काठमाडौँ। मनोहरा जग्गा एकीकरण आयोजना सुरु भएको २३ वर्षसम्म पूरा नभएकामा सांसदहरुले चिन्ता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सुनिल केसीले मनोहरा जग्गा आयोजनाको काममा किन ढिलाइ भयो भन्ने प्रश्न गर्दै छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो ।
सांसद सुम्निमा उदासले धार्मिक सहिष्णुता कायम सबै पक्ष सचेत बन्नुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार चौधरीले कोहलपुर नगरपालिका क्षेत्रमा २०८३ वैशाख २६ गते सार्वजनिक जग्गामा बसोवास गरेका ७५१ घरपरिवारलाई सही व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुलभ खरेलले न्यायधीश नियुक्तिको प्रणालीलाई अझ विश्वासिलो बनाउन सुझाव दिनुभयो । सांसद सुशान्त वैदिकले दुग्ध विकास संस्थानको बक्यौता अर्थ मन्त्रालयले अनुदान दिएको विषय सत्यता नरहेको बताउनुभयो । सांसद सुशीलकुमार कानुले पर्साको ५०० बिगाहा जग्गा डुबानमा परेकाले समस्या समाधान गर्न माग गर्नुभयो ।
सांसद सुशील खड्काले स्वास्थ्य क्षेत्रमा नेपाल पढ्न आउने विद्यार्थीको सङ्ख्या बढाउन नीति निर्माण गर्न माग गर्नुभयो । सांसद सुशीला ढकाल आचार्यले मेची अस्पताललाई स्तरोन्नति गर्न माग गर्नुभयो । सांसद सुषमा स्वर्णकारले भेरी अस्पताललाई क्षेत्रीय अस्पताल र खजुरा क्यान्सर अस्पतालको स्तरोन्नति गर्न पनि माग गर्नुभयो । सांसद सूर्यबहादुर तामाङले उदयपुरका विभिन्न सडकमा समस्या भएकाले छिटो बनाएर समाधान गर्न माग गर्नुभयो ।
सांसद सृष्टि भट्टराईले पार्किङ शुल्कको समस्या समाधानका लागि काम गर्न यसअघि संसद्मा बोलेकामा अझै केही नभएको बताउनुभयो । सांसद सोम शर्माले प्रधानमन्त्री र रास्वपा पार्टी सभापतिबीच समन्वयको अभाव नरहेको उल्लेख गर्नुभयो । सांसद स्मृति सेन्चुरीले स्वास्थ्यकर्मीमाथि हुने घटनामा शून्य सहनशीलता हुनुपर्ने बताउनुभयो । सांसद हरिनादेवी कामीले खेतमा धान बाली झुल्नुपर्नेमा घाँस भएको उल्लेख गर्नुहुँदै किसानले जोतभोग गर्दै आएको दिनुपर्ने बताउनुभयो । सांसद हरिमोहन भण्डारीले बैतडीमा विद्युत्को समस्या समाधानका लागि सहयोग माग गर्नुभयो ।
सांसद क्षितिज थेवेले जग्गाको हदबन्दी ताप्लेजुङलगायत हिमाली जिल्लामा वास्तविकता अध्ययन गरी समस्या समाधान गर्न माग गर्नुभयो । सांसद ज्ञानु पौडेलले डायलायसिसको दर तत्काल पुनरावलोकन गर्न माग गर्नुभयो । सांसद ज्ञानेन्द्रसिंह महताराले सरकारी अस्पतालमा शय्या अभाव तत्काल समाधानका लागि स्पष्ट कार्ययोजना ल्याउन माग गर्नुभयो । सांसद लालविक्रम थापाले सुनसरी घटनाका पीडितलाई थप राहतको माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस