
काठमाडौं। होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले जोखिमपूर्ण क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि आफ्ना सदस्य होटलहरूलाई अस्थायी आश्रयस्थलका रूपमा उपलब्ध गराउने तयारी गरेको जनाएको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थाले आफ्ना गतिविधिलाई विस्तार गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो महत्वपूर्ण पहल अघि बढाएको हो। काठमाडौंको थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न संघ पूर्ण रूपमा तयार रहेको बताइएको छ।
संघका अनुसार बागमती प्रदेश अन्तर्गत काठमाडौं जिल्लाभित्र रहेका सदस्य होटलहरूसँग आवश्यक समन्वय गरी समस्या परेका नागरिकहरूलाई अस्थायी बसोबासको व्यवस्था मिलाइनेछ। उद्धार गरिएका नागरिकहरूको सुरक्षा तथा आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने स्पष्ट प्रतिबद्धता संघले व्यक्त गरेको छ।
यस कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य र समन्वय गरी व्यवस्थापनमा सहयोग गर्न संघ तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ।
संघका अध्यक्ष दामोदर नेपालले मानवीय संकटको समयमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै यस पहलले नागरिकको राहत र सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस