२०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित १0 महिना अघि
२४० पाठक संख्या
गण्डकी। हुलाक सेवा विभागको आयोजना तथा हुलाक निर्देशनालय, पोखराको समन्वयमा आज पोखरामा आयोजित द्रुत डाँक सेवासम्बन्धी अन्तरक्रियामा हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । हुलाक सेवा आफैँमा विशिष्ट महत्त्व बोकेको सेवा क्षेत्र भएको बताउँदै कार्यक्रमका वक्ताले यसलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमको हुनुपर्नेमा दिइएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले हुलाक सेवालाई युगअनुसारको वैज्ञानिक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । हुलाक सेवाको लामो इतिहास रहेको बताउँदै उहाँले प्रविधिको विकासँगै यसको समयसापेक्ष रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो । निजी कुरियरले कतिसम्म शुल्क लिनसक्ने हो त्यसको नियामक निकायबाट नियमन हुनुपर्ने उहाँको भनाइ छ । हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले यस सेवालाई प्रभावकारी बनाउँदै यसलाई आमनागरिकसँग नजिकमा जोड्ने गरी पहल भइरहेको बताउनुभयो । नागरिकसँग जोडिनकै लागि द्रुत डाँक सेवालाई प्रभावकारी बनाउने गरी विभाग लागिरहेको उहाँले जानकारी दिनुभयो । सेवा प्रवाहमा हामीहरू आफू नागरिक भएर सोच्नु आवश्यक हरेको उहाँले बताउनुभयो । विभागका निर्देशक लिलाराज पौडेलले नेपालमा १४७ वर्ष पहिलेदेखि हुलाक सेवाले काम थालेको बताउनुभयो । यसलाई प्रभावकारी बनाउन पहल भइरहे पनि अपेक्षित रूपमा आधुनिकीकरण एवं व्यावसायिक बनाउन नसकिएको उहाँको भनाइ छ । हुलाक सेवा विभागका अधिकृत शालिकराम बस्यालले समयको माग र ग्राहकको चाहना अनुसार चाँडो, छरितो, भरपर्दो तथा अत्याधुनिक रूपमा कागजात एवं मालसमान आदानप्रदान गर्न नेपाल सरकारको हुलाक सेवा विभागअन्तर्गत सञ्चालित व्यावसायिक सार्वजनिक सेवा द्रुत डाँक सेवा भएको जानकारी गराउनुभयो । यसमार्फत हुलाक सेवालाई विश्वसनीय र भरपर्दो सेवा प्रवाह गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । निजी सेवा प्रदायकको भन्दा विभागले प्रदान गरेको द्रुत डाँक सेवा लागतमा सस्तो र समयसीमाबद्ध रहेको उहाँको भनाइ छ । जिल्ला समन्वय अधिकारी नवराज बरालले हुलाक सेवाको प्रभावकारिताका लागि जिल्ला समन्वय समितिले समन्वयतात्मक भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सङ्घीय लोकसेवा आयोग पोखराका प्रमुख ज्ञानेन्द्र पराजुली, हुलाक निर्देशनालय पोखराका निर्देशक नारायणप्रसाद आचार्यलगायतले हुलाक सेवालाई नागरिकसँग जोड्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस