आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

झमेलै झमेलामा अल्झिएको रास्वपा


  • आक्रमण न्युज
  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित १२ महिना अघि
  • २५४ पाठक संख्या
  • केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोहरालाई सह-महामन्त्री बनाउन महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्ताव राखेका थिए । तर, सुमना श्रेष्ठले राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा पदपूर्तिको विषय विवादित पुग्यो । बुर्लाकोटीले बोहोराका नाम प्रस्ताव गरेलगत्तै केन्द्रीय सदस्यत्रय तोसिमा कार्की, हरि ढकाल र क्रान्ति शिखा धितालले विरोध जनाएका थिए । एजेन्डा नै नभएको विषय ल्याइएपछि शुरूमै केन्द्रीय सदस्य धितालले विरोध गरेकी थिइन् ।
    ‘हामी महाधिवेशनको निकट छौं । अर्कोतिर हामीले परम्परागत दलभन्दा फरक देखिने गरी आफूलाई वैकल्पिक शक्तिको रूपमा उतारिरहेका छौं,’ धितालले भनेकी थिइन्, ‘पद रिक्त हुँदा विधि, पद्धति र प्रक्रियाबाट जानुपर्छ । विधिलाई छोड्दा हामीमाथि झन् ठूलो प्रश्न उठ्छ ।’ धितालले कुरा गर्दै आफूहरूले विधि र पद्धतिको कुरा उठाएको बताइन् ।
    ‘मैले व्यक्ति बोहराको विषय उठाएको होइन, उहाँ आफैं पनि पदको लागि इच्छा गर्ने व्यक्ति होजस्तो लाग्दैन । उहाँले निर्बाध पार्टीलाई सहयोग गर्दै आउनुभएको छ । यसैले एउटा विधि र प्रक्रिया भएन भन्ने कुरा उठाएको हुँ,’ धितालले भनिन्, ‘अर्कोतिर, यो विषय एजेन्डामा थिएन । सह-महामन्त्रीका लागि को जाने भनेपछि बल्ल व्यक्तिको विषयमा जानुपर्ने, तर व्यक्तिको विषयमा छनोटको विकल्प भएन । त्यसैले विरोधको स्थिति बन्यो ।’ महाधिवेशनको मुखमा एकजना सह-महामन्त्रीले पार्टी चलाउन सक्ने उनको भनाइ छ ।
    ‘मेरो खास कुरा त विपिन आचार्य सह-महामन्त्री हुनुहुन्छ । एकजना भए काम गर्न सकिन्छ । महाधिवेशनबाट नेतृत्व आइहाल्छ भन्ने हो,’ धितालले भनिन्, ‘होइन, पार्टीलाई आवश्यकता छ भने विधान संशोधन गर्नका लागि कुनै पद थप्ने विषय मात्रै एजेन्डा बनाउने, अरूलाई अलपत्र छाड्ने कुरा उचित हुँदैन । यसमा हरि ढकाल र तोसिमा कार्की पनि प्रस्ट रूपमा उभिनुभएको छ ।’
    सांसद समेत रहेका ढकालले वैकल्पिक राजनीतिको विषय उठाउने रास्वपालाई तदर्थवादमा चल्ने छुट नभएको बताएका थिए । ‘हामी विधि–विधि भनेर स्थापित भएको पार्टी हौं । यसैले हरेक नियुक्ति तथा गतिविधिमा विधि र प्रक्रियालाई छल्न हुँदैन भन्ने नै हो,’ ढकालले बैठकमा भनेका थिए, ‘यसैले वैकल्पिक शक्ति परम्परागत शक्तिभन्दा अलग देखिनुपर्छ । हामी हाम्रै लयमा अगाडि बढ्नुपर्छ । पारदर्शी बन्नुपर्छ । अरूलाई पनि अवसर दिनुपर्छ ।’ रास्वपाको कोषाध्यक्ष लीमा अधिकारी छिन् । सह–कोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहोरा थिए । तर, औपचारिक रूपमा सह–कोषाध्यक्षबाट नहटाई बोहरालाई सह-महामन्त्री बनाउन खोजिएको रास्वपा स्रोत बताउँछ ।
    एकजना मात्रै कायम राख्ने भन्दै वसुमाया तामाङलाई मात्रै सह-कोषाध्यक्ष बनाइएको दाबी रास्वपाको छ । तर, पार्टीभित्र विवाद भएपछि मात्रै वेबसाइटबाट बोहराको नाम हटाएर अहिले सचिवालय सदस्य मात्रै बनाइएको छ । रास्वपाका प्रवक्ता मनिष झाले बोहरालाई हटाइएको जानकारी निर्वाचन आयोगमा अद्यावधिक गरिसकिएको जानकारी दिए ।
    बोहरा सभापति लामिछानेका विश्वासपात्र नेता हुन् । त्यसैले रविको समेत जोडबलमा बोहरालाई सह-महामन्त्री बनाउन प्रस्ताव ल्याइएको थियो । तर, विरोध भयो । यतिमात्रै होइन, सचिवालयले सह-महामन्त्रीको एजेन्डामा छलफल गरेको थिएन । केन्द्रीय समितिको एजेन्डामा पनि परेको थिएन । यसअघि सुमना श्रेष्ठले राजीनामा दिएको पदमा महिला नै हुनुपर्ने कतिपयको माग छ । भोलिपल्ट फेसबूकमा लामो स्टाटस लेख्दै तोसिमा कार्कीले एजेन्डामा नै नभएको विषय ल्याइएपछि विरोध गर्नुपरेको प्रस्ट्याएकी छिन् ।
    ‘केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ, व्यक्तिको विरोध गरेको होइन । साथै, रिक्त सह-महामन्त्रीमा मेरो दाबी होइन । हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौं,’ कार्कीले भनेकी छिन्, ‘पार्टीले रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत रूपले इच्छुक–योग्य महिलाहरूबाट नियुक्त गर्नुपर्छ भन्ने मेरो मत हो ।’ केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी नभएको उनको भनाइ छ । पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन आवश्यक भएको उनले बताएकी छन् ।
    पार्टीमा अप्रत्याशित रूपमा ल्याइएको एजेन्डाको विरोध भएपछि विवादलाई सचिवालयमै पठाइएको छ । रास्वपाका प्रवक्ता मनिष झा सचिवालयले अगाडि बढाएको प्रस्तावलाई केन्द्रीय समितिले फिर्ता गर्नुलाई सकारात्मक कोणबाट हेर्नुपर्ने बताउँछन् । ‘रवि लामिछानेका अनन्य पात्रको विषयमा आएको सिफारिस पनि केन्द्रीय समितिले फर्काउँदो रहेछ भन्ने देखायो । सचिवालयले गरेको सिफारिस केन्द्रीय समितिले मान्दैन, मानेन,’ झाले भने, ‘नियुक्ति यसरी हुँदैन । मापदण्ड हुनुपर्छ, यसैले विधि बनाएर नियुक्त गर्नुस् । केन्द्रीय समितिको एजेन्डामा राख्नुस् भनेको त सकारात्मक कुरा हो । सकारात्मक रूपमा हेर्ने हो भने रवि लामिछाने वा उहाँको सचिवालयले जे चाहन्छ, त्यही हुन्छ भनेर हुँदैन भन्ने सन्देश हामीले केन्द्रीय समिति बैठकबाट दिएका छौं ।’
    बैठकमा कार्की, धिताल र ढकालले उठाएको कुराले पार्टी जीवन्त बन्ने झा बताउँछन् । ‘यो एजेन्डा केन्द्रीय समितिबाट सचिवालयमा फर्किएको छ । सचिवालयले मापदण्ड बनाएर मात्रै प्रक्रिया अगाडि बढाउँछ । तोसिमा र क्रान्तिशिखाले उठाएको विषयले पार्टीलाई जीवन्त बनाउँछ, निखार्छ । मन्थन भएपछि हामी थप डेमोक्रेटिक छौं भन्ने सन्देश प्रवाह गर्छ,’ झाले भने, ‘कतिपयको महाधिवेशनको मुखमा पदाधिकारी चयन नगरौं, निर्वाचित नै गरौं भन्ने प्रस्ताव पनि आएको छ । छानेर होइन, मापदण्ड बनाऊँ भन्ने मत अरूको पनि छ । कार्यविधि र मापदण्ड बनाउनुपर्छ । अरूको पनि इच्छा हुन सक्छ । निष्पक्ष र पारदर्शी बनाऊँ भन्ने राम्रो कुरा हो ।’
    आफूहरूले प्रस्ट आवाज उठाएपछि पार्टीले यो विषयलाई सच्याउने गरी सचिवालयमै फिर्ता गरेको भन्दै कार्कीले खुशी व्यक्त गरेकी छिन् । ‘केन्द्रीय समितिमा एजेन्डा अनुरूप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट