आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

मनसुन भित्रिए पछि २५ बालबालिका सहित ८३ जनाको ज्यान गयो, ३ हजार परिवार विस्थापित


  • आक्रमण न्युज
  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित २ साल अघि
  • ३६३ पाठक संख्या
  • काठमाण्डौ असार २६, –

    मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा परेर २५ जना बालबालिकाको ज्यान गएको छ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर आजसम्म २५ जना बालकालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै १९ जना बालबालिका घाइते भएका छन् ।

    अहिलेसम्म विपद्का घटनामा ८३ जनाको ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी र पहिरोमा परेर ५ जना हराइरहेका छन् । बाढी र पहिरोमा परेर १ सय ६ जना घाइते भएका छन् । गएको जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो ।

    यसैगरी बाढी र पहिरोमा परेर ३ सय ८४ पशुचौपाया मरेका छन् । विपद्‍मा १ सय ३९ घर र ५४ वटा गोठमा क्षति पुगेको प्रहरीको तथ्याङ्क छ । वर्षाका कारण आएको बाढीले एउटा विद्यालय र दुइटा सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै १ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएका प्रहरीले जनाएको छ ।

    बाढी, पहिरो र डुबानका कारण २ हजार ९ सय ५४ परिवार विस्थापित भएका छन् । उनीहरू आफन्त तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । अहिलेसम्म मनसुनी विपद्‍बाट १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

    यसैबीच कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिम सेती, कन्काई, कमला, पूर्वी राप्ती नदीमा पनि जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । महाशाखाले यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आज कोशीको सहायक नदी तमोरका साथै कमला नदी र भोलि कन्काई नदीले सतर्कता तह पार गर्ने पूर्वानुमान छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट