
शंकर चिमरिया
काठमाडौँ । देश विकासको पहिलो आधार शिक्षा हाे । देशको शिक्षा कस्तो छ भन्ने कुराले नै त्यो देशकाे भविष्यकाे संकेत गर्ने गर्दछ। मुलुक राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेको पनि आज दशकौं भइसकेको छ तर गणतन्त्रको सुख र समृद्धि हासिल गर्ने मुख्य आधार शिक्षा सञ्चालन गर्ने नीति नियम भने हिजो राजा महाराजाहरुले बनाएको शिक्षा ऐन २०२८ नै हालसम्म पनि कार्यान्वयन रहेको छ। शिक्षा क्षेत्रका अथाह समस्याहरू समाधान गर्नका लागि नयाँ शिक्षा ऐनको आवश्यकता पर्ने सबैले महसुस गरेकै विषय हो तर पनि महत्वका साथ हेरिएको शिक्षा ऐनका विषयमा अझै सहमति नजुटेको र शिक्षा ऐन जारी हुन नसकेपछि आम शिक्षक कर्मचारी विद्यार्थी र अभिभावकहरुकाे समेत समर्थनमा देशैभरका शिक्षकहरू विभिन्न चरणका आन्दोलनहरू पार गर्दै विगत पाँच दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेका छन् ।
शिक्षा ऐन आवश्यक छ र ल्याउनुपर्छ भन्ने विषयमा प्राय सबै राजनीतिक दलहरूको बीच एकमत रहेता पनि शिक्षा ऐन भने आउन नसकेपछि शिक्षक एवं कर्मचारीहरु आफ्ना विद्यालयका सम्पूर्ण कामहरु ठप्प पारि काठमाडौँ केन्द्रित आन्दोलनमा सरिक भएका हुन।
नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार हामीले पटकपटक आन्दोलन गर्यौ तर सरकारले सुनेको नसुनै गर्यो सरकारसँग हाम्रा धेरै समझदारी भएका छन् । हामीसंग भएका समझदारि अनुसार शिक्षा ऐन जारी होस् । सम्पूर्ण शिक्षक साथीहरू शिक्षा ऐन हातमा बोकेर विद्यालय फर्कनुहुनेछ । शिक्षा ऐनका लागि अनिश्चितकालीन सडक आन्दोलन अन्तर्गत आज सिठी बजाएर जुलुस निकाली विरोधसभा सञ्चालन गरियो भने आन्दोलनलाई थप सशक्त बनाउनका लागि भोलि देखि शैक्षिक आम हडताल सहित कालो मास्क लगाएर विरोध गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस