गुल्मी। जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै हवाई उडान हुन सकेको छैन । उडान अवरुद्ध हुँदा जेठ महिनाको तेस्रो सातादेखि हालसम्म विमानस्थल सुनसान बनेको छ भने हवाई सेवा ठप्प छ । प्रतिकूल मौसमको कारण देखाउँदै पटक–पटक उडान रद्द भएपछि यात्रुलाई सडक मार्गबाहेक अर्काे भरपर्दाे विकल्प हुन सकेको पाइन्न । वर्षायाममा प्रायः बाक्लो कुहिरो लाग्ने भएकाले उडान नियमित गर्न समस्या परेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।
हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानी आवतजावत गर्ने यात्रु बढी समस्यामा परेका छन् । नेपाल वायुसेवा निगमले त्यस विमानस्थलबाट शनिबार, आइतबार र बिहीबार गरी सातामा तीन दिन उडान तालिका निर्धारण गरेको थियो । तर मौसम प्रतिकूल हुँदा निर्धारित तालिकाअनुसार उडान हुन नसक्दा यात्रुले पटक–पटक टिकट रद्द गर्नुपर्ने अवस्था छ । जसका कारण यात्रुको समय र आर्थिक भार दुवै बढाएको छ । उक्त विमानस्थलका स्टेशन प्रमुख थापाका अनुसार मौसम खराब भएका कारण उडान सेवा अवरुद्ध बनेको हो ।
उहाँका अनुसार मौसममा सुधार आउन थालेका कारण अब चाँडै नै हवाई सेवा नियमित हुनसक्ने बताउनुभयो । उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाडौ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको थियो । निगमले काठमाडाँैदेखि गुल्मीका लागि रु १० हजार सात सय १० र गुल्मीदेखि–काठमाडौँका लागि रु १० हजार पाँच सय १० हवाई भाडा निर्धारण गरेको छ । हवाई सेवा सञ्चालन भएको तीन वर्षको अवधिमा जिल्लामा दुईतर्फी गरी ३७८ वटा उडान भएको थियो ।
पछिल्लो समय इन्धनको मूल्य वृद्धि भएपछि यात्रुको सङ्ख्यासमेत घट्दै गएको उहाँको भनाइ छ । हवाई सेवा नियमित हुन नसक्दा जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत ठूलो असर पुग्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेयले बताउनुभयो । सडकमार्गबाट गुल्मीदेखि काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने भए पनि हवाई मार्गबाट करिब ४५ देखि ५० मिनेटमै राजधानी पुग्न सकिने छ । त्यस्तै हवाई सेवा नियमित भएमा बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिकलाई ठूलो राहत पुग्ने अध्यक्ष पाण्डेयले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस