आज: २०८३ अषाढ ७, आईतबार | Sun, 21, Jun, 2026

रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा : रवि–बालेनले उद्घाटन गर्ने, होटल भरिभराउ हुँदा स्थानीय अर्थतन्त्रमा उत्साह


  • आक्रमण न्युज
  • २०८३ अषाढ ७, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • १७ पाठक संख्या
  • टिकादत्त तिमिल्सिना
    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। पार्टीले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र रासोपका वरिष्ठ नेता बालेन्द्र शाह ले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

    शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र प्रभावकारी बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापनको काम सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ भने आवास, यातायात, सुरक्षा, स्वयंसेवक परिचालन तथा महाधिवेशनस्थल व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।


    रास्वपाले महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको थियो। राजनीतिक, आर्थिक, साङ्गठनिक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन्। शनिबार भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनमा पेश गरिने संशोधित विधानलाई समेत अनुमोदन गरेको छ।

    १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव
    महाधिवेशनको प्रमुख एजेन्डामध्ये पार्टी संरचना पुनर्गठन पनि रहेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव केन्द्रीय समितिले पारित गरेको छ। संशोधित विधानअनुसार प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाइनेछ भने महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिनेछ।

    विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार अब पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा दुई सहकोषाध्यक्ष रहने व्यवस्था प्रस्ताव गरिएको छ। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

    संशोधित विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले समावेशिताका आधारमा मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने प्रावधान पनि प्रस्ताव गरिएको छ।

    तीन हजार ९१८ प्रतिनिधिको सहभागिता
    महाधिवेशनमा देशभरबाट तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। तीमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। रास्वपाले हाल देशभर पाँच लाख सदस्य पुगेको दाबी गरेको छ।
    सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठन विस्तार र अधिवेशन सम्पन्न गरिएको छ। छ प्रदेशका ६४ जिल्लाबाट प्रतिनिधि छनोट भइसकेको छ भने मधेश प्रदेश तथा निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

    संगठन विस्तार र भावी रणनीतिमा केन्द्रित
    रास्वपा नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्माण तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ। महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव, समसामयिक राजनीतिक विषय तथा पार्टीको आगामी कार्यदिशाबारे व्यापक छलफल हुनेछ।
    प्रवक्ता झाले पार्टीले टोलस्तरसम्म संगठन विस्तार गर्ने लक्ष्य लिएको उल्लेख गर्दै रास्वपाले अन्य दलजस्तो भ्रातृ संगठन नबनाउने स्पष्ट गर्नुभयो। निर्वाचनमा प्राप्त जनमतलाई पार्टीको सबैभन्दा ठूलो राजनीतिक सम्पत्ति र ‘आम्दानी’का रूपमा लिइएको उहाँको भनाइ थियो।

    महाधिवेशनको प्रभाव : होटल भरिभराउ, व्यवसायी उत्साहित
    रास्वपाको प्रथम महाधिवेशनका कारण चितवनमा आर्थिक गतिविधि समेत उल्लेखनीय रूपमा बढेको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट हजारौं प्रतिनिधि, नेता, कार्यकर्ता तथा पर्यवेक्षकहरू चितवन आइपुगेका कारण भरतपुरसहित आसपासका क्षेत्रका अधिकांश होटल तथा लजहरू भरिभराउ भएका छन्। केही स्थानमा कोठा अभावको अवस्था समेत सिर्जना भएको व्यवसायीहरूले बताएका छन्।

    होटल तथा पर्यटन व्यवसायीहरूका अनुसार तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले होटल, यातायात, खाद्यान्न, खुद्रा व्यापार तथा सेवा क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। आर्थिक गतिविधि बढेसँगै स्थानीय व्यवसायीहरू उत्साहित देखिएका छन्।

    निर्माण सामग्री बोकेका सवारी टिकौलीमा रोकिए
    महाधिवेशनका लागि निर्माण गरिएका आकर्षक प्रवेशद्वार (गेट) का कारण केही ठूला मालवाहक सवारी साधनलाई समस्या समेत परेको थियो। नेपालका विभिन्न निर्माण परियोजनाका लागि भारतबाट ल्याइएका ठूला निर्माण सामग्री बोकेका ट्रकहरू गेटको उचाइका कारण भरतपुर–टिकौली क्षेत्रमा रोकिनुपरेको बताइएको छ। ती सवारी साधनहरू केही व्यवस्थापनपछि आज गन्तव्यतर्फ अघि बढ्न सफल भएका छन्।


    रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक रूपान्तरण, नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देशनका दृष्टिले ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको आगामी यात्रा र रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट