आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित भरतपुरमा दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु


  • आक्रमण न्युज
  • २०८२ चैत्र २६, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • ११ पाठक संख्या
  • भरतपुर । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यसहित भरतपुरमा दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । उद्यमशीलता विकासमार्फत नयाँ उद्यमी सिर्जना, औद्योगिक उत्पादकत्व वृद्धि, उद्योगमैत्री नीति निर्माणमा बहस, रोजगारी सिर्जना तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वदेशी उद्योग प्रवर्द्धन गर्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको हो ।

    प्रदर्शनीको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक समारोहबीच गर्नुभयो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य राख्दै प्रदर्शनीको उद्देश्य र महत्वबारे जानकारी दिनुभयो ।

    उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले यस्ता प्रदर्शनीले साना तथा ठूला उद्योगका उत्पादनको बजारीकरण, प्रवर्द्धन र स्थानीय उत्पादनलाई व्यापक पहुँच स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, प्रदेश सभा सदस्य उत्तम जोशी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीलगायत विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभयो ।

    प्रदर्शनीको दोस्रो दिन “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” विषयमा निजी क्षेत्रको कार्यपत्र प्रस्तुति सहित विज्ञ र सरोकारवालाहरूको सहभागितामा प्यानल छलफल आयोजना गरिनेछ ।

    निःशुल्क प्रवेश व्यवस्था गरिएको प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी–व्यवसायी तथा अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ११० भन्दा बढी स्टलहरू राखिएका छन् ।

    यस प्रदर्शनीमार्फत राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गर्ने, स्वदेशी वस्तुको प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्ने, प्रदेशहरूबीच व्यवसायिक सञ्जाल विस्तार गर्ने, ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने तथा नवप्रवर्तन र औद्योगिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । साथै, युवा वर्गलाई उद्यमशीलताप्रति आकर्षित गर्दै रोजगारी सिर्जना र स्थानीय स्रोतको अधिकतम उपयोगमार्फत समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

    प्रदर्शनीमा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व रहेको छ भने नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र मुख्य प्रवर्द्धकको रूपमा रहेको छ ।

    त्यसैगरी, विभिन्न निजी तथा सार्वजनिक संस्थाहरूले प्रदर्शनीलाई सहयोग गरेका छन् । कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष तथा प्रदर्शनी विभाग प्रमुख गजेन्द्र अधिकारीले समापन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट