
कोहलपुर l वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै कोहलपुर नगरपालिकाले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गरेको छ।



परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको एक अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले कोहलपुर नगरपालिका–७, लक्ष्मणपुरस्थित मितेरी सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमअन्तर्गत १,००० बिरुवा रोपिएको थियो।
वृक्षारोपणमार्फत वातावरण संरक्षण, वन क्षेत्रको हरियाली वृद्धि तथा प्राकृतिक स्रोतको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। वन विनाशबाट प्रभावित क्षेत्रमा हरियाली विस्तार गर्दै भावी पुस्ताका लागि स्वच्छ र हरित वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको छ।
कार्यक्रममा स्वयंसेवकहरूले सामूहिक रूपमा बिरुवा रोप्दै वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
ASEZ WAO ले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै ‘मदर्स फरेस्ट (Mother’s Forest)’ लगायत विभिन्न वातावरणीय अभियान सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिले स्थानीय समुदायमा वातावरणप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
वृक्षारोपण कार्यक्रममार्फत पुर्याइएको योगदानको कदर गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुखले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गर्नुभएको हो। उक्त सम्मानले वातावरण संरक्षण तथा सामुदायिक सेवाका क्षेत्रमा स्वयंसेवकहरूलाई थप सक्रिय हुन प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
ASEZ WAO ले आगामी दिनमा पनि स्थानीय निकाय तथा समुदायसँग सहकार्य गर्दै वातावरण संरक्षण, सरसफाइ र सामाजिक सेवाका विभिन्न गतिविधिलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस