थिए।

भारत प्रवासी मञ्चका संस्थापक कोषाध्यक्ष खिमलाल पाण्डेले कार्यक्रमको उद्घोषण गरेका थिए भने कार्यक्रमको अध्यक्षता वीर बहादुर बोहराले स्वयं गरेका थिए।
कार्यक्रमले भारतमा रहेका नेपालीबीच आपसी एकता, सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस