आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

अम्बर एभरेष्ट इङलिस स्कुल को ४५औँ वार्षिकोत्सव भव्य सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ फागुन १६, शनिबार मा प्रकाशित ७ महिना अघि
  • १०३ पाठक संख्या
  • चितवन । भरतपुर–१० स्थित अम्बर एभरेष्ट इङलिस स्कुलले आफ्नो ४५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार आयोजित विशेष कार्यक्रममा विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    विद्यालयका प्राचार्य हरिप्रसाद अधिकारीका अनुसार प्रत्येक वर्ष झैँ यस वर्ष पनि विद्यालयका पूर्व विद्यार्थीलाई प्रमुख अतिथि बनाउने परम्परालाई निरन्तरता दिँदै डा. सविन लम्साललाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो। डा. लम्सालले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयप्रति कृतज्ञता व्यक्त गरे।

    आफ्नो सम्बोधनका क्रममा उनले विद्यालयले आफूलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेकोमा आभार प्रकट गर्दै विद्यार्थीहरूलाई अध्ययनमा एकाग्र हुन प्रेरित गरे। “जीवनमा सफलता प्राप्त गर्न मिहिनेत र निरन्तर संघर्ष अपरिहार्य हुन्छ,” उनले भने, “लक्ष्य स्पष्ट राखेर अघि बढेमा सफलता अवश्य प्राप्त हुन्छ।”

    वार्षिकोत्सवको अवसरमा १५ वर्षभन्दा बढी समयदेखि अध्यापनरत शिक्षक–शिक्षिकालाई विशेष सम्मान गरिएको थियो। साथै कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न जातजाति तथा समुदायका सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

    कार्यक्रममा भरतपुर माध्यमिक विद्यालयका प्राचार्य दुर्गाराम पौडेल, टोल सुधार समिति स्याउलीबजारका अध्यक्ष बद्रिप्रसाद पौडेल, पूर्व शिक्षक तथा स्व. रन्जन आचार्य स्मृति सुशील पुरस्कारका संरक्षक भुवन आचार्य, स्याउलीबजार आमा समूहकी अध्यक्ष निर्मला पौडेल, अभिभावक प्रतिनिधि बालकृष्ण सापकोटा, तिर्था गुरुङलगायतको उपस्थिति रहेको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र कन्दङ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक मधुसुदन पौडेलले गरेका थिए।

    ४५ वर्षे यात्रामा शैक्षिक गुणस्तर, अनुशासन र संस्कारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑