वैशाख ६, २०८१
बाँके । रोजगारी र व्यापारका लागि हुम्लाबाट चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जानेको सङ्ख्या बढ्न थालेको छ । सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जान तीन सय २८ जनाले नयाँ पास लिएका तथा आठ सय ७८ जनाले पुरानो पास नवीकरण गरेका जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।
ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले दिंदै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा यो व्यवस्था भएको हो । चीनले गएको वैशाख १८ गते हिल्साबाट आवागमनको अनुमति दिएपछि बर्सेनि पास बनाउने सेवाग्राहीको जिल्ला प्रशासन कार्यालयमा भीड हुने गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो ।
जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट धेरै सेवाग्राही आउने गरेका छन् । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाबाट पनि सर्वसाधारण ‘सीमा पास’ बनाउन आउने गरेका उहाँले बताउनुभयो ।
नेपालीले फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायत सामान ताक्लाकोटमा बेच्ने गरेका छन् भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस