
चितवन । प्रजातन्त्र दिवस (फागुन ७) को अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा गरिएको शाही सम्बोधनप्रति ऐक्यबद्धता जनाउँदै चितवन र पूर्वी नवलपुरका विभिन्न अभियन्ता, नागरिक समाज तथा संघसंस्थाका प्रतिनिधिहरूले मोटरसाइकल र्याली निकालेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाऊ महाअभियानको अगुवाइमा आयोजना गरिएको र्याली शनिबार पारस बसपार्कबाट सुरु भएर हाकिम चोक, चौविसकोटी, लायन्स चोक, पुलचोक हुँदै पोखरा बसपार्क, आपटारी बसेनी, विशाल चोक, नहरचोक, मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर पुनः पारस बसपार्कमै टुंगिएको थियो।
र्यालीका संयोजक एवं महाअभियानका नारायणी अञ्चल प्रवक्ता मेघराज पौडेल रहेका थिए। बिहान ११ बजे सुरु गर्ने भनिए पनि र्याली १२ बजेपछि मात्र निस्किएको थियो।
र्यालीमा महाअभियानका विभिन्न पदाधिकारी, राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता तथा धर्म विभाग सदस्य झलकराज पौडेल, जिल्ला उपाध्यक्ष किरण थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष जीवनलाल पुरी, युवा अध्यक्ष पारस गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय युवा अध्यक्ष नगेन्द्र देउजा, चितवन जिल्ला अध्यक्ष शंकर अधिकारी, राष्ट्रिय सरोकार मञ्चका जिल्ला अध्यक्ष सन्तोष अधिकारी तथा त्रिमुल पार्टीका पदाधिकारीहरू सहभागी थिए।
र्यालीको अन्त्यमा सामाजिक अभियन्ता मोहन लामा रुम्बा तथा राप्रपा क्षेत्र नं. २ का अध्यक्ष बलराम खनालले मन्तव्य व्यक्त गरेका थिए। संयोजक मेघराज पौडेलले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
राष्ट्रिय शक्ति नेपालका केन्द्रीय अभियन्ता झलकराज पौडेलका अनुसार र्यालीमा करिब एक हजारभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस