मुस्ताङ। लोमान्थाङ गाउँपालिका केन्द्रविन्दु भएर यही भदौ २३ गते गएको भूकम्पबाट प्रभावित विद्यालय तथा स्थानीय घरधुरीलाई अस्थायी बसोबास व्यवस्थापनका लागि पाल वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र लोमान्थाङ गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकारले प्रभावित विद्यालय तथा गाउँपालिकाका पाँचै वडामा प्राथमिकताका आधारमा सय थान पाल वितरण गर्न लागेको हो । गण्डकी प्रदेश सरकार वन तथा वातावरणमन्त्री नम्डु गुरुङको उपस्थितिमा आज लोमान्थाङ–२ स्थित दिव्यदीप माध्यमिक विद्यालयलाई चार थान पाल उपलब्ध गराइयो ।
उक्त प्रत्येक पाल दशदेखि पन्ध्र जनासम्मले अस्थायी आवासको रुपमा प्रयोग गर्न सक्ने छन् । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र पाँचै वडाका वडाध्यक्षको रोहबरमा वितरण गर्ने गरी ९६ थान पाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । त्यसअवसरमा गाउँपालिकाका अध्यक्ष गुरुङले प्रभावित परिवारको आवश्यकता र प्राथमिकतामा राखेर बुधबारदेखि सबै वडामा वितरण गरिने बताउनुभयो ।
भूकम्पबाट उक्त पालिकामा रहेका एक सयभन्दा बढी कच्चीघरमा क्षति पुगेको छ भने दिव्यदीपसहितका विद्यालयका भौतिकपूर्वाधारका संरचना प्रयोग बस्न नमिल्ने भएको छ । भूकम्पबाट विद्यालयको संरचनामा क्षति भएपछि शिक्षक तथा विद्यार्थी कक्षा कोठा र पालमा बस्दैआएका छन् ।
प्रतिक्रिया दिनुहोस