आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

२०४७ सालको संविधान परित्याग गर्नुको दुष्परिणाम आज हामी भोगिरहेका छौँ


  • आक्रमण न्युज
  • २०८१ पौष ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४५१ पाठक संख्या
  • पौष ५, २०८१ / प्रभातराज पाण्डे

    नेपालको राष्ट्रिय एकता खल्बल्याउन चाहने विदेशी तत्वलाई सरकारले जुन दिन नियन्त्रण गर्छ, त्यसपछि मात्र राष्ट्रवाद प्रबल र प्राञ्जल बन्छ। राष्ट्रिय एकता, अखण्डता, स्वतन्त्रता र सामाजिक सद्भाव बिथोल्ने आइएनजिओ-एनअिजोलाई प्रतिबन्ध लगाउन नसक्ने लाचार छायाँ बन्दै आएका छन्, हालसम्मका गणतन्त्रवादी सरकार। तसर्थ विदेशी पैसामा बुर्कुसी मार्नेहरूको घेरामा बसेर सरकारले केही गर्न सक्ने अवस्था रहँदैन। नेपालको अस्तित्व मास्ने दुराशयबाट ल्याइएको गणतन्त्ररूपी एड्सका जीवाणु सजीव राख्न विदेशीहरूले हरेक महिना करोडौँ डलर दिइरहलान्। गणतन्त्र पनि केही वर्ष घिटिघिटी गरिरहला, तर जुन दिन नेपालको स्वतन्त्रता समाप्त हुन्छ, त्यसपछि हाम्रो भविष्य के होला!?
    नेपालमा राजतन्त्ररूपी बाघ आफैँले मारेको दाबी गर्नेहरू धेरै देखिएका छन्। वर्षा वर्षसम्म राजाबाट शपथग्रहण गरेर प्रधानमन्त्री भएका र ‘श्री ५ को सरकार’ अन्तर्गत विभिन्न ओहोदा धारणा गरेका हजारौँ अवसरवादीहरू आफू त जन्मिँदै गणतन्त्रको कन्दनी बाँधेर पैदा भएको गफ दिन्छन्। आफैँले गणतन्त्र ल्याउन ‘अप्रत्यक्ष’ मद्दत गरेको भन्दै किताब लेख्ने पनि छन्। लेख लेख्ने र रेडियो–टीभीमा आत्मश्लाघा प्रदर्शन गर्नेहरू त छिचिमिरासरह नै छन्। अहिले आएर बिस्तारै पर्दा खुल्दैछ, गणतन्त्रका स्वामी नेपाली होइन रहेछन्। ‘नाउँ तेरो गाउँ मेरो’ भनेझैँ संविधानका स्वामी पनि अरू नै रहेछन् । एमाले, कांग्रेस, माओवादी आदि त ‘देखिजान्ने–सुनिजान्ने किनाराका साक्षी’ मात्रै पो रहेछन्। यथार्थ पनि त्यही हो। ‘राजा ढाँट्नु र गाई काट्नू पाप हो’ भन्ने संस्कार त्यागेर पश्चिमाहरूको मार्गचित्रमा हिँड्दा कांग्रेस अनकन्टार भीरमा पुग्यो। अग्रगमन र ‘आगे बढो’ भन्दै क्रिश्चियन फौज भनिने ‘माओवादीको एजेन्डा’अनुसार नै अघि बढेमा दोबाटोमा झुन्ड्याइएको मादलझैँ जसले बजाए पनि कांग्रेस ‘घिन्ताङ–घिन्ताङ’ गर्ला। त्यसपछि ‘कोमिन्ताङ’ बन्छ। बिस्तारै बिलाउँछ अहंकारको बादलभित्र। आज दिल्लीको दिल अरू धड्किएको छ। ऊ भन्दा बलिया पात्रहरू काठमाडौँमा बसेर राजनीतिक दलहरूलाई ‘तोतामैना’ बनाइरहेका छन्।
    तसर्थ, आज आएर संविधानरूपी वृक्षमा विष फल्न थाल्यो भनेर रुनुभन्दा विषवृक्ष रोप्नै नदिएको भए के हुन्थ्यो? गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नेपाललाई कमजोर बनाउन चाहने भारतीय र इसाई राष्ट्रहरूको दीर्घकालीन योजना रहेछ भन्ने चाल पाएपछि बान्ता गर्न किन नसकेको? पहिलो घुट्कोमै विष हो भन्ने बुझेपछि सर्बत पिएझैँ तन्तनी पिइरहने हो र?
    तसर्थ, गणतन्त्रले नेपालको प्राणपखेरु उडाउने हो कि भन्ने शंका गर्नेहरू धेरै छन्। सिरियाका अर्बपतिदेखि दरिद्रसम्म लाखौँ जनता पोको बोकेर भागेझैँ गणतन्त्रले हामीलाई शरणार्थी बनाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। गणतन्त्र बचाउने हो कि राष्ट्र, यो बहस राजनीतिक क्षेत्रमा निरर्थक ठहरिएला तर बडामहाराजधिराज पृथ्वीनारायण शाहले राष्ट्रकै रक्षाका लागि स्थापना गरेको शक्तिले यसलाई कसरी बुझेको छ, त्यो समयले देखाउला।
    नेपाली राजनीतिमा पनि यस्ता पात्रहरूकै बाहुल्य छ। कुनै क्षेत्रमा पनि काम लाग्न नसक्नेहरू राजनीतिमा ‘सफल’ ठहरिँदैछन्। त्यसैले कूटनीतिमा पनि त्यसको दुष्प्रभाव देखिनु अस्वाभाविक होइन। नेपाललाई गणतन्त्रमय बनाउने भन्दै हिजो सिन्दुरजात्रा मनाउने पत्रकार, लेखक, अधिकारकर्मी, कर्मचारी, उद्योगी, व्यापारी, प्राध्यापक, मजदुर, शिक्षक, विद्यार्थीदेखि लिएर विभिन्न क्षेत्रका अधिक व्यक्ति राष्ट्र झन् कमजोर भयो भन्ने चिन्ता गर्न थालेका छन्। तर गाँडलाई नै विभूषण र अलंकार मानिरहेका छन्। राजा, राजनीतिक दल, जनता र सुरक्षा निकायले सहर्ष स्वीकार गरेको २०४७ सालको संविधान परित्याग गर्नुको दुष्परिणाम आज हामी भोगिरहेका छौँ। राष्ट्रवादको नारा व्यवहारमा देखिनुपर्छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑