
चितवन। आरम्भ कलेजको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ अन्तरकलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै खेलभावना, अनुशासन र टीमवर्क प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११ मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा विभिन्न कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरू सहभागी हुनेछन्।
आयोजकले प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघ (Nepal Basketball Association – NeBA) का आधिकारिक नियमअनुसार सञ्चालन गरिने जानकारी दिएको छ। निष्पक्ष र व्यवस्थित खेल सुनिश्चित गर्न अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोली परिचालन गरिएको छ।

प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन पुरस्कार व्यवस्थासमेत गरिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद रु. १५,००० तथा दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु. १०,००० पुरस्कार प्रदान गरिनेछ। साथै, व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई Most Valuable Player (MVP) र Highest Scorer को विशेष सम्मान प्रदान गरिने आयोजकले जनाएको छ। सहभागी सबै टिम तथा विजेता टिमलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्टेशन कार्यक्रम सम्पन्न भइसकेको छ। कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा सदस्यहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै प्रतियोगिताका नियम, खेल तालिका, अनुशासन तथा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस