भोजपुर। भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुबिधा उपलब्ध भएको हो ।
घरघरमा धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसबाट दैनिक जनजीवन सहज हुनुका साथै सरसफाइ र पशुपालनमासमेत सहजना भएको स्थानीयवासीले बताएका छन् ।स्थानीयवासी टिकादेवी खड्काले घरमै खानेपानीको धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो “दैनिक रुपमा घरमै पानी आएपछि सरसफाइ, चौपायालाई खुवाउनसँगै दैनिक जीवन सहज बनेको छ ।”
स्थानीयवासी ज्ञाद्रमाया पाण्डेले विगतमा घरमा धारा नहुँदा खोलाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “घरमै धारा आएपछि पानी ल्याउन लाग्ने समय र श्रम बचत भएको छ । घरमा धारा जडान भएसँगै बालबच्चासँगै घरयासी काममा सहजता भएको छ। ” निर्माण उपभोक्ता समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१÷८२ बाट सुरु भएको आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरिएको हो । आयोजनाअन्तर्गत पानीको समस्यामा रहेका नागरिकको परिवारमा ‘एक घर, एक धारा’ जडान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
स्थानीय उपभोक्ताबाट रकम उठाएर रु तीन लाखमा मुहान खरीद गरेर बस्तिसम्म पानी ल्याउन सफल भएको अध्यक्षे बस्नेतले जानकारी दिनुभयो । भविष्यमासमेत योजनाको दीगो र सहज सञ्चालनको लागि उपभोक्ता समिति एकजुट बनेको उहाँको भनाइ छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोषकुमार ठाकुरले जनश्रमदान र कार्यालयको लगानीमा करिब रु. २५ लाखको लागतमा आयोजना सम्पन्न भएको जानकारी दिनुभयो ।
आयोजनाले स्थानीयवासीको खानेपानीसँगै सरसफाइ र पशुपालनमासमेत सहजता ल्याएको उहाँले बताउनुभयो । कार्यालयका इन्जिनियर दीपक यादवका अनुसार आयोजनाको मुख्य पाइपलाइन एक हजार मिटर र वितरण पाइपलाइन दुई हजार एक सय मिटर रहेको छ । आयोजनाले डाँडागाउँ टोलका १५ घरपरिवारलाई नियमित खानेपानीको सुविधा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस