
कटारी । कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली पड्किँदा मतदान केन्द्रमा रहेको मतपेटिकामा क्षति पुगेको छ।
घटना कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा भएको हो। सुरक्षाकर्मीले बोकेको सर्टगन अचानक पड्किँदा मतपेटिकामा क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्किएको हो। घटनाका क्रममा मतपेटिकामा क्षति पुगेको भए पनि मतपत्र भने सुरक्षित रहेको बताइएको छ।
प्राप्त जानकारीअनुसार उक्त मतपेटिकामा त्यसबेला ४ वटा मत खसेका थिए। क्षति पुगेपछि ती मतपत्र सुरक्षित राखी अर्को मतपेटिका प्रयोग गरेर मतदान प्रक्रिया पुनः सुरु गरिएको छ।
यस घटनाबारे जानकारी दिँदै विनोद घिमिरेले सुरक्षाकर्मी लड्दा बोकेको हतियारबाट गोली पड्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए।
घटनापछि मतदान केन्द्रमा सुरक्षाकर्मीको निगरानी बढाइएको छ भने मतदान प्रक्रिया सामान्य रूपमा जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस