
माघ ०८, २०८१
मकवानपुर। सूचनाको हकको महत्त्व र यसलाई प्रभावकारी बनाउँदै नागरिकलाई सशक्त बनाउनका लागि प्रदेश सूचना पुनरावेदन समिति अन्तर्गत एक विशेष प्रवर्द्धन कार्यक्रम हेटौंडाको प्रकाश होटलमा सम्पन्न भएको छ। कार्यक्रम प्रदेश सूचना पुनरावेदन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुनमन्त्री सुरज चन्द्र लामिछानेले सूचनाको हकलाई लोकतन्त्रको मूल आधारका रूपमा परिभाषित गर्दै, नागरिक अधिकारलाई सुनिश्चित गर्न राज्यले अझै सक्रिय र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य समितिका सदस्य कृष्ण सारु मगरले व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्दै, नागरिक र राज्यबीचको सूचना पहुँचलाई सहज बनाउन सूचनाको हकको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव मनुका घिमिरेले सूचनाको हकको महत्त्व, यसको कानुनी पृष्ठभूमि, तथा नागरिकलाई सूचनामा पहुँच कसरी उपलब्ध गराउने भन्ने विषयमा विस्तृत जानकारी दिनुभयो। उहाँले सूचनाको हक कार्यान्वयनमार्फत नागरिकलाई सशक्त र जिम्मेवार बनाउन सकिनेमा जोड दिनुभयो।
यस ऐतिहासिक कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारी, मानव अधिकार कर्मी, पत्रकार र अन्य सरोकारवालाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। यसले मकवानपुर लगायत प्रदेशभरि सूचनाको हकको प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमले प्रदेशस्तरमा सूचनाको हक प्रवर्द्धन र यसको कार्यान्वयनलाई थप सुदृढ बनाउने दिशामा नयाँ आयाम थपेको छ।

प्रतिक्रिया दिनुहोस