आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

सरकारको गोप्य कुण्डली र भविष्यवाणी


  • आक्रमण न्युज
  • २०८१ पौष २, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४१९ पाठक संख्या
  • पौष २, २०८१ / प्रभातराज पाण्डे

    देउवा र ओली एकठाउँमा हुँदासम्म अरू आन्तरिक या बाह्य कारणले सरकार ढल्ने सम्भावना क्षीण छ । सरकार गठन/विघटनको मुख्य फ्याक्टर आन्तरिक नै हो, बाह्य भन्ने जुन हौवा छ, त्यो सहायक मात्र हो । उत्पात राम्रो काम गरेर होइन, ओली र देउवाको स्वार्थ मिलेका कारण गठबन्धनलाई सर्दी लाग्ने सम्भावना तत्काल देखिन्न । सरकार फेरबदलको बेमौसमी बहस पटक–पटक दोहोरिने गरेको छ । सत्तासाझेदार कांग्रेस–एमालेका शीर्ष नेताविरुद्ध भदौ १० गते काठमाडौंमा गौरा पर्व समारोहमा नाराबाजी भएपछि एकपटक सरकार ढालिने चर्चा भयो । दशैंको समयमा फेरि त्यस्तै भयो । अहिले पनि सरकार परिवर्तनको उल्टो बतास चलिरहेको छ ।
    सरकार परिवर्तन हुँदैछ भनेर अफवाह फैलिनुमा युट्युबका बतासे विश्लेषक हावी छन् । सरकार परिवर्तन, सहकारी ठगी, डोनाल्ड ट्रम्पको जीत, सन्दीप लामिछानेदेखि शिखर धवन र आशिका तामाङदेखि तोसिमा कार्कीसम्मको बारेमा एकै विद्वानले युट्युबमा धारावाहिक दिन्छन् । चिया पसलमा गएर फजुल गफ र्ने बानी त छैन, तर आक्कलझुक्कल पुग्दा त्यस्ता ठाउँमा पनि त्यही गफ गरेको सुनिन्छ– ‘सरकार कहिले ढल्छ ?’ मानिसलाई अरू कुराको जवाफ चाहिएको छैन, केवल एउटै प्रश्नको जवाफ चाहिएको छ– ‘सरकार कहिले ढल्छ ?’ मानौं, नेपालमा सरकार गठन/विघटनको राजनीतिक सिरिज चलिरहेको छ ।
    सरकार बनेको भर्खर ६ महिना पूरा भएको छ । तर, गठन भएको दिनदेखि नै मानिसहरूले सोधिरहेका छन्, ‘सरकार कहिले ढल्छ ?’ काममा व्यस्त हुनेलाई भन्दा चियापसलमा फाल्तु कुरा गरेर बस्ने बेरोजगारलाई धेरै चासो हुन्छ, सरकारको भविष्यबारे । मानौं कि, चलिरहेको सरकार ढलेर नयाँ बनेपछि देशका यावत समस्या समाधान हुनेछन् । ‘सरकार कहिले ढल्छ ?’ भन्ने नेपाली समाजमा महारोग बनेको छ । के वास्तवमा फेरि सत्ता समीकरण फेरबदलको गृहकार्य चलिरहेको हो ?
    ‘अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ र गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि, ढलिहाल्छ नि ! दिए सिध्दिने कुरा छ त्यहाँ,’ पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले भनेका थिए । तर, ओलीको भविष्यवाणी मिलेन । अपर्झट बनेको देउवा नेतृत्वको सरकारले आफ्नो कार्यकाल पूरा गर्यो । शान्तिपूर्णरूपमा आमनिर्वाचन सम्पन्न गराएर मात्र देउवाले राजीनामा दिए । त्यो बीचमा सरकार बाहिरका दलले सरकार ढाल्छौं भनेर कतिपटक भने त्यसको गिन्ती नै छैन ।
    सरकार अहिल्लै ढल्छ, केही हप्तामा ढल्छ, क्रिसमस अघि नै ढल्छ, अंग्रेजी नयाँ वर्षमा ढल्छ भनिँदै आएकोमा अहिले फेरि त्यस्तै भाष्य राजनीतिक बजारमा गुञ्जिइरहेको छ । सरकार ढल्ने अफबाह फैलिँदा कर्मचारीले काम नगर्ने भय हुने भएकाले प्रधानमन्त्रीले पटक–पटक स्पष्टीकरण दिनुपर्ने अवस्था आयो । ‘अहिले दिनै सरकार परिवर्तनको हल्ला सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दशैं भनेको हो ? ०८४ सालको दशैंपछिको चुनावमा ? ठीकै हो । सरकार ढल्ने विश्लेषण गरेकाहरू र ढल्छ भनेर प्रतीक्षा गरेकाहरूलाई खासै शुभ संकेत छैन । धेरैको आशंका थियो– ‘ओलीले चीनमा बीआरआई ऋण सम्झौता गर्छन् र त्यसको असरले सरकार ढल्छ ।’ ओलीको चीन भ्रमणका बेला बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भयो, तर ऋण लिने सम्झौता नभई कांग्रेसले तयार गरेको ड्राफ्टमा । ओलीले चीनमा गरेको सम्झौता कांग्रेस सभापति देउवाले गठबन्धनमा अनुमोदन मात्र गरेनन्, ऋण नलिने सम्झौता गरेको भन्दै ओलीलाई बधाई समेत दिए ।
    ओली सरकारप्रति देउवाको समर्थन एमालेकै नेताको भन्दा जब्बर छ । सरकारको सय दिनको कामलाई लिएर एमालेकै नेताभन्दा पहिला देउवाले भन्दिए– ‘सरकारको कामबाट कांग्रेस सन्तुष्ट छ, राम्रो काम भएको छ ।’
    असार १७ मा कांग्रेस–एमालेबीच गठबन्धन बन्दा यसलाई ‘अन्तिम विकल्प’को सरकार भनिएको थियो । संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने जोखिमपूर्ण अभ्यास थाल्नुअघि कांग्रेस र एमालेबीच धेरै चरणको छलफल भएको थियो । ‘अन्तिम विकल्प’ असफल भयो भने परिस्थिति सम्हालिनसक्नु हुन्छ भन्नेमा दुई दलका शीर्ष नेता र सूत्राधारहरूले विमर्श गरेका थिए । ‘३२ सिटे’ दलले संसदका पहिलो र दोस्रो दललाई हल्लाउने परिस्थिति, कहिले कांग्रेस र कहिले एमालेसँग मिलेर एकअर्काविरुद्ध खेलेको निष्कर्षसहित उनीहरू मिल्ने अवस्था सिर्जना भएको थियो । कांग्रेस–एमाले मिल्ने परिस्थिति घरेलु आवश्यकताले निम्त्याएको थियो, न कि प्रचण्डले दाबी गरेजस्तो समुद्रपारिबाट सरकार ढालिएको हो । जुन परिस्थिति र आवश्यकताले कांग्रेस–एमालेले सरकार बनाएका थिए, त्यसमा कुनै बदलाव आएको छैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट