काठमाडौँ। ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने नारालाई आत्मसात गर्दै आज यहाँ ‘मातृभाषा साहित्य शृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा मासिक रूपमा हरेक महिनाको अन्तिम आज आयोजना गरिने उक्त मातृभाषा साहित्य शृङ्खला (सिर्जना, संवाद र विमर्श)’ कार्यक्रममा मातृभाषी कविहरूबाट मातृभाषाका कविता वाचन गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य मातृभाषा विभागका प्रमुख राजन मुकारुङको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा शान्ति साछिरिङ (लोहोरुङ भाषा), सञ्जिता दुरा (दुरा भाषा) तथा विनिता ताजपुरिया (ताजपुरिया भाषा) ले कविता वाचन गर्नुभएको थियो । प्रमुख मुकारुङले मातृभाषा साहित्य मात्र भाषा संरक्षणको माध्यम नभई साङ्गीतिक, दार्शनिक र सांस्कृतिक पहिचानको आधार भएको र नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य मातृभाषा विभागद्वारा मासिक रूपमा आयोजना गरिने शृङ्खला ज्ञान, सृजनशीलता र विमर्शको एउटा सशक्त मञ्च भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मातृभाषामा सिर्जना हुनु केवल भाषागत अभ्यास नभई मौलिक अभिव्यक्तिको शक्तिशाली स्वरूप हो । यस कार्यक्रमको यो शृङ्खला ज्ञान, सृजनशीलता र विमर्शको एउटा सशक्त मञ्च हो ।” यसैगरी ‘दनुवार भाषाको साहित्य’ विषयक कार्यपत्र जीतेन्द्रसिं दनुवार तथा ‘लोहोरुङ भाषाको साहित्य’ विषयक कार्यपत्र एलेन ठूलेले प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा कौशिला रिसाल, हङ्सावती कुर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण गर्नुहुँदै प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक चेतनाथ धमलाले कार्यक्रमको उद्देश्य, सन्दर्भ र आगामी योजनाबारे जानकारी दिनुहुँदै मातृभाषाको बहुभाषिक स्वरलाई सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस