आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

नयाँ–पुराना होइन, सही–गलतको आधारमा मूल्यांकन गर्नुपर्छ : प्रचण्ड


  • आक्रमण न्युज
  • २०८२ फागुन २१, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ८९ पाठक संख्या
  • टिकादत्त तिमिल्सिना
    चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले राजनीतिक बहसलाई नयाँ र पुराना भन्ने भाष्यमा सीमित गर्नु देश र लोकतन्त्रको हितमा नभएको बताएका छन्।

    चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले अहिले निर्माण गरिएको ‘नयाँ र पुराना’ को बहसले मुलुकको सही राजनीतिक दिशा तय गर्न नसक्ने बताए। उनले राजनीतिक मूल्यांकन सही र गलतको आधारमा हुनुपर्नेमा जोड दिए।

    उनले भने, “नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, त्यो देशको हितमा छैन। नयाँ र पुराना होइन, सही र गलत भन्ने आधारमा मूल्यांकन गर्नुपर्छ।”

    प्रचण्डले दलहरूको नीति, योजना र कार्यक्रमलाई आधार मानेर मात्र कसलाई नयाँ र कसलाई पुरानो भन्ने निर्णय गर्न सकिने स्पष्ट पारे। उनका अनुसार कुनै दल वा नेतृत्वलाई केवल नयाँ वा पुरानो भनेर वर्गीकृत गर्नु भन्दा पनि कसको योजना के छ, कार्यक्रम के छ र जनताको हितमा कसले काम गर्छ भन्ने कुरा हेर्नु महत्वपूर्ण हुन्छ।

    उनले राष्ट्र, जनता, लोकतन्त्र र समृद्धिको पक्षमा उभिने शक्तिलाई जनताले समर्थन गर्नुपर्ने बताए। साथै मतदातालाई विवेक प्रयोग गरी सही पक्षको छनोट गर्न पनि उनले आग्रह गरे।

    प्रचण्डले पुनः दोहोर्‍याउँदै भने, “नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन। सबैले आफ्नो विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनुपर्छ।”

    राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र विचारप्रधान बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि नीति, कार्यक्रम र जनहितका एजेन्डामाथि केन्द्रित बहस आवश्यक रहेको बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट