आज: २०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

समाज: स्वार्थिहरुको भिड


  • आक्रमण न्युज
  • २०८३ बैशाख १३, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ६४ पाठक संख्या
  • समाज नैतिक संस्था हुनुपर्नेमा स्वार्थीहरूको भीड हुँदैछ । घृणा, द्वेष, स्वार्थ र परपीडाको दबदबा भएको हाम्रो समाज, ‘सभ्य समाज’को संज्ञा पाउन योग्य छैन । समाज भनेको सामूहिक स्वार्थ र कल्याणका लागि निर्माण हुने हो ।

    कर्तव्य र स्वार्थको द्वन्द्वमा जब व्यक्तिगत स्वार्थ सार्वजनिक स्वार्थमाथि हावी हुन थाल्छ, तब समाजको अग्रगमनमा विराम लाग्छ । त्यसैले हाम्रा नैतिक र धार्मिक शिक्षाले परोपकार र परसेवामा जोड दिएका हुन् । तर यसका लागि नैतिक समाजको निर्माण पूर्वशर्त हुने गर्छ । मानिसहरूको प्रेरकतत्व, नियत, चरित्र र गुणमा सुधार ल्याउन नसकेसम्म ‘नैतिक समाज’ बन्न सक्दैन । ठूला नैतिक आदर्शका कुरा गर्ने स्वघोषित सन्त, गुरु र पण्डितहरू नै घोर अनैतिक र स्वार्थी काम गरेर बदनाम हुँदैछन् । सार्वजनिक पदमा बस्नेहरू पदीय आडमा व्यक्तिगत स्वार्थ पूर्तिमा लागेको देखिन्छ । समाज र संस्थाको अभिभावक हुनेहरू लाभका मतियार भइरहेका छन् ।

    यस्तो मूल्यहीन समाजमा स्वार्थको हृन्द्व कसरी रोक्न सकिन्छ ? यतिखेर एउटा सत्य के हो भने प्रायः मानिसहरू मौका पाउनासाथ झेली खेल खेल्न थालिहाल्छ । त्यसैले स्वार्थको द्वन्द्व रोकेर सभ्य समाज निर्माण एक अभियान चलाउनुपर्ने देखिन्छ ! स्वार्थको द्वन्द्व वा स्वार्थ बाझिने काम तब हुन्छ जब कुनै व्यक्तिको व्यक्तिगत स्वार्थले कार्य र इन्साफमाथि सम्झौता गर्न थाल्छ । यस्तो अवस्था मा सार्वजनिक पद धारण गर्ने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता संकुचित हुन जान्छ । यस्तो किन हुन्छ भने सार्वजनिक जिम्मेवारी लिनेले व्यक्तिगत लाभ भन्दा सार्वजनिक स्वार्थमा काम गर्ने प्रतिबध्दता व्यक्त गरेको हुन्छ ।

    सपथ वा सम्झौताद्वारा उनीहरूले सार्वजनिक स्वार्थ र हितलाई सर्वोपरि मान्ने प्रतिज्ञा गरेका हुन्छन् । यो प्रतिज्ञाविपरीत निजी स्वार्थमा काम गर्नु घोर अत्याचार नै हो !कर्तव्यहरूबीच द्वन्द्वको स्थितिमा तीन नियमहरू कसैलाई हानी नपुर्याउने, आफ्नो बचनको पालना गर्ने र आफ्ना गुरु र बाबु–आमाको आज्ञा पालना गर्ने शिक्षा दिएका छन् । नियुक्त वा निर्वाचित हुँदा गरिएको सपथ र प्रतिबध्दताको उल्लङ्घन गर्नु भनेको आफ्नै वचन तोड्नु हो । त्यसैले सार्वजनिक पदाधिकारीहरूले निजी लाभका काम गरेमा उसको प्रतिष्ठामा ह्रास आउने मात्र होइन उसले त्यो पदमा रहने योग्यता नै गुमाउँछ । स्वार्थको द्वन्द्व सिर्जना हुन नदिन नैतिक नियम, सिध्दान्त, आदर्श र सद्गुणहरूले दिग्दर्शन गरिरहेको हुन्छ । दार्शनिकहरूका दर्शन, हाम्रा धार्मिक र अध्यात्मिक शिक्षा तथा समाजका नैतिकवान आदर्श व्यक्तिहरूबाट धेरै सिक्न सकिन्छ ।नैतिक साहस र सद्चरित्रको पराकाष्ठामा मात्र यस्तो व्यक्तित्व बन्न सकिन्छ ।

    मानिस दूषित उत्प्रेरणाबाट ग्रसित हुन्छ भन्ने मान्यता छ । ती हुन्, व्यक्तिगत स्वार्थ, लोभ र उपयोगिताको बढोत्तरी । हुन पनि ‘उपयोगितावाद’ ले खराबमाथि असल कामको बृहत्तर सन्तुलनको कुरा गरे पनि व्यक्ति आफ्नै उपयोगिता बढाउन लाग्ने गर्छ । व्यक्ति जहिले पनि आफ्नै लाभ बढाउन प्रयासरत हुन्छ !स्वार्थ बाझिने आठ अवस्थाहरू, घुस, प्रभावको बिक्री वा यसको गलत प्रयोग, सूचना बिक्री, आर्थिक कारोबार उपहार र मनोरञ्जन, बाह्य रोजगारी, भविष्यको रोजगारी, नातेदारहरूसँगको व्यवहार लाई उल्लेख गर्ने गरिन्छ ।

    यी आठवटा अवस्था विध्यमान छ भने त्यहाँ स्वार्थको द्वन्द्व छ भन्ने बुझ्नुपर्छ । स्वार्थ बाझिने काम गर्नु घोर अनैतिक कर्म मात्र होइन यो चरम विश्वासघात हो । तर, नेपालमा हरेक क्षेत्रमा यही भइरहेको छ । नीतिगत तहमा रहनेहरू त झन् गतिछाडा भएर स्वार्थको द्वन्द्वमा रमाइरहेका छन् । जस्तै प्राध्यापकहरू आफ्ना नजिककाहरूको पेपर मूल्याङ्कन गर्छन् । वकिलहरू आफूले प्रतिनिधित्व गरेको पक्षको हितविपरीत अर्को पक्षसँग मिल्छन् । सार्वजनिक पदाधिकारी आफन्तलाई वा आफ्नो स्वार्थ भएको कम्पनीलाई ठेक्का प्रदान गर्छन् । राजनीतिज्ञहरू दलका कार्यकर्तालाई भर्ना गर्छन् ।

    उच्च पदस्थहरू पदमा रहँदा सहजीकरण गरिदिएको आधारमा अवकाशपछि निजी कम्पनीहरूमा नियुक्ति लिन्छन् । वित्तीय विश्लेषकहरू गलत मूल्याङ्कन गरिदिएर आफ्नो स्वार्थ रहेको शेयर बढाउने आधार दिन्छन् । यहाँसम्म कि संवैधानिक निकायका पदाधिकारीहरू समेत स्वार्थको द्वन्द्वमा फसेको आरोप लाग्ने गरेको छ । मन्त्रीहरू आफन्तलाई नियुक्ति दिन्छन्, प्रदेशका विपक्षी दलका नेताहरू सरकारलाई ‘मेरिट’ मर्न नदिन सचेत गराउनुपर्नेमा आफ्नै पत्नी र बुहारीलाई भागबण्डामा नियुक्त गराउन सफल हुन्छन् । योग्यता परीक्षणमा दक्ष विज्ञ भएकाहरू आफ्नै श्रीमती र छोरीलाई पास गराउन खोज्दा कारबाहीमा पर्दछन् ।

    पण्डित, योगी र बाबाहरू धार्मिक तथा अध्यात्म शिक्षाको नाममा आर्थिक लाभ लिइरहेका छन् । समग्रमा जताजतै स्वार्थका लागि काम भइरहेको छ । समाज अब स्वार्थी र लोभीहरूको भीडमा परिणत हुँदैछ । स्वार्थको द्वन्द्ववाट सिर्जना हुने समस्या समाधान गर्न अनेक उपायहरू प्रयोगमा ल्याइएका छन् ! विषयगत जिम्मेवारी हाम्रो अन्तरमनबाट आउँछ र हामीलाई नैतिक उत्तरदायित्व निर्वाह गर्न प्रेरित गर्छ । काम गर्दा अचेतन आग्रह वा नचिताएको पूर्वाग्रह हुने देखिएमा भने विज्ञहरूको परामर्श लिन उपयुक्त हुन्छ भनिन्छ । सुविचारितरूपमा व्यक्तिगत लाभका लागि सार्वजनिक पदको दुरूपयोग गर्नु भने सिँधै भ्रष्टाचार हो !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट